एकैदिन १ सय ७० जनामा देखियो कोरोना, संक्रमितकाे संख्या १२ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् । हालसम्म २०६ जना निको भएर घर फिर्किएका उनले जानकारी दिए । जसमध्ये पुरुष १६२ जना र ४४ जना महिला रहेका छन् ।
छ दिनमै फर्किइन् भक्तपुरकी काेराेना सङ्क्रमित
काठमाडाैं । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो । अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी हुन् । वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५९ लाख ७ सय ६५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६१ हजार ७ सय ७६ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ७७ हजार २ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ६८ हजार ३ सय ४६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६५ हजार ३ सय ८६ पुगेको छ भने अहिलेसम्म ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ हजार ४२ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)