डा. केसीको माग वार्ताबाट समाधान गर्न आग्रह
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गरेकाे विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ । साथै डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक सङ्घलगायत विभिन्न सङ्घ संस्थाले आयोगमा ज्ञापनपत्र पेश गरेकोप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको र पटक–पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वाग्मतीले अनशनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको छ । स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले अनशनको नवौँ दिन डा केसीलाई नेपालगञ्ज हुँदै काठामाडौँ ल्याई वीर अस्पतालस्थित ट्रमा सेन्टरमा लगिए पनि उनलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रासस
अस्पतालमा जस्तै घरमा पनि सुरक्षित भएपछि होम आइसोलेसनमा बस्ने बढे
रत्ननगर । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् । कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो । “लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे”, उनले भने, “घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।” यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ । लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ । लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउँछन् । होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच/पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् । त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । रासस
स्याङ्जामा सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ । अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस