कोरोना भाइरस रोक्न जुट्यो फेसबुक !
काठमाडौं । आजभोलि संकटको समयमा सूचना लिन विश्वभरका करोडौं मानिस सामाजिक संजाल फेसबुकमा भर पर्छन् । अहिले विश्वका ७६ देश कोरोना भाइरससँग लडिरहेका छन् । नेपाल पनि विभिन्न कार्यक्रम स्थगन गरेर तथा कोरोना रोकथामको लागि विभिन्न उपाय अपनाएर सतर्क अवस्थामा छ । अहिलेसम्म विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ९३ हजारभन्दा बढी भएको पुष्टी भइसकेको छ भने करिब ३ हजार जनाले ज्यान गुमाइसकेका छन् । यस्तो परिस्थितिमा विश्वको सबैभन्दा धेरै मासिन आवद्ध रहेको सामाजिक संजाल फेसबुकले कोरोना भाइरस सम्बन्धी सही सूचना तथा जानकारी प्रवाह गर्न तथा सर्वसाधारणलाई आतंकित पार्ने भ्रमपूर्ण सूचना तथा जानकारी रोक्न के कस्तो पहल गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार उनको कम्पनी फेसबुक स्वास्थ्य अधिकारीहरुका साथ काम गरिरहेको छ । ‘कोरोना भाइरसका बारेमा सबैले सही सूचना तथा जानकारी प्राप्त गर्न सकून भनेर हामी प्रयास गरिरहेका छौं,’ जुकरबर्गले भनेका छन् । उनका अनुसार जब कुनै फेसबुक प्रयोगकर्ताले फेसबुकमा कोरोना भाइरस शब्द खोज्ने वित्तिकै सो व्यक्तिले एउटा सन्देश देख्नेछ र धेरै जानकारी प्राप्त गर्नको लागि विश्व स्वास्थ्य संगठन वा स्थानीय स्वास्थ्य विभागको फेसबुक पेजमा लैजान्छ । यसको साथै फेसबुकले आफ्नो पेजमा विश्व स्वास्थ्य संगठनको विज्ञापनका लागि स्थान निःशुल्क उपलब्ध गराएको छ । जुकरबर्गका अनुसार उनको कम्पनीले कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि पहल गरिरहेका अन्य संस्थाहरुको फेसबुक पेजमा लाखौं रुपैयाँको विज्ञापन दिने भएको छ । सोसल मिडियामार्फत आउने अफवाह तथा गलत जानकारी रोक्नका लागि फेसबुकले काम गरिरहेको जुकरबर्गको भनाइ छ । जुकरबर्गका अनुसार फेसबुकमा आफ्नो अनुभव सेयर गर्ने अधिकार सबैलाई छ । तर, गतल जानकारी तथा विभिन्न खालका अड्कलबाजी भने फेसबुकबाट हटाइएको छ । संकटको बेलामा व्यक्तिगत लाभ लिन खोज्ने कम्पनीका विज्ञापन पनि फेसबुकले ब्लक गरिरहेको छ । ‘कोरोना भाइरसको पूर्ण उपचार’ भन्ने जस्ता विज्ञापन फेसबुकले पूर्ण रुपमा ब्लक गरिरहेको छ । फेसबुक ग्रुपमा जे जस्तो कुराकानी भइरहेको छ, त्यस्ता कुराकानीको विस्तृत रुपमा हेर्न र बुझ्न सक्नु नै कम्पनीको लागि सबैभन्दा महत्वपूर्ण काम हुने जुकरबर्गको ठम्याइ छ । जुकरबर्गले बेलायतको ५जी ग्रुपमा भएको पोस्ट र कुराकानीलाई उदाहरणको रुपमा उल्लेख गरेका छन् । सो ग्रुपमा रहेको एउटा पोस्टमा एक व्यक्तिले ‘बेलायत युरोपियन युनियनबाट हट्ने विषयलाई विषयान्तर गर्न कोरोना भाइरसको बारेमा अफवाह फैलाइदैछ’ भनेर पनि लेखेका छन् । जुकरबर्गका अनुसार एक व्यक्तिले ‘कोरोना भाइरस–अ ग्लोबललिस्ट टूल’ नामक एक युट्युव भिडियोको लिंक पोस्ट गरेका थिए । यो प्रकारको विषयमा फेसबुकले आफ्नो लडाई अघि बढाउन एउटा बेग्लै प्लेटफर्ममा भर पर्नुपरेको छ । युट्युव पनि यस्तो प्रकारको भिडियो रोक्नको लागि प्रयास गरिरहेको भन्दै उनले अफवाह रोक्ने प्रयास निकै कठिनपूर्ण भएको बताए । युट्युव र फेसबुकमा राखिएका कतिपय भिडियाले कोरोना भाइरसका बारेमा झुटो सन्देश दिइरहेको जुकरबर्गको भनाई छ । अझ रोचक कुरा त के छ भने जुकरबर्गले केही दिन अगाडि युट्युवमा यस्तो एउटा भिडियो सन्देश देखे, जसमा एक व्यक्ति आफूलाई बेलायतती ५जी विरोधी अभियान संचालन गर्ने व्यक्ति हूँ भन्थे र उनले कोरोना भाइरसका बारेमा झुटो दाबी गरिरहेका थिए । सो भिडियोमा ती व्यक्ति एउटा रसियन पेन ड्राइभ विक्री गर्ने प्रयास गरिरहेका थिए । सो पेन ड्राइभको प्रयोगबाट ५जी तथा कोरोना भाइरस फैलनबाट रोक्न सकिने दाबी गरिएको थियो । सामाजिक संजाल युट्युवले पनि यस्तो प्रकारको भिडियो राख्नु आफ्नो नियमको उल्लघन भएको बताएको छ भने त्यस्तो भिडियो राख्नेलाई युट्युवले ब्लक गरेको छ । फेसमास्क जुकरबर्ग आफैले फेसबुक जस्ता सामाजिक संजालमा यो त्रासदीको लाभ उठाउने गरी तयार पारिएका विभिन्न प्रकारका विज्ञापन राखिएका भेटेका छन् । त्यस्ता विज्ञापनको आशय नै धेरै मूल्यमा सामान विक्री गरेर लाभ उठाउने रहेको छ । जुकरबर्गका अनुसार उनले एउटा यस्तो विज्ञापन पनि देखे जसमा ‘२९.९५ अमेरिकी डलरमा एउटा यस्तो पेस मास्क खरिद गर्न सकिन्छ, जसले सबै प्रकारका फ्लूबाट प्रभावकारी ढंगले बचाउँछ । किनकि यस्तो मास्कमा आधुनिक कार्बन फिल्टर जडान गरिएको हुन्छ ।’ केही विज्ञापनमा त ६५ देखि १०० डलरमा चीनबाट सोझै आयात गरिएको कोभिड १९ मास्क विक्री गर्ने दाबी गरिएको छ । केही फेसबुक ग्रुपका मोडरेटरहरु कोरोना भाइरससँग सम्बन्धित अफवाहको विरुद्ध लेखिरहेका पनि पाइएको जुकरबर्गको दाबी छ । स्टप ५जी युके ग्रुपका एक सदस्यले आफ्नो एक स्थानीय समुदायसँग सम्बन्धित ग्रुपमा ‘५जी या अन्य कुनै पनि विषयमा संचारमाध्यममा आएका खबर बाहेक यदि कुनै प्रकारको भ्रामक जानकारी पोष्ट गर्यो भने उसलाई सो ग्रुपबाट हटाइनेछ’ भन्ने सन्देश लेखे । फेसबुकमा भएका कतिपय ग्रुपहरु त कोरोना भाइरसका बारेमा आउने भ्रामक जानकारी विरुद्ध अभियान संचालन गर्ने भनिएका छन् तर वास्तबमा उनीहरु नै भ्रामक जानकारीलाई बढावा दिइरहेका छन् । जुकरबर्गका अनुसार सामाजिक संजालमा हुने गलत जानकारी तत्काल रोक्न मुस्किल छ । किनभने फेसबुकले सबै प्रयोगकर्तालाई आफ्ना निजी विषय पोष्ट गर्ने स्वतन्त्रता दिएको छ । अर्काे सामाजिक संजाल ह्वाट्स एप ग्रुपमा कोरोना भाइरसका बारेमा धेरै चर्चा भएको हुन सक्ने जुकरबर्गको भनाइ छ । (बीबीसी हिन्दीमा रोरी सेलन–जोन्सले तयार पारेको रिपोर्टको भावानुवाद)
कोरोना त्रासः राहत र उद्धारका लागि कर्पोरेट क्षेत्र छैनन् तयार
काठमाडौं । देशमा कुनै आपत-विपत परेको समयका लागि भनेर निजी तथा कर्पोरेट क्षेत्रहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बजेट छुट्टाइएको हुन्छ । नागरिकको भलाईका निम्ति उनीहरुले आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग पनि गर्छन् र गर्दै आएका पनि छन् । तर, यतिखेर भने कर्पोरेट क्षेत्र मौन छ । देशमा मात्र होइन, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले सबैमा त्रास ल्याएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिए पनि यसको त्रास भने नागरिकमा व्याप्त छ । सरकारले कोरोनाको जोखिमबाट बच्न र यसको न्यूनिकरणका लागि विभिन्न उपाय तथा सचेतनामुलुक सन्देशहरु जारी गरिरहँदा निजी क्षेत्र भने मौन देखिएको हो । उल्टै उनीहरु सरकारकै भरमा परेको धारणा राख्छन् । रोग लागेपछि उपचार गर्नु भन्दा पूर्व सतर्कता अपनाउनु नै उचित भन्ने उदाहरण नै छ । तर, निजी क्षेत्रहरु भने हाल नेपालमा कोरोनाको संक्रमण नदेखिएकोले आफुहरुले त्यस्तो कूनै उपाय तथा कार्य नसोचेको बताउँछन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले हालसम्म महासंघले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कूनै कार्य गर्ने नसोचेको बताए । तर, उनले अब छिट्टै बैठक राखेर के काम गर्ने भन्ने बारे निर्णय गर्ने बताए । मूख्य रुपमा महासंघको एसोसिएट मेम्बर्सले यो काम गर्ने उत्तरदायित्व भएको भएपनि हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । विश्वमा कोरोनाको संक्रमण भएर ३ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको अवस्थामा नेपालका कर्पोरेट क्षेत्र भने कोरोनाप्रति त्यति चिन्तित नभएको देखिन्छन् । यद्यपी उनीहरुले संस्थाले गर्ने सम्पूर्ण सार्वजनिक भेलाका कार्यक्रमहरु स्थगित गरेको बताउँछन् । यस्तै, नेपाल बैंकर्स् संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नागरिकका लागि भनेर संस्थागत हिसावले खासै केही काम नगरे पनि आन्तरिक तयारी र सूचना आदानप्रदान गर्ने काम भने गरिरहेका बताए । हालसम्म कुनै संक्रमण नदेखिएको कारण पनि के गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ । नेपालका सबैभन्दा ठूला निजी क्षेत्रहरुले यस्तो संकटको समयमा हुने समस्या तथा चूनौतीहरुलाई समाधान तथा सामना गर्नका लागि गर्नु पर्ने पूर्व तयारी गर्नु पर्ने अवस्थामा यी कर्पोरेट क्षेत्र भने कोरोना आउला र लागौंला भन्ने मनसायमा देखिन्छन् । उनीहरुले यसको पूर्व तयारी र नागरिकको जानकारी तथा सचेतनाका लागि कूनै पनि कार्य हाल सम्म गरेका छैनन् । नेपाल उद्योग परिसंघका महानिर्देशक यादव प्रसाद पौडेलको भनाइ पनि अन्य कर्पोरेट क्षेत्रको भन्दा कम छैन । ‘हामीले अहिले सम्म आन्तरिक केही काम गरेका छैनौं, नागरिक जागरुताका लागि नोटिस निकालौं कि भन्ने सोचका छौं, कोरोना हालसम्म नदेखिएकै कारण पनि केही गर्ने अवस्था छैन,’ पौडेलले भने । ‘कारोनाको संक्रमण नेपालमा छैन, हामीले नोटिस जारी गर्यो भने जनमानसमा भयानक होकी भन्ने भ्रम पनि हुन्छ, त्यस कारण पनि हामी रोकिएका छौं,’ उनले भने । परिसंघले गर्ने सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको उनको भनाइ छ । आफ्नो नेटवर्क भएको व्यवसायीसँग कूरा भइरहेको उनले बताए । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा भइरहँदा जनजीवन र विश्व अर्थतन्त्रलाई पनि नराम्रो तरिकाले असर परेको छ । यतिखेर नै विभिन्न सामान तथा वस्तुहरुमा ब्ल्याकमेलिङ पनि सुरु भएको छ । व्यापार व्यवसायका नाममा विभिन्न गिरोह यस्तो व्ल्याकमेलिङमा सक्रिय भएको छ । नेपालमा पनि पछिल्लो समयमा यस्तो गिरोह सक्रिय भएको देख्न सकिन्छ । मानिसमा कोरोनाको त्रास बढेसँगै यतिखेर मास्कको माग पनि बढ्दो छ । तर, त्यही गिरोहले माक्स लुकाएर यसको ब्ल्याक मेलिङ सुरु गरिसकेका छन् । पाँच रुपैयाँ पर्ने माक्सको ३०/४० रुपैयाँ पर्ने गरेको छ । अझ यसको अभाव छ भनेर सेवाग्राहीलाई ठग्ने काम पनि फष्टाएको छ । नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्य नै माक्समा ब्ल्याकमेलिङ भएको स्वीकार्छन् । हाल बजारमा कूनै सामानको अभाव नभएपनि यस्ता गिरोहको कारण बजारमा वस्तुको कृतिम अभाव देखाइएको उनी बताउँछन् । उसो त सरकारले त्यस्तो कार्य गर्ने विभिन्न फर्महरुलाई कारबाही गरी सकेको छ । अझैँ पनि त्यस्ता ब्ल्याकमेलिङ गर्ने गिरोहहरु प्रयाप्त छन् । आफुहरुको काम बजारमा वस्तु आपुर्ति गराउने भएको भन्दै कूनै कारण बाहेक उनले त्यस्ता सामान आयातमा कुनै समस्या नदेखाउने बताए । यसमा पनि सरकारले बढी सजग हुनु पर्ने उनको भनाइ छ । यो संकटको समयमा सबैले हातेमालो गरी कोरोनाको जोखिमबाट बच्ने हो । नेपाललाई कोरोना भाइरसको जोखिममुक्त पार्नु सरकार र सबै निजी क्षेत्रको उत्तरदायित्व उत्तिकै हुन्छ । नागरिकको स्वास्थ्य र प्रत्यक्ष जीवनसँग जोडिएको यो चुनौतिपूर्ण घडिमा निहित स्वार्थका लागि सामान तथा वस्तुमा ब्ल्याकमेलिङ गर्नु मानवता मान्न सकिँदैन ।
रुकुमका सबै गाउँपालिकामा १५ शैय्यका अस्पताल बन्दै
रुकुमपूर्व । रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै स्तरोन्नति गर्ने निर्णय भएको थियो । नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताए । अहिले सर्वसाधारण सामान्य उपचारका लागि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । “यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,” गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, “अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।” निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने उनले बताए । स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ । यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं. ५ को उक्त स्वास्थ्य चौकीलाई वडा नं. ६ मा लगिएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले सङ्घीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने जानकारी दिए । “सङ्घीय सरकारले अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य चौकी सूचीकृत गरेको खबर आएको छ,” अब औपचारिक रूपमा गाउँपालिकामा जानकारी आएपछि गाउँ कार्यपालिकाका तर्फबाट पनि आवश्यक निर्णय तथा सिफारिसको काम हुने उनले बताए । रासस