अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना देखियाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण देखिएकाे छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो।

अब पीसीआर परीक्षण निःशुल्क हुने

काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । पीसीआर परीक्षणमा लिने शुल्क बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको हाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्‍कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।

बिहिबार नेपालभर १९ सय बढी संक्रमित थपिए, मृत्‍यु हुनेकाे संख्या ५०९ पुग्याे

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १९ सय ११ र उपत्यकामा मात्र ९४३ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २१ हजार ८ सय ३० पुगेकाे छ । हाल क्वारेन्टिनमा ५ हजार ७७ जना रहेका छन् भने आजसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६१ जना निकाे भएसँगैं हालसम्म ५७ हजार ३ सय ८९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५०९ पुगेकाे छ ।