मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर सहित)
काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। समितिले मेडिकल कलेजको गुण्डागर्दीको विरोध गर्दै चिकित्सक सुरक्षाको माग पनि राखेका छन्। उनीहरूले सरकारलाई मेडिकल कलेजलाई कारबाही नगरी चुपचाप बसी मेडिकल माफियाहरुलाई साथ दिँदै उनीहरुको गूण्डागर्दी प्रति गम्भिर नभएको आरोप लगाएकाे छ। तोकेको निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले विरोध जनाउँदै आएको छ।
चिकित्सा शिक्षा आयोगले पायो पूर्णता, निर्देशकमा आवेदन आह्वान
काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचना अनुसार निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित यही कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनिएको छ । ती चारवटा निर्देशनालयमा मापदण्ड तथा प्रत्यायन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । ती पदका समयावधी चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’, ऐनको प्रावधान रहेको छ । निर्देशक पदको नियुक्ति प्रक्रिया शुरु गरेको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्ष समक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले सोमबार पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकोमा उपकुलपति मध्येबाट त्रिभुवन विश्व विद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेशागत सङ्गठनका अध्यक्षमध्येबाट अध्यक्ष एशोसियशन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ सङ्घ रहेका छन् । यसैगरी, आयोगका सदस्यमा नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिलासहित दुईजनामा डा. रमेशकान्त अधिकारी, डा. गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिलासहित तीन जनामा प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. शैंली प्रधान, प्रा. डा. जगदीश अग्रवाल रहेका छन् । रासस
काठमाडाैंमा ‘मानव र पृथ्वीलाई पोषित गरौं’ भन्ने नारासहित अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ । काठमाडौं स्थित होटेल याक एण्ड यतिमा सोमबार साँझ उद्घाटन भएको सो सम्मेलन संयुक्त राष्ट्र संघ र राष्ट्रिय योजना आयोगको सहकार्यमा कात्तिक २१ गतेसम्म हुनेछ । सम्मेलनमा १२ सय जनाको सहभागिता रहेको सो सम्मेलनमा आइभोरीकोष्टका उपराष्ट्रिपति, राष्ट्रिय योजना आयोेजकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी तथा कार्यकारी निर्देशक उपस्थिति रहेको थियो । राष्ट्रिय योजना आयोगकी सदस्य डा.उषा झाले विश्व व्यापी रुपमा पोषणलाई विस्तार गरी कुपोषण हटाउनका लागि नेपालले आगामी दिनमा सरकारी, प्रदेश, स्थानिय स्तरमात्र नै जनचेतना तथा विभिन्न गैरसरकारी क्षेत्रसँगको सहकार्यमा काम अगाडी बढाउने बताईन् । पछिल्ला दिनमा सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइ, निरक्षरता उन्मुलन, कृषि क्षेत्रमा आधुनिकिकरण भित्रिएसँगै कुपोषणमा कम हुँदै जाने र यसका लागि सरकारी निकाय तथा गैरसरकारी एवंम स्थानिय तहसँगको सहकार्यमा पोषण युक्त राष्ट्रको नेपाल हुने समय नलाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा.पुष्पराज कडेलले बताए । सम्मेलनमा विशेषगरी कुपोषणको अन्त्य कसरी गर्ने भन्ने विषयमा आधारित रहि विश्वभरीका देशहरुले गर्दै आएको महत्वपूर्ण प्रयासको बारेमा छलफल भईरहेको छ । त्यस्तै आगामी वर्ष ‘वृद्धिका लागि पोषण’ टोकिया शिखर सम्मेलन जापानमा आयोजना हुने जानकारी दिएका छन् ।