एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनैपनि किसिमको बीमा लेख लिएका वीमितले काठमाडौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा १०% सम्म छुट पाउने छन् ।

प्रसुति गृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनर्निर्माण गरिएको हो । प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया छन् । प्रसुति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । प्रसुति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भइरहेको बताए । यता, वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्ड लगायत हुनेछन् । पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको अझ राम्रो र बलियोको अवधारणा अनुसार स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण भइरहेको बताए । उनले सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा व्यक्त गरे । वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का पुनस्र्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको स्युकाहाराका अनुसार प्रसुति गृह र वीर अस्पताल पुननिर्माणको लागत दुई अर्व १० करोड रुपैयाँ (२.४ बिलियन जापनी यन) छ ।

एनआईसी एशियाका ग्राहकलाई नोबेल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट पाउने छन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।