नेपालभर आज ९८० काेराेना संक्रमित थपिए, ९ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने आजसम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १८१४ जना निकाे भएसँगैं हालसम्म २८ हजार ९ सय ४१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या २८९ पुगेकाे छ ।
बुटवलमा डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण
काठमाडाैं । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी वसोवास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका मिर्गौलाको डायलिसिसका बिरामीलाई कोभिड—१९ को सबै परीक्षण निःशुल्क गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब सङ्कलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाका बिरामीलाई उनीहरु बसेको स्थानमै समेत पुगेर परीक्षण गर्ने गरी काम शुरु भएको प्रमुख सुवेदीले बताए । उनले अस्पतालहरुमा डायलिसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए । बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिस गर्ने बिरामीको सङ्ख्या करीब ६०० रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलिसिसअघि डेढ महिनामा दुईपटक पिसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । पिसीआर परीक्षणपछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ । बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घरोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपाङ्गता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्य प्राविधिकसहित सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन् । विभिन्न ठाउँमा सङ्क्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख सङ्क्रमितको घरघरमै पुगेर हौसला बढाउने कामको थालनी भएको हो । कोभिड सङ्क्रमण भएर आइसोसलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने क्रममा डायलिसिसका बिरामीका बारेमा सूचना पाउने बित्तिकै उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । बुटवलमा आइसोलेसन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसिीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेशन सेन्टरहरुमा नियमित योगा अभ्यास, ध्यान प्राणायाम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन् । डायलिसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पतालमा आउने बिरामी छन् । त्यहाँमात्रै करीब ३०० जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । अध्यक्ष आलमका अनुसार यो सङ्ख्या अहिले मुलुकका कुनै पनि डायलिसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचारलाई चौबिसै घण्टा सञ्चालनमा राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत सङ्क्रमण देखिएको छ । अस्पतालले सबै व्यवस्थापन गर्ने, निसङ्क्रामक बनाउने काम गरिसकेको छ । अहिले बुटवल उपमहानगरले निःशुल्क पिसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलिसिस गराउँदै आएका बिरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनसङ्ख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताए । रासस
काेराेनाभाइरसकाे कारण स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै कर्णाली
कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या आइसियू र २६ वटा भेन्टिलेटर थपिएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा हाल २० शय्या आइसियू र सात वटा भेन्टिलेटर जडान गरिएको छ । योसँगै अस्पतालमा आइसियूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पु¥याइएको छ । सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ । यसअघि आइसियू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आइसियू शय्या १० र भेन्टिलेटर छ पुु¥याइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आइसियू र भेन्टिलेटर सेवा थिएन । सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो । हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटर जडान गरिएको छ । डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ । त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ । सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताए । “स्थापनाको वर्षौंसम्म आइसियू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महिनामै ती सेवा सञ्चालन गरेका छन्,” उनले भने, “गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो ।” मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । आइसियू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरु गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा २५ शय्या आइसियू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आइसियू र छ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर, हुम्लामा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर थप गरिएको छ । त्यस्तै कालीकोटमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, दैलेखमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई शय्या आइसियू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई शय्या आइसियू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार शय्या आइसियू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३०४ बर्थिङ सेन्टर सञ्चालित छन् । यसैबीच, कर्णालीका सबै जिल्लामा सहज अक्सिजन पु¥याउने उद्देश्यले सुर्खेतमा ठूलो क्षमताको अक्सिज प्लान्ट शुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट शुरु गर्न थालिएको बताए । यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो । अक्सिजन प्लान्ट शुरु गर्न ठूलो क्षमताको मेसिन ल्याइएको छ । कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेका छैनन् । झण्डै रु. तीन करोडको लगानीमा अक्सिजन प्लान्ट शुरु हुन थालेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ । रासस