नेपालमा काराेना जित्नेकाे संख्या १ सय ८३

काठमाडौं । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ । देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।

थप एक सय १४ जनामा देखियाे काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाकाे अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ जसमा पुरुष ७ सय ९६ जना र महिला ९० जना रहेकाे छन् ।

हेटौंडाकी एक महिलामा देखियाे कोरोना सङ्क्रमण

हेटौंडा । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा-१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड-१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए । उनका अनुसार ती महिलाको हेटौँडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजीकार्य भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ । रासस