थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं । नेपालमा थप  २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको बताउँदै  नेपालमा काेराेनाबाट १८ जनाकाे मृत्यु भएकाे बताएका छन् । बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ। नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७३ थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

थप २ सय ७३ जनामा देखियो कोरोना

नेपालमा २ सय ७३ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा २ सय ७३ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ३ सय ३५ रहेको छ । जसमध्ये ९ सय १३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भइसकेकाे छ ।

कर्णालीमा ९ सय १६ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९ सय १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका ८ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए  । त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताए। सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ । त्यसैगरी आज दैलेख अस्पतालबाट ५ र दुल्लु अस्पतालबाट ४ गरी ९ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको सङ्ख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।  रासस