विकराल रूप लिँदै काेराेनाः संक्रमित संख्या २० लाख पुग्याे, १ लाख २६ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१०)बाट संक्रमित हुनेको संख्या २० लाख पुगेको छ । बुधबार बिहान संक्रमितको संख्या २० लाख पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख २६ हजार ७ सय ५४ पुगेको छ । कहाँ कतिको मृत्यु ? कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । त्यहाँ ६ लाख १४ हजार बढी संक्रमित छन् भने २६ हजार ६४ को मृत्यु भइसकेको छ । अमेरिकापछि स्पेनमा कोरोना संक्रमित धेरै छन् । स्पेनमा १ लाख ७४ हजार, इटलीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार, जर्मनीमा १ लाख ३२ हजार संक्रमित छन् । त्यस्तै, अमेरिकामा २६ हजार बढीको मृत्यु हुँदा इटलीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १५ हजार, बेलायतमा १२ हजार बढीको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विश्वका अधिकांश विगत केही सातादेखि देश लकडाउनमा छन् । कोरोनाको उद्गमस्थल चीनमा कोरोना संक्रमण न्यून भएको छ तर अन्य भने भइसकेको छैन । त्यहाँ मंगलबार मात्रै ४६ जना नयाँ संक्रमित फेला पर्दा एकजनाको मृत्यु भएको छ ।

भारतमा भयावह बन्दै काेराेना, ३ सय ९३ जनाको मृत्यु, संक्रमितको संख्या साढे ११ हजार पुग्याे

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेकाे छ । वल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ३ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ। यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। विश्वभर फैलिरहेकाे काेराेना भाइरसले जनजीवन पनि निकै प्रभावित बनेकाे छ ।

कोरोना परीक्षण गर्ने आरडिटी र पिसिआर विधिमा के फरक छ ?

काठमाडौं । हाल नेपालामा दुई विधिबाट कोरोनाभाईरस (काेभिड-१९) को परीक्षण भईरहेको छ । एक हो पिसिआर र दोस्रो रहेको छ आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट विधि। हालसम्म यी दुई विधिबाट १२ हजार ९ सय ६ वटा परीक्षण भएको छ । यो दुई मानिसको शरीरमा कोरोना भाईरसले लाग्ने रोग कोभिड-१९ छ कि छैन भनेर पत्ता लगाउनको लागि प्रयोग हुने भिन्न विधि हो । तर बजारमा यो दुई विधिलाई लिएर मानिसहरुमा केही भ्रमहरु छन् । यी दुई विधिले कसरी काम गर्छ त भन्ने पछिल्लो समय धेरैले बुझ्न चाहेको विषय रहेको छ । के फरक छ ? हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायगोनेस्टिक किट विधि ल्याएको हाे । यद्यपी एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ । १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि तर व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ। सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । जटिल पिसिआर परीक्षण पिसिआर परीक्षण एउटा जटिल परीक्षण रहेको छ । यसको नतिजा टेष्टको लागि राखिएको करीब ६ घण्टा पछि आउँछ । याे निकै जटिल विधि हो । यसको लागि सुविधासम्पन्न ल्याब, एकदमै दक्ष जनशक्ति हुनुपर्छ। यसमा प्रविधि मार्फत शरीरमा भाईरसको जीन छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । यस प्रविधिमा एकपटकमा एउटा परीक्षण गर्न र समूहमा एकैपटक धेरै परीक्षण गर्न उही प्रकृया र समय आवश्यक हुने भएको कारण एक पटकमा सकेसम्म धेरै नमुना परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको केस जटिल भएको अवस्थामा मात्र एक दुईवटा परीक्षण गरेर नतिजा ६ घण्टाको वरीपरी आउने तर धेरैवटा एकैपटक गर्दा परीक्षण सजिलो हुने भएकोले एउटा परीक्षणको नतिजा कम्तिमा पनि २४ देखि ३६ घण्टा वरिपरी लाग्ने गर्दछ । यो जटिल विधि भएकोले यसलाई कसरी सजिलो बनाउने भन्दै गर्दा वैज्ञानिकहरुले आरडिटी विधि पत्ता लागएका हुन् । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट आरडिटी प्रविधि एउटै निकै नै सरल प्रविधि हो जसलाई सामान्य व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । नेपाल मात्र नभएर अमेरिका, युरोपियन युनियन, अष्ट्रेलियाले पनि यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । यस्तै भारतले पनि आफ्नो भर्खरै प्रकाशित टेष्टिङ मापदण्डमा लक्षण देखाएका व्यक्तिहरुमा आरडिटीको माध्यमबाट परीक्षण गर्न उल्लेख गरेका छ । र्यापिड किट प्रयोग गर्नको लागि धेरै विज्ञता पनि नचाहिने, ल्याब पनि आवश्यक नहुने, जहाँ पनि गएर जाँच्न सकिने, सामान्य तालिम पर्याप्त हुने र १५ मिनेटमै नतिजा देखिने भएकोले यो प्रविधि धेरै फाईदाजनक छ । कुनै पनि राष्ट्रले सबै परीक्षण पिसिआर प्रविधीबाट गर्दैन । आरडिटीबाट परीक्षण हुँदा धेरैभन्दा धेरै व्यक्तिहरु छोटो समयमै परीक्षणको दायरामा आउने र त्यसले पछि हुने संभावित संक्रमणबाट बचाउने सकिन्छ। आरडीटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडीको मार्फत पहिला शरीरमा यो रोग थियो भन्ने देखाउँछ । साथै, यो परीक्षणले नेपालमा कतिलाई कोरोनाभाईरस  (काेभिड-१९) लागेको थियो भन्ने पत्ता लगाउन सकिन्छ । ( डा. रुणा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् । )