प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा कोरोनाको फरक भाइरस पत्ता लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता भारतबाट आएको कोरोना भाइरस फरक र कडा भएको बताएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिले भारतीय मिडियामा तहल्का मच्चायो । चीनबाट आएको भाइरसभन्दा भारतबाट आएको कोरोना भाइरस अलि कडा भएको उनको भनाई थियो । त्यतिखेर भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको धेरै आलोचना पनि गरे । तर, साँच्चीकै अहिले भारतका वैज्ञानिकहरुले भारतमा फरक किसिमको कोरोना भएको पत्ता लगाएका छन् । हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ । सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् । भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशमा दुई लाख ७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमको सहयोगमा

सुर्खेतमा क्वारेन्टिन बसेर घर फर्किएका युवकको मृत्यु

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर १४ दिन क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । गत जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । गएको बिहीबार उनको आरडिटी नेगेटिभ आएको थियो । हाल उनको पीपीई परीक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको छ ।

६ महिनापछि सञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान

भरतपुर । ६ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो शुल्कमा सिटी स्क्यान गराउन बाध्य भएका थिए । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए । मेसिन बिग्रँदा बीमाका बिरामी बढी प्रभावित भएका थिए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने, “न्यूरोको शल्यक्रियासमेत हुन सकेको थिएन, एक वर्षका लागि मर्मत गर्ने कम्पनीसँग सम्झौता गरिएको छ ।” भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम तीनदेखि ९ हजारसम्म तिर्नुपर्छ । अन्य निजीमा ४ देखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औषत १२ देखि १५ जनाले सिटी गराउँदै आएका छन् । विसं २०७४ जेठमा ६ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो । रासस