दक्ष जनशक्ति नहुँदा नागढुङ्गा सुरुङ सञ्चालनमा आएन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने
काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवं सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्य बोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिन्छ । सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
पोखरा-बागलुङ राजमार्गको वैकल्पिक सडक जोखिमपूर्ण
काठमाडौं । पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी-खौला-कार्कीनेटा सडक खण्ड निर्माण व्यवसायीको लापरबाहीले जोखिमपूर्ण बनेको छ । पोखरा-बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौं सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी-ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारी साधन बाटैमा अलपत्र परेका हुन् । वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारी साधन जान सकिरहेका छैनन् । सवारीसाधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीलाई समेत समस्या भएको स्थानीय मिलन पौडेलले जानकारी दिए । हिलो हुने समयमा भइरहेको सोलिङ उप्काएर ढुङ्गा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका-१२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उनको आरोप छ । ‘हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन । कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ,’ उनले भने । स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिक रूपमा कुश्मा, पोखरालगायत ठाउँमा जाने र आउने सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ । निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेका उनले बताए । सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटकपटक निर्देशन दिएको बताए । ‘हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर निर्माण व्यवसायीले अटेरी गर्दा यस्तो समस्या आएको हो, त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दबाब दिनुपर्छ,’ उनले भने । सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् । पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट ५ करोड ८० लाख रुपैयाँमा ५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको हो । उक्त सडक यस आवमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशतमात्र काम भएको छ । सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ ।
काठमाडौंको ५० वर्षे शहरीकरण गुरुयोजना बनाउन सरकारको तयारी
काठमाडौं । सरकारले काठमाडौंको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । वागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताए । ‘अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोही बमोजिम शहरलाई सुन्दर बनाउन ढल, विद्युत, खानीपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रुपमा बनाएर सोही बमोजिम काम अगाडि बढाउन लागेका छौं,’ मन्त्री घिसिङले भने, ‘नदी सफा नभएसम्म शहरी सौन्दर्य कायम हुन सक्दैन, यसका लागि ठूलो लगानी आवश्यक छ, त्यसैले नदी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थायी सरकार मिलेर संयुक्त रुपमा नदी सफाइ व्यवस्थापनको काम गर्न जरुरी छ ।’ उपत्यकाका नदीनाला सफा भएर नुहाउन सक्ने अवस्था नबनेसम्म शहर सफा हुन नसक्ने उल्लेख गर्दै उनले नदीलाई सफ राख्न जनस्तरबाट सञ्चालन गरिएको महाअभियानलाई धन्यवाद दिए । बागमतीमा जम्मा भएको फोहोर निकाल्ने मात्र नभई मानिसको मन सफा गर्ने उद्देश्यका महाअभियान सञ्चालन गरिएको उल्लेख गर्दे प्रमुख अभियन्ता पूर्वमुख्य सचिव लिलामणि पौड्यालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई शहरीकरणका अन्य काममाभन्दा योजनावद्ध रुपमा ढल निर्माण र प्रशोधनमा केन्द्रीत गराउन सुझाव दिए । समितिले सन् २०२५-४५ कार्ययोजना तयार गरेको छ । कार्य योजनामा जलस्रोत संरक्षण र सम्वर्धन गरी नदीहरुमा पानीको मात्र बढाउने, जैविक विविधता संरक्षण गर्ने, दिगो शहरी विकास गर्ने, पानीको गुणस्तर र मात्रामा सुधार गर्ने, नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गर्नेलगायतका उद्देश्य राखिएका छन् । कार्ययोजना कार्यान्वयन गर्न करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।