गुर्जाेको रस कोरोना विरुद्ध अचूक
दमाैली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताए । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने गरेको उनले जानकारी दिए । “रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जा सेवन गर्न थालेको छौ,” उनले भने । गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिए । कोरोना सङ्क्रमणमुक्त हुनुभएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले होम आइसोलेशनमा बस्दा नियमित रुपमा गुर्जोको रस पिएको जानकारी दिए । “सङ्क्रमण पुष्टि भएर होम आइसोलेशन बस्दा नियमित रुपमा गुर्जोको रस, बेसार पानी, कागती पानीको सेवन र शारीरीक व्यायम गरेँ,” उनले भने, “अहिले निको भएपछि पनि गुर्जो नियमित सेवन गर्ने गरेको छु ।” कोरोनाको सङ्क्रमणपछि गुर्जोप्रति आकर्षण बढेको जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने जानकारी दिए । “कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो । ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ,” उनले भने, “गुर्जोको सेवनले कोरोना भाइरस मात्रै होइन, अरुभाइरसबाट पनि बचाउँछ ।” उनका अनुसार ताजा गुर्जोलाई एक औला बराबर काटेर त्यसको पाँच मिलिटिर रस निकालेर बिहान बेलुका पिउनु उत्तम हुन्छ । रस बढी तितो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने र भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुने उनकाे सुझाव छ । उनका अनुसार गुर्जोको सेवनले नकरात्मक असर गर्दैन । गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर अन्य रोगका बिरामीले पनि सेवन गर्न सक्ने उनले जानकारी दिए । “कोरोना निको पार्ने औषधि बनेको छैन, कोरोना निको पार्ने भ्याक्सिन बनाउन विकसित मुलकको प्रतिष्पर्धा चलिरहेपनि अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भइहालेमा रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुको विकल्प छैन,” उनले भने, “त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पती गुर्जोको सेवनकर्ता बढ्न थालेका छन् ।” जिल्लामा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाइ सङ्क्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरिएको छ । उनका अनुसार गुर्जो शताब्दीदेखि नै औषधिका रुपमा प्रयोग भएतापनि पछिल्लो समयमा त्यति प्रयोग हुन्थेन । औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो । रासस
भरतपुरकाे प्राकृतिक चिकित्सालयबाट ५० जना कोरोना मुक्त
चितवन । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् । गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ । बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन् । यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् । पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन् । लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ । रासस
मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम
बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ । आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । रासस