एनआईसी एशियाका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने छन् । एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवम् क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्ने जनाइएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरेका छन् ।
गंगालाल बालिका मृत्यु प्रकरण : स्वास्थ्य मन्त्रालय मौन, उजुरी लिन मान्दैनन् प्रहरी
काठमाडौं। मुटु रोगको उपचारको क्रममा गलत रगत चढाएको कारण ज्यान गुमाएकी बालिकाको बुवाले चिकित्सकको लापारवाहीको कारण आफ्नो छोरीले ज्यान गुमाएको भन्दै छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका गलत रगत उपचारको क्रममा गलत रगत चढाएको कारण वैशाख २३ गते मृत्यु भएको थियो। बालिकाको बुवा रामप्रवेश साहले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे। उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’ शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ।’ आफूहरुले स्वास्थ्य मन्त्रालयमा न्याय पाउँ भनि हारगुहार समेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे । आकृतिको मृत्यु भएको १० दिन भइसक्दा पनि रामप्रवेश र पिङ्कीले छोरीको मृत शरीर देख्नसम्म पनि पाएका छैनन् । छानबिनका लागि बालिकाको परिवारले १० दिनदेखी सरकारी कार्यालय धाउन थालेको भएता पनि अहिलेसम्म कुनै पनि सरकारी कार्यालयबाट सहयोग भने भएको छैन।
अब चितवनमै कलेजो प्रत्यारोपण सम्भव, पुरानो मेडिकल कलेजले पायो अनुमति
काठमाडौँ । काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यका बाहिर चितवनबाट पनि हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज(कलेज अफ मेडिकल साइन्स नेपाल)लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो । समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने उल्लेख छ । पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो । समितिले दरखास्तको जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदन समेतको आधारमा मानव शरीरको अंग प्रत्यारोपण –नियमि¬त तथा निषेध) निर्देशिका, २०७५ को दफा ३ को उपदफा (२), खण्ड ‘ग’मा उल्लेख गरिएअनुसार कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । सन् २०१५ अप्रिल २५ मा पुरानो मेडिकल कलेजले र्मिगौला प्रत्यारोपण गर्ने अनुमति पाएर सफल मृगौला प्रत्यारोपण समेत गरी सकेको छ । सन् २०१५ मै मुटुको सफल ओपन हर्टसर्जरी समेत पुरानो मेडिकल कलेजले गरिसकेको छ । अब पनि मृगौला प्रत्यारोपण र ओपन हर्टसर्जरीलाई निरन्तरता दिईने अस्पतालले जनाएको छ । अबको एक दुई महिना भित्र नै कलेजले प्रत्यारोपणको लागि उपयुक्त बिरामीहरु छनोट गरी प्रत्यारोपण कार्य अगाडि बढाइने तथा शुरुको समयमा कलेजले प्रत्यारोपणमा सहयोग गर्नका लागि विश्वविख्यात कोरियन टोली र भारतीय चिकित्सक सहितको टोली आई प्रत्यारोपण गरिने अस्पताल स्रोतले बताएको छ ।