विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ: मुख्यमन्त्री पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताए । उनले एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको उल्लेख गरे । “ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ । उनले देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीले निर्वाह गर्नुभएको भूमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको भन्दै जोखिमका बाबजुत पनि सङ्क्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् । “यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाले मानवीय मूल्य र मान्यताविपरीत विशेष प्रकृतिका बिरामीबाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिइ फर्काइएको र उनीहरुले उपचार नै नपाइ तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै दुःखी तुल्याएको छ, ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गरेका हुन् । उनले त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दै आफ्ना सेवालाई विगतमा जस्तै निरन्तरता दिनसमेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्रका अस्पतालको छानविन गर्ने र दोषी देखिए कारवाही गरिनेसमेत जानकारी गराउँन सो सन्देशमा आग्रह गरेका छन् । अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको सन्देशमा उल्लेख छ । “यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक छ”, मुख्यमन्त्री पौडेलले भने । रासस
दोस्रो, पाँचौ र छैटौं कोरोना संक्रमित एउटै फ्लाईटमा नेपाल आएका थिए
काठमाडौं । कोरोना संक्रमित छैटौँ व्यक्ति दोस्रो र तेस्रो कोरोना संक्रमितसँग एउटै फ्लाईटमा नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनै जना एकैदिन एउटै फ्लाईटमा नेपाल आएको बताएका हुन् । उनीहरु चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ बाट दोहा हुँदै नेपाल आएका देवकाेटाले बताए । दोस्रो संक्रमित युवतीलाई चैत १० गते कोरोना भएको पुष्टि भएको थियो भने पाँचौं संक्रमित युवतीलाई चैत १५ गते संक्रमण भएको पुष्टि भएको थियो । दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । छैटों संक्रमित भने आज संक्रमित भएको मन्त्रालयले पुष्टी गरेकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । आज काेराेना संक्रमण देखिएकी युवती बाग्लुङकी हुन् । उनकाे थप जानकारी भने आउन बाँकी नै छ । नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
मुख्यमन्त्रीलाई माक्स लाउनै आउँदैन !
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को सन्त्रास छ । त्यो त्रासबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । त्यो प्रयास केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म पुगेको छ । आम नागरिकहरु यसको सावधानी अपनाइरहेका छन् । सरकारले लक डाउन घोषणा गरेको छ । सबै नागरिक घरभित्रै बसेका छन् । प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू विभिन्न क्षेत्र तथा ठाउँमा गएर नागरिकहरुलाई कोरोना सम्बन्धि सचेतना तथा सल्लाह सुझाव पनि दिइरहेका छन् । नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि कोरोनाविरुद्दको कोष पनि स्थापना गरेको छ । यो कार्य संघले मात्र होइन सातवटै प्रदेशले शुरु गरेका छन् । सातै प्रदेशले कोरोना भाइरसको जोखिम कम गर्नका लागि स्थापना गरेको कोषमा सहयोग गर्नेहरु संख्या पनि बढ्दै गएको छ । अहिले विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । पछिल्लो समय सातै प्रदेशका मुख्यमन्त्रीहरु त्याे सहयोग थाप्न व्यस्त छन् । सहयोग थाप मात्र होइन उनीहरु कोरोनाको जोखिम कम गर्न विभिन्न ठाउँमा गएर नागरिकहरुलाई सचेतना सम्बन्धि सुझाव सल्लाह पनि दिइरहेका छन् । यसमा उनीहरुको प्रयास र सक्रियता अथक र अतुलनीय छ । कोरोनासँग लड्नको लागि विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुको योगदान र भूमिका चित्रण गरि नसक्नु छ । उनीहरुले कोरोना भाइरससँग जुध्ने र यसको सावधानी अपनाउनका लागि विभिन्न उपायहरु बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि मानिसहरुलाई पटक–पटक हात धुन र पुरै मुख छोपिने गरी माक्सको प्रयोग गर्न आम नागरिक सबैमा अनुरोध गर्दै आएको छ । तर, यसकै सल्लाह सुझावलाई अवलम्बन गर्दै आम नागरिकलाई सचेतना गर्न हिडेका र प्रदेशको अभिभावकत्व भूमिका निर्वाह गरिरहेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिका भने हास्याँस्पद देखिन्छ । भलै उनीहरुले एक पटक मात्र त्यसरी माक्स लगाएका होलान् । तर, कोरोनाले एकछिनको लागि छुट है भनेर सर्नबाट पछि हट्छ र ? अब चित्रण गरौं सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाको । माक्स तल झारेर सहयाेग बुझ्दै प्रदेश एकका मख्यमन्त्री शेरधन राई । यो प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको तस्वीर हाे । उनी एक बैंका कर्मचारीसँग तस्वीरमा छन् । त्यो तस्वीरलाई हामी सहज अनुमान गर्न सक्छौं कि त्यो तस्वीर प्रदेशले कोरोना भाइरसको जोखिम न्युनिकरुणका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने बैंकका कर्मचारीसँगको हो । दुबै जनाले माक्स लगाएका छन् । तर, दुवै जनाले माक्स नाकभन्दा तल अर्थात चिउँडोमा राखेका छन् । अनुमान गरौं कि ती मुख्यमन्त्री राईले तस्वीर खिचाउँनका लागि मात्रै त्यो माक्स तल झारेका हाेलान । के तस्वीर खिचाउनका लागि भनेर कोरोनाले छुट दिन्छ र ? त्यतिखेर नजिकै कोरोना लागेको व्यक्ति छ भने कोरोना सर्न सक्दैन ? सहयोगको चेक थाप्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डित । यो तस्वीर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु पण्डितको हाे । उनीसँगै अन्य दुई चार जना व्यक्तिहरू छन् । यो तस्वीरमा पनि प्रदेश एककै जस्तो सहयोग लेनदेन भइरहेको छ । ती तस्वीरमा रहेका सबैले माक्स प्रयोग गरेका छन् । अझ मुख्यमन्त्री लालबाबु पण्डितले त एन ९५ माक्सको प्रयोग गरेका छन् । जुन कोरोना भाइरस नसर्नको लागि सुरक्षित मान्ने गरिएको छ । तस्वीरमा रहेका सबैको माक्स लगाउने तरिका राम्रै छ । उनीहरुले चिकित्सकहरुले भेन जसरी नै माक्सको प्रायोग गरेका छन् । तर मुख्यमन्त्रीले भने माक्स तल झार्दै तस्वीर खिचाइरहेका छन् । के उनको माक्सदेखि डराएर कोरोना उनी नजिक नआउला त ? माक्सबिना नै सहयाेग थाप्दै बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल । यो तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको हो । तस्वीरमा उनी पनि सहयोग थापिरहेका छन् । तस्वीरमा देखिएका सहयोगदाता निकै सुरक्षित देखिन्छन् । तर, मुख्यमन्त्री पौडेल भने बिना माक्स सहयोग थापिरहेका छन् । तस्वीर उनकै कार्यकक्षको जस्तो देखिन्छ । मानौं उनी कार्य कक्षमै भएपनि उनी सार्वजनिक मान्छे हुन् । उनलाई कोरोनाको डर नभएपनि उनले सर्वसाधारणका लागि भएपनि माक्सको लगाइदिनु पर्छ । सर्वसाधारणलाई माक्स लगाऊ, पटक पटक हात धौ भनेर निर्देशन दिने मुख्यमन्त्रीले माक्सको प्रयोग गर्नु पर्दैन ? माक्स तल झारेर सहयाेग थाप्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको तस्वीरु पनि ऋन्यको भन्दा फरक छैन । उनी पनि कार्यकक्षमै सहयोग थापिरहेका छन् । उनीसँगैका सहयोगदाताहरुले पनि माक्सको त प्रयोग गरेका छन् । तर, सबैले तल झारेका छन् । ती चार/पाँच जनामध्ये एकजनामा कोरोना यदि भएको भए कोरोनाको संक्रमण विस्तारको अवस्था के होला ? माक्स तल झारेर नै सहयाेग थाप्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पाेखरेल । यी हुन् प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल । यिनको तस्वीर पनि अरुको भन्दा कम छैन । बरु उनलाई सहयोग गर्ने मान्छे राम्रो सचेत भएको तस्वीरले प्रष्ट्याउँछ । तर, उनी भने निडरले माक्स तल झारेर तस्वीर खिचाइरहेका छन् । कि मुख्यमन्त्री सम्झेर नै कोरोना डराउँछ ? हुन, सक्दैन विदेशमा मन्त्रीदेखि उच्च पदस्थका व्यक्तिहरुलाई कोरोनाको संक्रमण भएका समाचारहरु हामीले नै पढेका र सुनेका छौं । माक्सबिनै अनुगमनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । यी हुन् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरमा उनी एक हेल्थ डेस्क अर्थात ज्वरो नाप्ने ठाउँमा अनुगमनमा पुगेको जनाउँछ । तर, यसरी बढी संक्रमणको आशंकामा रहेर ज्वरो नाप्ने ठाउँमा गएका मुख्यमन्त्री शाही बिना माक्समा छन् । मानौं उनी कोरोनादेखि डराउँदैनन् । तर, आम सर्वसाधारणले उनीबाट के सिक्ने ? के कर्णालीमा कोरोना पुगेको छैन भनेर मुख्यमन्त्री शाहीले तस्वीरबाट देखाउन खोजेका हुन् । जम्बाे टाेली र सामाजिक विकास मन्त्रीसहित अनुगमनमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट । मन्त्री सुवेदी र भट्ट दुवैले माक्स तल झारेका छन् । अब सुदूरपश्चिमको कूरा गरौं । तस्वीरमा सुदूरपश्चिमका मुुख्यम्नत्रीसहहितको जम्बो टोली छ । सरकारले एक व्यक्ति अर्को व्यक्तिभन्दा एक दुई मिटर टाढा बस्नुस् भन्छ । यो टोलीले भने त्यो कूरा बिर्सेको तस्वीरबाट प्रस्ट पार्छ । अनि माक्स तल झारेर निरिक्षणमा हिँडेका छन् । आम सर्वसाधारणको सचेतनाका लागि फिल्डमा हिडेका उच्च र पदस्थ व्यक्तिहरुले माक्सको सही प्रयोग गर्नु पर्दैन ? अझ त्यो तस्वीरमा अर्को रोचक कूरा त के छ भने मुख्यमन्त्री भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बाहेका अरुले माक्सको सही प्रयोग गरेका छन् भने उनीहरु दुवै जनाले माक्सको दुरुपयोग अर्थात माक्स लगाउन जानेका छैनन् । के उच्च पदस्थ व्यक्ती देख्ने बित्तिकै कोरोना भाइरस डराउँछ र ? देश सर्वसाधारणका लागि खटिरहेका सातै प्रदेशका मुख्यमन्त्रीको खटाई र कामको हामी सह्राना गर्दछौं । तर, सचेतना जोगाउन र सल्लाह सुझाव दिन नागरिक सम्म पुग्ने यी मुख्यमन्त्रीहरुको माक्स लगाउने तरिकाबाट आम सर्वसाधारण नागरिकले के सिक्ने ?