गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।

चिकित्सकको नाम दर्ता परीक्षामा उत्तीर्ण भए ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स

काठमाडौं । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित सो परीक्षामा तीन जना चिकित्सक अनुपस्थित रहेका थिए । यसैगरी, नेपाल नर्सिङ परिषद्ले शनिबार नै लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्सिङ इक्जामिनेशनमा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । परिषद्का अनुसार सो परीक्षामा एक हजार ५०१ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ५२६ जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा. गोमा निरौलाले यसपटकको परीक्षामा अपेक्षाकृत नतिजा नआएको तर यसैका आधारमा नर्सिङको शैक्षिक गुणस्तर खस्केको भन्न नमिल्ने बताए । रासस

ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।