अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ
काठमाडाैं । अमेरिकामा दुई जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई जना नेपालीमा काेराेना पुष्टि भएकाे हाे । कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको जानकारी दिइएकाे छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै बसिरहेका छन्। यस्तै, संक्रमित ४७ वर्षीय व्यक्तिले न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।
काेराेनाकाे शंकामा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु
काठमाडाैं । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पतालले जनाएको हाे ।
नेपालमा कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ । संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।