धरानमा छुट्टै कोरोना अस्पताल सञ्चालन, अब स्वाब परीक्षण गर्न काठमाडाैं ल्याउनै नपर्ने
धरान। विपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा रहेको छ । पहिलो चरणमा सञ्चालनमा ल्याइएको १०० शैयासहितको ‘आइसोलेसन’ कोभिड-१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश १ मा कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए । ‘कोभिड-१९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सङ्क्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गरिनुपर्छ ।’ प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको र आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक एैरका अनुसार अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित १०० शैयाको कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याइएको हो । यसअघि कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं पुर्याउनुपर्ने अवस्था थियो । केही समय अगाडि सरकारले प्रदेश नम्बर १ को लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परिक्षण गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर-१ मा कोरोना संक्रमणको दर सबैभन्दा बढि रहेको छ । प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो । प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो । प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश-१ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
मेडिकल उपकरण ल्याउन चीनको ग्वान्झाउ गयाे हिमालय एयरलाईन्स्, भोली फर्किने
काठमाडाैं । नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्स्ले कोभिड-१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गाे चाटर्ड उडान गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले मेडिकल सामाग्री आयातमा बढावा दिएको छ । हिमालय एयरलाईन्स्ले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाका लागि नियमक निकायहरुबाट स्विकृित पाएको थियो । सोही अनुसार सबै प्रकारका आधारहरु पुरा गरेर ग्वान्झाउ उडान भरेको हो । हिमालय एयरलाईन्स्को A320-214, 9N ALW ले आज साँझ ५ बजेर २१ मिनेट मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेको छ । उक्त जहाज आजै राती १२ बजे चीनको ग्वान्झाउ बाइयुन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने तालिका रहेको छ भने मेडिकल सामाग्री लिएर भोली विहान ३ बजेर ३० मिनेट (स्थानिय समय) मा नेपाल फर्किने तालिका रहेको छ । उक्त जहाज भोली विहान ७ बजेर १५ मिनेट (स्थानिय समय) मा काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ‘महिना दिन लामो लकडाउन पश्चात यात्री उडान बन्द भईसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन स्विकृति पाईएको छ, जुन हाम्रो लागि स्वागतयोग्य अवसर हो । हामी यस उडानलाई काेभिड-१९ मेडिकल आपूर्तिहरू ल्याउनको लागि एक अत्यावश्यक सेवाको रूपमा संचालन गर्न पाउँदा खुसी छौं, जसले हाम्रो देशलाई महामारीको विरूद्ध लड्न मद्दत गर्दछ,’ उपाध्यक्ष विजय श्रेष्ठले भने । ‘क्यानको विशेष अनुमति प्राप्त गरेपछि, नेपाल सरकारले निर्देशन गरे अनुसार हाम्रा उडान सदस्यहरु स्वास्थ्य सुरक्षाका उपायहरु पालना गरी चीनतीर लाग्दै हुनुहुन्छ ।’ उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामाग्री ल्याउनेछ ।
दमौली अस्पतालमा स्वाब परीक्षण बुथ निर्माण
काठमाडौं । कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेकाे हो । अस्पतालको आग्रहबमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिनुभयो । “अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ, मैले डिजाइन बनाएर लगेर बनाउन सक्छु भनेर देखाएको थिएँ”, ढुङ्गानाले भने, “अस्पतालका चिकित्सक मेरो प्रस्ताव स्वीकारेपछि मैले बुथ निर्माण गरेको हुँ ।” बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पिपिइ) नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गर्न सक्छन् । स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको भन्दै ढुङ्गानाले भने, “व्यक्तिगत सुरक्षा कवज (पिपिइ) को अभाव हुँदा पनि बुथभित्र बसेर स्वास्थ्यकर्मीले ढुक्कसँग स्वाब सङ्कलन गर्न सक्छन् ।” बुथको लगभग काम सकिएको र केही दिनभित्रै बुथ सञ्चालनमा आउनेछ । बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले व्याहोरेको छ । बुथ निर्माणका लागि करिब रु ५० हजार खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बुथ निर्माण भएपछि कोभिड–१९ का शङ्कास्पद बिरामीको सुरक्षित स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने अधिकारीले बताए । “बाहिरको जीवाणुभित्र नजाने गरी बुथ निर्माण गरिएको छ, यो सुरक्षित भएकाले स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवा प्रवाहमा लाग्न सक्नेछन्”, अधिकारीले भने । दमौली अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । तनहुँ जिल्लामा हालसम्म १८ जनाको स्वाब परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ढुङ्गानाले नै निर्माण गरेको स्यानिटाइजर टनेलसमेत दमौली अस्पतालमा सञ्चालनमा आइसकेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिसकिएको छ । अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ । उक्त स्यानिटाइजर टनेल निर्माणका लागि रु ३५ हजार खर्च भएको छ । कक्षा ४ मा अध्ययन गर्दादेखि नै विज्ञान प्रविधिसँग जोडिनुभएका ढुङ्गानाले विद्यालयमा अध्ययन गर्दाको समयमा नै विद्युतीय डोजर, फुटबल खेल्ने रोबोट, जमिन, पानी र आकाशमा चल्ने गाडी, म्यानुअल लोडिङ एण्ड लिफ्टिङ रोबोट पार्ट १, पार्ट २, घाँस काट्ने रोबोट, हेलिकोप्टर, केवलकारको नमूना, ¥यापिड बम डिस्फोजल रोबोट निर्माण गरेका थिए । साथै उनले व्यासको जन्मभूमि व्यास गुफामा भजन गाउँदा बत्ती बल्ने प्रविधि पनि जडान गरेकाे छ भने हेल्मेट नलगाई मोटरसाइकल स्टार्ट नहुने र सोलारबाट चल्ने स्कुटरको समेत विकास गरेका छन् ।