अनुगमनमा भेटिए म्याद नाघेका औषधि तथा खाद्यवस्तु
काठमाडौं । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताएका छन् । अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा, चिप्सलगायतका खाद्यवस्तु म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा सङ्कलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत बनाइएको गाउँपालिकाले जनाएको छ । म्याद नाघेका खाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एकपटकलाई व्यापारीलाई सचेत गराएको बताउँदै आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने जनाएको छ । रासस
गरिमाका ग्राहकलाई ग्राण्डीमा विशेष छुट
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलले विशेष छुट दिने भएको छ । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।
मिर्गौला पीडितले पाउने भए निर्वाह भत्ता
काठमाडौं । इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महिनादेखि उपलब्ध गराउने जानकारी दिएका छन् । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पुर्याउन यो कार्यक्रम ल्याएका हौँ”, उनले भने । यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताएका छन् । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताएका हुन् । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । रासस