सरकारबाट उपेक्षित बन्दै आएको भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा शुरु

भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट स्थापना गरेको अस्पताल हो ‘भक्तपुर अस्पताल ।’ यसरी नेपालको जेठो वीर अस्पताल पछिको दोश्रो अस्पताल हो यो । देशकै दोश्रो जेठो अस्पताल भएपनि हरेक सरकारबाट उपेक्षित बन्दै आएको भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल सघन उपचार (आइसियू) सेवा शुरु हुने भएको छ । चन्द्र शमसेरले यो जिल्लाका साथै काभ्रेको बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना गराएको यो अस्पताल २०२८ सालमा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार गरेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल बताउँछन् । विसं २०३० मा बनेको भवनमा हाल सञ्चालन भइरहेको अस्पतालमा २०५८ जेठमा अमेरिकी सैनिक सहयोगमा आकस्मिक कक्षको निर्माण भयो भने विसं २०६१ भदौमा २५ शय्याको प्रसूति गृह थपगरी ७५ शय्यामा विस्तार निर्माण गरेको उनले जानकारी दिए । भक्तपुर अस्पतालको जग्गाभित्र अहिले तीन वटा अस्पताल सञ्चालनमा छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छन् । ‘चन्द्रलोक डिस्पेन्सरी’ को ऐतिहासिक भवनबाटै शुरु भएको भक्तपुृर क्यान्सर अस्पताल अहिले पनि क्यान्सरले भोगचलन गर्दै आएको छ । सरकारले भक्तपुर अस्पतालको लागि १०० शय्यामा बिस्तार गर्ने भन्दै बनाएको नयाँ अन्तरङ्ग भवनमा राष्ट्रिय प्रत्यारोपण केन्द सञ्चालनमा छ । अहिले यहाँका तीन वटै अस्पताललाई भवन निकै अभाव छ । अस्पतालकै जग्गामा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको भवन छ भने अस्पताल परिसरभित्रको जग्गामा भक्तपुर नगरपालिकाले आफ्नो जग्गा भन्दै निजी रुपमा पर्यटकीय शौचालय बनाएको छ । अलिकति खाली भएको जग्गामा अहिले कोभिड-१९ का विरामी र आईसियू वार्ड निर्माण गरेको छ । यसअघि राजनीतीकरण, भ्रष्टाचारको जालोमा बेरिँदै आएको आरोप लागेको भक्तपुर अस्पतालमा देशमा कोरोना सङ्क्रमण बढेसँगै बल्ल आइसियू कक्ष सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष नवराज गेलालले आइसियू सञ्चालन गर्न ल्याएका भेण्टिलेटरसहितको सामग्री थन्किएको पाँच वर्षपछि बल्ल प्रयोगमा आएको हो । भक्तपुर अस्पतालमा यसअघिका मेडिकल सुपरिटेण्डेन्ट डा।सुधा देवकोटालाई यहाँका सांसददेखि समितिका अध्यक्षसमेतले पटक पटक आइसियू सञ्चालन गर्न आग्रह गर्दा अटेर गरी थन्क्याएर राखेको आइसियूका सामान अहिले प्रयोगमा आएका हुन् । भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा सरुवा भई आएकी डा. सुमित्रा गौतमले वर्षौदेखि प्रयोगमा नआएका आइसियूका भेण्टिलेटरसहितका सामानहरुको प्रयोग गर्दै एकसाता भित्र आइसियू सञ्चालनमा ल्याउने गरी तयारी पूरा गरेपछि देशकै दोश्रो जेठो अस्पतालले स्थापनाको ११६ वर्षपछि आइसियू सेवाको शुरुआत गर्ने भएको हो । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यसअघि नै भक्तपुर अस्पतालमा विशेषज्ञ सेवादेखि आइसियू सञ्चालन गर्न पटक पटक भन्दा पनि चासो नदिएको अवस्थमा अहिलेको स्वास्थ्य सङ्कटको बेलामा भएपनि आइसियू सञ्चालनमा आउनु खेशीको कुरा भएको बताए । भक्तपुर अस्पताललाई यहाँका विरामी मात्रै नभई काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकदेखि पूर्वका जिल्लाका अधिकांश विरामीको केन्द्र अस्पतालको रुपमा विकास गर्न आफूले पहल गरिरहेको बताउदै उनले पूर्वका धेरै जिल्लासँगै वागमती प्रदेशका जिल्लाका मुख्य अस्पतालको रुपमा विकास गर्दै यहाँका नागरिकलाई सहज र सुलभ उपचार दिने गरी विकास गर्नु आवश्यक रहेको बताए । सांसद बस्नेतले भने, “भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एकै ठाउँमा ल्याएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन यसअघिदेखिका सरकार र स्वास्थ्य मन्त्रालयसँग मैले पहल गरेको छु, प्रत्यारोपण केन्द्रका लागि ठाउँ अभाव भएकाले अस्पताल अन्त बनाउन जग्गा लिन म लागिरहेको छु, यहाँका अस्पताललाई नयाँ स्वरुपमा लगेर सबै उपचार यहीँ हुनेगरी लागिरहेको छु ।” जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर अस्पताललाई प्रदेश अस्पताल नभई केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने औँल्याए । उनले भने, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज बरालसँग समन्वय गरेर १ करोड ५० लाख रुपैयाँको बजेटमा आइसियू स्थापना गर्न सामान ल्याएको भए पनि कमिसनमा लागेका कर्मचारीले आइसियू सञ्चालन गर्न चासो नै दिएनन्, मैले आइसियू सेवा सञ्चालमा ल्याउन ठाउँ पनि तयार पारेँ, आइसियूका लागि पाँच शय्याको बेड, तीन भेण्टिलेटर, अपाङ्गमैत्री भर्याङ्ग र अन्य बहिरङ्ग सेवा थप गराएँ, डा।सुधा देवकोटाले आइसियू चलाउनै चाहनु भएन तर अहिले भक्तपुर अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।” सरकारले कोरोना अस्पतालका रुपमा तोकेपछि भक्तपुर अस्पतालले पाँच वटा भेन्टिलेटरसहित छ शय्याको आइसियू र कोरोना सङ्क्रमित राख्ने १५ शय्याको आइसोलेसन र १० शय्याको कोरोनाका सामान्य विरामी राख्ने आइसोलेसन तयार गरेको मेसु डा. गौतमले बताए । यसका लागि अस्पतालले माग गरेको नयाँ जनशक्ति केही दिनमा पदपूर्ति गर्ने र तत्काललाई राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालसमेतको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याउने गरी जनशक्तिको व्यवस्था गरिएको छ । डा. गौतमले भने-“स्वास्थ्य आपतकालीन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट एक समूह बनाएर काम गर्नेगरी आइसियू र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेका हौं ।” वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिँदै आइसियूका लागि थप एक शय्या र दुईवटा भेण्टिलेटर प्रदेशबाट पठाएको उनले बताए । मेसु डा. गौतमले भने, “भक्तपुर अस्पतालको आइसियू, आइसोलेसन, खरिपाटीको आइसोलेसनमा मानव अङ्गका प्रमुखको नेतृत्वमा जनशक्ति परिचालन गरिएको छ । हाल खरिपाटीस्थित आइसोलेसनमा १२ जना, भक्तपुर अस्पतालमा ६ जना जनशक्ति परिचालन छन् । यस्तो सङ्कटको बेलामा यहाँका तीन अस्पतालले एकैसाथ हातेमालो गर्दै सेवा सञ्चालनमा लागेका छौं । यसले पक्कै राम्रो परिणाम दिन्छ ।” अस्पताल आएका कुनैपनि विरामी उपचार नपाई फर्किनु नपरोस भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवालाई भने सूचारु गरिरहेको छ । भक्तपुर अस्पतालमा कोरोना सङ्क्रमित विरामीको उपचार गर्ने भएकाले बहिरङ्ग (ओपिडी) सेवा लिन यहाँ आउने विरामीलाई प्रत्यारोपण केन्द्रबाट सेवा दिने, आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन गर्ने र प्रसूति वार्ड पनि बन्द नगर्ने नीति लिएको उनले बताए । मेसु डा.गौतमले भने, “कोभिड र ननकोभिडका विरामी एउटै अस्पतालमा उपचार गर्दा जोखिम बढ्न सक्छ, त्यसैले भक्तपुर अस्पताललाई कोभिड मात्रै उपचार गर्ने कि भनेर छलफल चलाएका छौँ, आवश्यक पर्दा यहाँका ७५ शय्यासमेतको प्रयोग गरी १०० शय्याको कोभिड अस्पताल बनाउन तयार छौँ ।” शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवालीको नेतृत्वमा जिल्ला विपद व्यवस्थापन समितिले कोरोनाका विरामी व्यवस्थापन गर्न गठन गरेको समितिको संयोजक तोकेर सङ्क्रमितको उपचारको व्यवस्था गरेको छ । डा. ज्ञवालीका अनुसार भक्तपुरका विरामी अन्त जान नपरोस भनेर योजना बनाएको बताउँदै तीनवटै अस्पताल मिलेर आइसियू र अन्य सेवा सञ्चालनका लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको व्यवस्था गरेको बताए । भक्तपुर अस्पतालमा आएको शल्यक्रिया अब प्रत्यारोपण केन्द्रमा गरिने, खरिपाटी र भक्तपुरको आइसोलेसनका स्वास्थ्य जनशक्ति परिचालनको काम भइरहेको बताए । यहाँका तीनवटै अस्पतालको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा आइसोलेसन, क्वारेन्टिन थप गर्ने कार्य भएको जानकारी दिँदै दुवकोटस्थित केएमसी अस्पतालमा ५० शय्याको कोभिड हव अस्पताल बनाइने बताए । यसका लागि सरकारले तत्काल सामग्रीसहितको व्यवस्थापन गर्ने कार्य गरेको जानकारी दिँदै सानोठिमीस्थित टिआइटिआई, यूसेप र बोडेको कृषि विकास बैंक तालिम केन्द्रको होस्टेल गरी २०० श्ययाको एकीकृत क्वारेन्टिन एवं आइसोलेसन तयार पारेको जानकारी दिए । रासस

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कामपाले बढायो परीक्षण दायरा

काठमाडाैं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ । आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ । केही दिनअघि काठमाडौं उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक दिन सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षणलाई तीव्र बनाएको छ । अहिलेसम्ममा वडा ३, ६, ८, २१, २६, २९ र २१ मा बिरामीको सम्पर्कमा रहेकाको परीक्षण गरिसकेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै पोजेटिभ देखिने गरेकामा अहिले भने ५० प्रतिशतमा सङ्क्रमण देखिन थालेको छ । “कामपाको भित्रिक्षेत्रमा मानिसको अत्यधिक बसोबास छ, त्यहाँ सङ्क्रमण फैलिएको हुनसक्छ । अब त्यस ठाउँको परीक्षण गरिन्छ”, प्रमुख कुँवरले भने । महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र सङ्क्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए । रासस

जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…

फाइल फाेटाे सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेले व्यक्त गर्ने खुशी यथार्थमा चिकित्सकको जीवनको सर्वोत्तम खुशी बन्छ । ती खुशीले नै चिकित्सकलाई जटिल परिवेशका माझमा थुप्रै चुनौतिसँग लड्ने ऊर्जा मिल्छ भन्ने उदाहरण पाउन सकिन्छ । यद्यपि त्यही उदाहरणीय काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात नेतृत्वको टोलीले देखाएको छ । कर्णालीका सयौं महिलाको प्रसव वेदनासँग साक्षात्कार डा.सुबी र उनको नेतृत्वको टोलीलाई विश्वव्यापी सङ्कट बनेको कोरोना भाइरस (कोभिड-१९) को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । तथापि यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच गर्भवतीलाई सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्यो । “सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम त छँदै थियो तर यो महामारीको प्रकोपको बेलामा जोखिम झन् चरम बनेर आयो,” डा.बस्न्यातले भने, “कोरोना सङ्क्रमित महिलाको सुरक्षित शल्यक्रिया गर्नुका साथै आफू पनि त्यो सङ्क्रमणबाट बच्न त्यत्तिकै संयम हुनुपर्ने ।” शुरुको सिञ्जा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेर आएको उनले बताए । उनले अगाडि भने, “जटिल परिस्थितिमा टोलीमा रहेर विशेष सहयोग पुर्याउन नर्स तथा अपरेशन थिएटरका सबै स्टाफको ठूलो भूमिका छ । सबैको संयुक्त प्रयासले आफूसहित कोरोना सङ्क्रमित सुत्केरीको जीवन बचाउन र सुरक्षित राख्न सफल भयौं ।” टोलीले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिञ्जा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको थियो । त्यसैगरी, उनको नेतृत्वमा स्त्रीरोग विशेषज्ञ डा।राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङलगायतको टोलीले मुटु रोगी सिञ्जा गाउँपालिका जुम्ला र ज्वरो रोगी महावै गाउँपालिका कालीकोटको सुत्केरी गराउनुपर्ने कोरोना सङ्क्रमितको सफल उपचार गरेर ज्यान जोगाएको थियो । स्त्रीरोग विशेषज्ञ डा.शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चार जनालाई सामान्य सुत्केरी, दुई जनालाई शल्यक्रिया र एक जना सेभेएर प्रिक्लाम्सिया भएको गर्भवतीको पनि उपचार गराईएको बताए । “बन्दाबन्दी पूर्वप्रति महिनामा सुरक्षित गर्भपतनका १०-१५ केस आउने गरेकोमा त्यसपछि प्रति महिना ३०-४० केस आउने गरेका छन्,” उनले भने, “शायद बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु बढेको हुन सक्छ ।” ढाई वर्षको छोरी छोडेर उपचारमा डा.दम्पती काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात ढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । निर्वाध उपचार सेवामा खटिनु पर्दा घर जाने समय मिलेको छैन, उनलाई । यो समयमा गर्भवती महिलाको केस बढी आउने भएकोले घर जान नपाईएको बताउँछिन्, उनी । डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत छन् । डा.दम्पती घरयासी मामलालाई भन्दा सेवालाई प्रधान ठानेर अहोरात्र खटिरहेका छन् । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आएकी डा.बस्न्यात र उनीका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आएका छन् । “यतिबेला विश्व कोरोना महामारीको चपेटामा छ । सामान्य अवस्थामा त आफ्नो ड्युटी पूरा गर्नुपर्दछ भने यो विषम घडीमा पछि हट्ने कुरै भएन”, उनले भनिन्, “यहाँका महिलाको स्वास्थ्य सेवामा कमि हुन नदिन म सेवामै खटिएकी छु ।” शुरुमा छोरीका लागि तीन/तीन महिनाको अवधिमा घर जाने गरेपनि अहिले कोरोनाले त्यो अवस्था नरहेको उनले बताइन् । मेडिकल अफिसरका रुपमा पाटन अस्पतालमा काम गर्दै गर्दा प्रतिष्ठान जुम्लाका तत्कालीन उपकुलपति डा.पारसकुमार आचार्यको सहयोगमा विसं.२०७० सालमा डा.सुबी र उनको श्रीमान् डा.रविन जुम्ला आएका थिए। प्रतिष्ठानकै सहयोगमा डा.सुबीले एमडीईन गाईनोलोजी र डा.रविनले एमडीईन एनेस्थेसिया गरेका छन् । काडमाडौं महानगपालिका १५ छाउनी स्थायी घर रहेका डा.दम्पतिलाई जुम्ला प्रवेश शुरुमा असामान्य थियो । यद्यपि प्रवेश गरेको पहिलो महिनामा यहाँका खसभाषी महिलाको उपचारमा खटिँदा छोटै समयमै घुलमिल हुन सकिएको अनुभव डा.सुबीले सुनाइन् । यो सात वर्षको अवधिमा कर्णालीका महिलालाई उपचार सेवा दिन पाउँदा निकै सन्तुष्टि मिलेको डा.दम्पतीले बताईन् । नागरिकको सेवालाई पहिलो ठानेर सात महिनादेखि ढाई वर्षको छोरीलाई काठमाडौंमै छोडेर डा.दम्पति प्रतिष्ठानमा अनवरत रुपमा काम गर्दै आएका छन् । रासस