सुदूरपश्चिमबाट काेराेनाकाे आशङ्काका नमूना परीक्षणका लागि पठाउन समस्या
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट काेराेनाकाे आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि नमुना काठमाडौं पठाउन समस्या भएको हो । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौैं १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ । “लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उहाँले जानकारी दिए । “कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । “जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ । काठमाडौं बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौं नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो । मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए । अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ । रासस
सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग
काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।
कोरोना उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई बनाउने जिम्मा महाविर पुनलाई
काठमाडौं । कोरोना भाइरसको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने अत्यावश्यक सामाग्री सुरक्षा उपकरण बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको छ । काेराेना भाइरसको जाँच र उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट अर्थात पीपीई बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको हो । टिचिङ अस्पताल र विपि कोईराला ईन्स्टिच्युट अफ हेल्थ धरानबाट राष्ट्रिय आविस्कार केन्द्रकाे उपकरण बनाउने जिम्मा पाएको महाविर पुनले फेसबुक स्टाटसमार्फत बताएका हुन् ।