अब धरानको बीपी कोइराला अस्पतालमा पनि कोरोना परीक्षण गरिने

काठमाडौं । सरकारले अब पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना परीक्षण गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै बीपी कोईराला धरानमा पनि कोराना परीक्षण गरिने बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाएको बताए । मन्त्री ढकालले यससँगै सरकारले सातै प्रदेशमा छिटै नै काेराेना परीक्षण ल्याब संचालनमा ल्याउने जानकारी दिए । हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको छ।

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

लन्डन । वेल्सका राजकुमार चार्ल्स फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेकाे हाे । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् । त्यसैगरी उनकी पत्‍नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको बीबीसीले जनाएकाे छ ।

अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी, एक साता भित्र भित्र्याइसक्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनो विरुद्ध जुध्न घोषणा गरेको १ करोड रूपैयाँ सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो । स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ। पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो । संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन्। नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए । यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ । संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।