बेलायतमा थप तीन नेपालीको मृत्यु
काठमाडौं । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए । आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएको समाजसेवी लीलादेवी गुरुङले बताए । खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिईन । उनी गत वर्ष मात्र बेलायत आएका थिए । एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए । त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए । तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएको समाजसेवी कमल गुरुङ बताए । रासस
प्रधानमन्त्रीले भनेः काठमाडौं कोरोना बिरामी मुक्त हुँदा धेरै खुसी लागेको छ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका कोरोना बिरामी मुक्त हुँदा खुसी लागेको बताएका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दा काठमाडौंमा कोरोनाका बिरामी नभएकोले आफु धेरै खुसी भएको बताएका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ, डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’ हालसम्म नेपालमा ४८ जनामा कोरोना देखिएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् । काठमाडाैंमा काेराेनाकाे उपचारको क्रममा रहेका बिरामीहरू निकाे भएर घर फर्किए सँगै काठमाडाैं काेराेना बिरामीमुक्त भएकाे हाे । बिहिबार पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्, काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ हाे । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बनस्तोलाले बताए ।
कोरोना भाइरसको भ्याक्सिनमा सफलता मिल्न आँट्योः ट्रम्प
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन बन्नमा सफलता प्राप्त हुन लागेको बताएका छन् । ‘हामी भ्याक्सिन हासिल गर्नमा निक्कै नजिक छौं,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । उनको यस्तो भनाइ आएपनि संसारका धेरैजसो विशेषज्ञहरु भने कोरोनासँग सम्बन्धित कुनैपनि भ्याक्सिन उपलब्ध हुनका लागि १२ देखि १८ महिनासम्मको समय लाग्न सक्छ भन्दै आइरहेका छन् । कोरोना भाइरसः विश्वका प्रमुख घटना संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९० हजारभन्दा बढिको मृत्यु भइसकेको छ । युरोपियन युनियनका नेताहरुले कोरोना महामारीको कारण लडखडाएको युरोपको अर्थव्यवस्थालाई उकास्नका लागि अरबौं रुपैयाँको आपतकालिन सहायताको योजनामा सहमति जनाएका छन् । कोरोना भाइरसको कारणबाट हुने वाला आर्थिक नोक्सानीलाई कम गर्नका लागि १ जुनबाट त्यहाँ अवस्थित प्रणाली मार्फत् ५ सय ४० अर्ब युरोको वित्तीय सहायता जारी गरिनेछ । अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा ४ सय ८४ अर्ब डलरको एउटा नयाँ राहत प्याकेजसँग जोडिएको बिल पास भएको छ । यसको उद्देश्य भनेको साना व्यवसायीहरुलाई कर्जा दिने र त्यसैगरी हस्पिटलहरु तथा कोरोना भाइरसको परीक्षणका लागि थप धनराशी उपलब्ध गराउने छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा कोरोना संक्रमणबाट भएका करीब ५० प्रतिशत मृत्यु केयर होम्समा भएकोमा चिन्ता व्यक्त गरेको छ । ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हैनकोकले बिहीवार ब्रिफ्रिंगको वेला मिडियालाई बताएका छन् कि कोरोना भाइरस संक्रमित मानिसहरुको पहिचानका लागि १८ हजार मानिसहरुलाई नोकरीमा राखिनेछ । चीनले विश्व स्वास्थ्य संगठनलाई ३ करोड डलरको अतिरिक्त फण्ड दिने घोषणा गरेको छ । चीनको यो फैसला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठनलाई अमेरिकाले दिने सहायता कटौति गर्ने फैसलाभन्दा पछि आएको हो । ट्रम्पले कोरोना महामारीसँग जोडिएका जानकारीहरु सही समयमा नदिएको आरोप डब्लूएचओ माथि लगाउँदै फण्ड रोक्ने घोषणा गरेका थिए । युरोपको अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भ्याक्सिनको मान्छेमा ट्रायल शुरु भएको छ । यो अध्ययनका लागि चुनिएका कूल ८ सय जनामध्ये पहिलो २ जनालाई इन्जेक्शन लगाइएको छ । (श्रोतः बीबीसीडटकम)