६८ लाख ३९ हजार मानिसमा कोरोना संक्रमण, मृतककाे संख्या ४ लाख नजिक
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९७ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख २९ हजार ८ सय ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ११ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ६५ हजार ५ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ भने अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९ सय १२ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
डा. दासले तयार पारेकाे कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया शुरु
काठमाडौं । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए । “अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उनले भने । डा दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डा दासका अनुसार उनले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका छन् । सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ । आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ । डा दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गर्नुभएका डा दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउँछन् । बाराको कलैयाका स्थायी बासिन्दा डा दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउँथे । यसैबीच, डा दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ । डा दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए । गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ”, उनले भने ।
रिपोर्ट नेगेटिभ नआउँदै काेराेनाका बिरामी डिस्चार्ज, घरसम्म पुग्ने व्यवस्था नगरिँदा समस्यामा
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विभिन्न अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । यसको मारमा कोरोना भाइरसकै संक्रमित बिरामी परिरहेका छन् । केही दिनयता कोरोनाका बिरामी ह्वात्तै बढेसँगै अस्पतालमा राख्ने बेड नहुँदा बिरामीहरुको रिपोर्ट नेगेटिभ नआउँदै डिस्चार्ज गरिँदै आएको छ । केही दिन अगाडिमात्रै संक्रमण देखिएका तर कुनै पनि लक्षण नदेखिएका बिरामीहरुलाई विभिन्न अस्पतालहरुले डिस्चार्ज गरिरहेका छन् । नयाँ बिरामीहरुलाई बेड खाली गर्नका लागि उनीहरुलाई डिस्चार्ज गर्नु परेको अस्पतालहरु बताउँदै आएका छन् । शुक्रबार मात्रै बुटवलको कोरोना विशेष अस्पतालले २७ जना कोरोना संक्रमितलाई रिर्पोट नेगेटिभ नआउँदै घर पठाइएको छ । अस्पतालले १४ दिन क्वारेन्टाइनमा बसेका, तर कोरोनाको कुनै लक्षण नदेखिएका उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइमा बस्नु भन्दै घर पठाएको बताइएको छ । यस्तै, सेती प्रादेशिक अस्पतालबाट पनि आजै ६ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुलको पनि रिपोर्ट नेगेटिभ नआउँदै घर पठाइएको हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । चिकित्सकको आवश्यक निर्देशनसहित उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए । अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो । यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो । तर, अहिले नतिजा पोजेटिभ हुँदै घर पठाइने गरेको छ । सरकारले लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित गरेको थियो । रिपोर्ट नेगेटिभ हुँदै अस्पतालबाट डिस्चार्ज गरिएकाे र त्यैमाथि उनीहरुलाई घर जान पनि समस्या भइरहेकाे कुरा आएकाे छ । अस्पतालहरुले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेपनि उनीहरुलाई घर पुग्ने व्यवस्था नगरिँदा बिरामीहरु ठूलो समस्यामा पर्ने गरेका छन् । आज बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाए पनि सेती प्रादेशीक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई कुनै व्यवस्था गरिएन । यसले पनि उनीहरु समस्यामा परेका छन् । एकापट्टी लकडाउन र अर्कातर्फि उनीहरु आफै कोरोनाका बिरामी भएकोले उनीहरुलाई घर जान समस्या परिरहेकाे गुनासाे छ ।