सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने
काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ । चैत १ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ । यसअघि सनराइज बैंकले भारत स्थित अपोलो, बीएलके सुपर स्पेशालिटी र नानाभाटी हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने छन् ।
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते, ६ जनाको वयोधा अस्पतालमा उपचार हुँदै
काठमाडौँ । पुरानो वसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी २४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा चाल्नाखेल स्थित हात्तीवनमा सो बस दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्ये हाल ६ जनाको बल्खु स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पुगेका १५ जना मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले भर्ना गरेर उपचार भइरहेको हो । बाँकी ९ जना सामान्य उपचार पछि घर फर्किएको बयोधा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शशी झाले बताए । हातको हड्डी भाँचिएको र टाउकोमा समेत चोट लागेकाले माइती थिङ, मञ्जु भट्टराई र अजय महर्जनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसीयूमा राखेपनि उनीहरुको अवस्था गम्भीर नभएको डा. झाले बताए । बाँकी ३ जनाको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।
घातक रोगको उपचारका लागि सिटिजन लाइफले गर्यो ५ लाख भुक्तानी
काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथमणि खड्काले हरिसिंह ठकुरीलाई सो चेक प्रदान गरे । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवम् छिटो दाबी गरिएको थियो ।