प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडाैं । मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका  थिए ।

कोरोनाबाट बच्न स्वास्थ्य बीमा गर्न सकिन्छ ? यसो भन्छ बीमा समिति

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । विश्व संकट निम्त्याउने हैसियत राखेको कारोनो भाइरसबाट बच्चको लागि स्वाथ्य बीमा भने नहुने बीमा समितिले जानकारी दिएको छ । महामारीको बीमा नहुने भएको कारण कोरोना विरुद्ध बीमा गर्न नसकिने समितिको भनाइ छ । रोग लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिने कम्पनीहरुमा महामारीको बीमा योजना नहुने समितिको भनाइ छ । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बीमा मार्फत सुरक्षा प्राप्त गर्न नसकिने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको सिद्धान्तले महामारीलाई नसमेटने बताए । ‘विश्वव्यापी बीमाको सिद्धान्त अनुुसार बीमाले महामारीलाई समेट्दैन, अन्य रोगको हकमा भने बीमा कम्पनीहरुले सुरक्षण दिँदै आएका छन्,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । बीमा कम्पनीहरुले घातक रोगको बीमा योजना संचालन गरिरहेका छन् । कोरोना भाइसको लागि मात्रै भनेर बिमितले कुनै किसिमका लाभ पाउँदैनन् । बीमा गराउँनु पूर्व जाँचिन्छ यी २ कुरा बीमा गराउँनुपूर्व बीमा कम्पनीहरुले व्यक्तिको आर्थिक अवस्थाको तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन् । आर्थिक अवस्थाको मूल्याङ्कनपछि मात्रै व्यक्तिले बीमा गर्न पाउँछन् । त्यस्तै, स्वस्थ मानिसको मात्र बीमा हुने गर्छ । व्यक्तिको स्वाथ्यस्थिति चेकजाँच गरेर मात्र बीमा हुने समिति बताउँछ । व्यक्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा बीमा हुँदैन । कुनै किसिमका बीमा गर्नुपूर्व उक्त व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइसको चर्चा जताजतै सुन्न सकिन्छ । नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग अहिले विश्वका विभिन्न ठाउँमा देखिन थालेसँगै मानिसमा त्रास बढेको छ । बीमाले जोखिममा आर्थिक सुरक्षण दिने भएकाले पछिल्लो समय कोरोना भाइसको बीमा गर्न मिल्ने कि नमिल्ने भन्ने चासो धेरैमा छ । महामारीको बीमा नहुने भएकोले यस्तो जोखिमबाट बच्न शतर्कता अपनाउनु पर्ने समितिको भनाइ छ ।

कोरोनाको जोखिमप्रति सजग रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो । यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न शुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्वारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ । साथै, विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी पालना गर्न बैंकले अनुरोध गरेको छ ।