चितवनकाे भरतपुर अस्पताल र अन्य दुई मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क
चितवन । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ । उनले भने, “तोकिएका अस्पतालहरुमा गरिएको कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले बेहोर्छ ।” सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका सङ्क्रमितको एक दिनको प्रति व्यक्ति रु तीन हजार ५००, पूर्ण लक्षण देखिएका बिरामीको रु सात हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको रु १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उहाँले जानकारी दिए । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारले सङ्क्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्बन्धित बिरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने जानकारी दिए । न्यौपानेले सङ्क्रमित हुनुभन्दा अघिको उपचार खर्च भने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने बताए । आज चितवन मेडिकल कलेजमा १०३ कोरोना सङ्क्रमित उपचाररत छन् । पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले मन्त्रालयले खर्च बेहोर्ने जानकारी पाएसँगै बिरामीका आफन्तसँग कुनै पनि रकम नलिएको बताए । मन्त्रालयले पत्र पठाइनसकेको भए पनि प्रमुख जिल्ला अधिकारीले यस विषयमा जानकारी गराएपछि आफूहरुले सङ्क्रमितको उपचार निःशुल्क गरेको उनको भनाइ छ । सो मेडिकल कलेजमा आज ५३ जना सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले गत महिनासम्म सरकारी अस्पतालले मात्र उपचार गरिरहेकामा अहिले निजी मेडिकल कलेजहरुलाई पनि उपचारको जिम्मा दिइएको बताउनुभयो । भरतपुर अस्पतालमा अहिले ६४ जना सङ्क्रमित उपचाररत छन् । शुरुदेखि नै सरकारी अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको उहाँले जानकारी दिए । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सरकारले अस्पतालहरुलाई सङ्क्रमितको उपचार खर्च दिने भएकाले निःशुल्क उपचार गर्नुपर्ने बताए । जिल्लाको कोरोना नियन्त्रणका लागि बनेको प्राविधिक समितिका संयोजकसमेत रहेका अधिकारीले सङ्कटको समय भएकाले सरकारको निर्देशन पूर्ण पालना गरेर सबै उपचारमा जुट्नुपर्नेमा जोड दिए । यसै महिनाबाट मेडिकल कलेजहरुले कोरोनाका बिरामीको उपचार थालेका हुन् । जिल्लाको भरतपुर सरकारी अस्पताल र दुई मेडिकल कलेजमा भेन्टिलेटरसहितको कोभिड सघन उपचार कक्ष र आइसोलेसन कक्ष सञ्चालनमा रहेका छन् । यी अस्पतालले चितवनसहित छिमेकी जिल्लाका कोभिडको बिरामीको उपचार गर्दै आएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । अस्पतालहरुमा उपचारको क्रममा २१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ११ जना चितवनका हुन् । घरमै एक वृद्धाको सङ्क्रमणका कारण मृत्यु भएको थियो । रासस
पोखराकाे शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने
पाेखरा । पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ । पहिलोपटक अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा शुरु भएपछि सोमबार अस्पताल निरीक्षण तथा शल्यक्रियामार्फत सुत्केरी भएकी रीता श्रेष्ठलाई पोषण सामग्री हस्तान्तरण गर्दै महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालको स्तरोन्नति गरिने योजना रहेको बताएका हुन् । साविक लेखनाथ नगरपालिकाको जमिनमा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै अस्पतालको स्तरोन्नति गरिने उनले स्पष्ट पारे । गत शनिबार अस्पतालमा बाराको कोहल्बी नगरपालिका–८ नयाँबस्तीका १८ वर्षीया श्रेष्ठको शल्यक्रिया गरी प्रसूति गराइएको थियो । अस्पतालले न्यून जनशक्तिका बीच शल्यक्रियामार्फत प्रसूति सेवा शुरु गरेकाले थप जनशक्तिका लागि महानगरले सहयोग गर्नुपर्ने अस्पतालले जनाएको छ । मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको सुविधा थप गर्न माग गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतिभा कोइरालाले सबैको सहयोगबाट अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराउन सकिएको भन्दै न्यून स्रोत र साधन चुनौतीका रूपमा रहेको बताए । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अस्पतालमा प्रसूति सेवा शुरु भएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । आपतकालीन अवस्थामा ४५ मिनेट लगाएर पोखरा आउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै उनले सुुरक्षित प्रसूति सेवा शिशुवामै पाइन्छ भन्ने विश्वास नागरिकलाई दिनुपर्ने खाँचो औँल्याए । महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले विशेषज्ञ चिकित्सक सेवासहित विभिन्न परीक्षण, ल्याबलगायतका सेवा र सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा नारायण ओझाले अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिकासहित कास्कीको पूर्वीभेगसँग सीमा जोडिएका लमजुङका बासिन्दासमेत लाभान्वित हुने गरेको जानकारी दिए । रासस
काेराना सङ्क्रमित छिटो पहिचान गर्न काठमाडाैंमा ‘अपरेसन सेन्टर’
काठमाडाैं । काठमाडौं महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो । पहिलो चरणमा यसअघि बढी सङ्क्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ । कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम शुरु भइसकेको छ । यसबाट सङ्क्रमित पहिचान गर्न ठूलो सहयोग हुन्छ । यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरिसकेको छ । आवश्यकता हेरी थप अरु कर्मचारी पनि भर्ना गरिने प्रमुख कुँवरको भनाइ छ । यसअघि स्वास्थ्यकर्मीको पनि समस्या थियो, अब त्यो समस्या केही कम हुन्छ । टोलीले ३२ वटै वडामा यसअघि खटिएको स्वयंसेवक र स्वास्थ्यकर्मीसँग सहकार्य गरी काम गर्नुपर्छ । त्यसैगरी उक्त टोलीले होम क्वारेन्टिन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्नुपर्दछ । टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको छ । विभाग प्रमुख कुँवरले कामपामा परीक्षण गर्दा लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न बालाजुस्थित बाइसधारा पार्कको भवनलाई प्रयोग गर्ने पनि जानकारी दिए । महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पिसीआर परीक्षण गरिरहेको थियो । अब सो सङ्ख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै करिब नौ हजारको सङ्ख्यामा कोरोनाका बिरामी छन् भने काठमाडौँ जिल्लामा मात्रै छ हजार बिरामी भइसकेका छन् । रासस