सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

काठमाडाैं । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ । पछिल्लो १० दिनमा चार जनाको यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा राजन शाह नेतृत्वको टोलीले चारै जनाको यो विधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए । ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको डा शाहको भनाइ छ । “यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो”, उनले भने, “अत्याधुनिक शल्यक्रियाको विधाको यो शल्यक्रिया बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ ।” पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबीन पद्धतीबाट गर्न थालिएको छ । त्यसमध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबीन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेको उनको भनाइ छ । उनका अनुसार विशेषगरी पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अपरेशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ । भारतलगायत विकसित मुलुकमा यस्तो शल्यक्रिया सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको बताइएको छ । दूरबीन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको डा. शाहको भनाइ छ । अहिले पाठेघरको शल्यक्रियाका लागि दूरबीन पद्धती बिरामीका लागि अधिक सुविधा र सहज भएको छ । नेपालमा यो पद्धतीको बिस्तार नहुँदासम्म पाठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर अहिले यो पद्धतीबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ । डा. शाहका अनुसार यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ । नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ । “यो पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नु पर्देन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ”, उनले भने, “ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ ।” पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो । अहिले दूरबीनको प्रयोग अर्थात डाइग्नोष्टिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । यो विधिबाट शल्यक्रिया गरिएको चारमध्ये तीन जना डिस्चार्ज भइसकेको र एक जना उपचाररत रहेको डा शाहले जानकारी दिए । रासस

नेपालभर १३५६ जना काेराेना संक्रमित थपिए, २ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५६  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७ सय ७१ जना रहेका छन् भने आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८२३ जना निकाे भएसँगैं हालसम्म ४८ हजार ६१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४२९ पुगेकाे छ ।

डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे । उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे सार्वजनिका भएकाे छ । उनलाई अहिले अस्पतालकाे आकस्मिक कक्षमा राखिएकाे अस्पतालले जानकारी दिएकाे छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी केही दिन यता अनसनमा बसिरहेका छन् ।