विदेशबाट फर्काउने नेपालीलाई कोरोना विरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्म

काठमाडाैं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो । जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी शुरु गरिएको सिएमसीका संयोजक एवं भक्तपुरका प्रजिअ हुमकला पाण्डेले जानकारी दिए । कोभिड–१९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टिन, उपचार तथा आइसोलेशन र सङ्क्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उनको भनाइ छ । सरकारले विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १, २ लगायत पूर्वी जिल्ला जाने नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर ल्याएर निश्चित समय क्वारेन्टिनमा राखिने भएको छ । भक्तपुरमै पनि सङ्क्रमित बढ्दै गएको अवस्थामा राख्ने क्वारेन्टिनको व्यवस्था गरिने भएको छ । हाल खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण र नगरकोटको खानेपानी तालीम केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सरकारले तयार पारेको ३ सय ८ जना क्षमताको क्वारेन्टिन विदेशबाट फर्किएका नेपालीका लागि प्रयोगमा ल्याइने छ । आवश्यक पर्दा मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा ५० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरिएको छ । यसबाट पनि अपुग भएमा अस्थायी क्वारेन्टिन बनाउने गरी खुला क्षेत्रको समेत पहिचान गरिएको छ । नगरकोटको होटलमा क्वारेन्टिन बनाउने सन्दर्भमा भने सङ्घीय सरकारबाटै पहल भइरहेको छ । राजमार्गका होटलमा क्वारेन्टिन बनाउनेबारे भएको छलफलमा होटल सञ्चालक सहमत भए पनि सरकारले निश्चित शुल्क दिनुपर्ने उनीहरुको माग छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिए तत्काल सङ्क्रमितलाई राख्न क्वारेन्टिन तथा आइसोलेशन कक्ष बढाउने गरी तयारी भएको हो । यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ को उपचार तथा आइसोलेशन कक्षको व्यवस्थापनबारे छलफल र तयारी भइरहेको प्रजिअ पाण्डेको भनाइ छ । जिल्लाका चारवटै नगरपालिकालाई कम्तीमा एकएक वटा शव वाहनको व्यवस्था गर्न, प्रत्येक नगरपालिकामा क्वारेन्टिनको व्यवस्था गर्न, विदेशमा रहेकाको लगत सङ्कलन गर्न पत्र पठाएर नगरस्तरमा पनि तयारी थालिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि शव वाहनको व्यवस्था गर्न भनिएको छ । जिल्ला–जिल्लामा यस्तो व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको सवारी साधन र जनशक्ति गएर पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनु परेको थियो । धुुलिखेल अस्पतालमा कोरोनाबाट ज्यान गएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव लैजान सवारी साधन र शव व्यवस्थापन भक्तपुरबाट गएका तालीम प्राप्त अरुण सैँजू र राजेश गाइजूले गरेका थिए । यस्तो अवस्था भक्तपुरमा नआओस् भनेर कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको शवको व्यवस्थापन गर्न यहाँका नगरपालिका र रेडक्रसलाई एकएक वटा शव वाहनको व्यवस्था गर्न निर्देशन दिइएको हो । क्वारेन्टिनको तयारीदेखि शव व्यवस्थापनसम्मका लागि नेपाली सेनाको नेतृत्वमा टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको संयुक्त सुरक्षा टोलीले सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनको प्रत्येक साता सफाइ गर्ने र तयारी अवस्थामा राख्नेदेखि शव व्यवस्थापनका लागि तालीम प्राप्त १५ जनाको टोली तयारी अवस्थामा राखिएको वीरदल गण सूर्यविनायकका गणपति एवं प्रमुख सेनानी शिव पौडेलले बताए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानले कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनसँगै सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । सीमा नाकाबाट अत्यावश्यक र गृहमन्त्रालयका पासबाहेक अन्यलाई भक्तपुर भित्रिन नदिएको र साँगा एवं नाला नाकामा कडाइ गर्नाका साथै अन्य लुकेर आउनसक्ने भित्री नाकामा समेत निगरानी बढाएको उनले जानकारी दिए । रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख ५९ हजार २ सय ४३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७३ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ भने २७ लाख ८५ हजार ५ सय १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ६ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ३७ हजार १ सय ६५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ भने अहिलेसम्म ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ हजार ५ सय ७२ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २सय २० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

शिक्षा मन्त्रालयले भन्योः पठनपाठन सुरु गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गर्नेछ

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरुमा पठनपाठन सुरु गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गरेको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै काेराेना भाइरस जाेखिम नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिकाे सिफारिसमा मन्त्रिपरिषद्ले पठनपाठन सुचारुबारे निर्णय गर्ने बताइएकाे छ । साथै, लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न उनले निर्देशन दिएका हुन् । दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् । ‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् । यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’   – यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकोमा सच्चाइएको छ ।