कास्कीकाे रुपा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

कास्की । यहाँको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो । सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो । सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेको थियो । उनले भने,“लकडाउनका बेला रेडक्रसको एम्बुलेन्स भाडामा लिएर हामीले जनतालाई निःशुल्क सेवा दिएका थियौँ, अब आफ्नै एम्बुलेन्स भएपछि जिल्ला दररेटमा ५० प्रतिशत सहुलियतमा सेवा दिन्छौँ । कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीामा घण्टौ समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।” गाउँपालिकाले एक जना विशेषज्ञ चिकित्सक सहित पाँच शय्याको अस्पताल सञ्चानमा ल्याएको छ । चालू आर्थिक वर्षमा सो अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रुपाका सात वटै वडामा प्रयोगशाला सहितको स्वास्थ्यचौकीबाट जनतालाई सेवा प्रवाह गरिने लक्ष्य राखिएको छ । हाल वडा नं २ र ३ मा स्वास्थ्यचौकी नभएकाले भवन निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ । सांसद अधिकारीले गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि संघीय सरकारले सहयोग गर्ने जानकारी दिए । रासस

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुन: सञ्चालन

दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “कोरोना सङ्क्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने, “उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ ।” कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यसैबीच दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेललाई कोरोना पुष्टि भएको छ । शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना पुष्टि भएको हो । घाँटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना पुष्टि भएको उनले बताए । “एकदिन ज्वरो पनि आएको थियो, घाँटीमा पनि समस्या देखिएको थियो,” उनले भने, “अहिले पनि घाँटीमा अलिकति समस्या छ ।”उनीसँगै अस्पतालका कार्यालय सहयोगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच जनाको स्वाब पठाइएकामा तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अस्पतालको सेवा भने सञ्चालनमै रहने भएको छ । अन्यको स्वाब पठाएर रिपोर्ट कस्तो आउँछ त्यसपछि थप निर्णय गरिने अस्पतालले जनाएको छ । रासस

विभागद्वारा फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडाैं । औषधी व्यवस्था विभागले फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ । विभागले आइतबार सुचना जारी गर्दै अर्काे सुचना जारी नभएसम्म फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे हाे । विभागले अर्काे सुचना जारी नभएसम्मकाे लागि नयाँ फार्मेसी दर्ता, ठाउँसारी, धनीपरिवर्तन, व्यवसायी परिवर्तन र पुँजी थपघट लगायतका सामान्य सेवाहरु बन्द गर्ने निर्णय गरेकाे हाे ।