गोरखामा थप १० जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशको ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत गोरखामा मात्रै १० जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय २३ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् । कोरोना संक्रमण हुनेहरुमा गोरखा नगरपालिकाका ७ पुरुष र १ महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिका निवासी ५३ र २५ वर्षका २ जना पुरुषमा पनि कोरोना देखिएको छ । त्यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १/१ जनामा कोरोना देखिएको छ । यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशक डा. शर्माले बताएका छन् । क्वारेन्टाइनमा रहेका सबै जना कोरोना संक्रमितहरु भारतबाट फर्किएका हुन् । अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा.शर्माले बताएका छन् ।

कोरोनाको आशङ्कामा मृतकको शव ६ घण्टा घरमै

झापा । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिए । नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए । मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएकाे थियो । उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो । नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन”, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भने, “दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।” पालिकाले चार जना गाउँलेलाई पिपिइ, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो । मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् । उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए । बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।  रासस

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए । स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेका हुन् । अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।  रासस