नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने इप्पानको घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेनजी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त एकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो ।  प्रधान न्यायधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त  भएकोमा  खुशी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रको लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुको लागि कार्कीको  कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ ।  इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए । ‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौ, अहिलेको अवस्थामा देशको पुर्ननिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौ,’ उनले भने ।  अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताउँदै ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिईरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको बताए ।  

२० हजार लाइसेन्स र ६ लाख बढी इम्बोस्ड नम्बर प्लेट जले, सेवा लिन दुई महिना लाग्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था विभाग जलेर नष्ट भएको छ ।  आगजनीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिनलगायत अन्य सामाग्री जलेर ध्वस्त भएको विभागले जनाएको छ ।  अहिले जीर्ण अवस्थामा रहेको भवन मर्मत गरेर चलाउन सक्ने अवस्था नरहेको  विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले जानकारी दिए । विभागका अनुसार करिब २० हजार लाइसेन्स वितरणका लागि राखिएको थियो। यादवले लाइसेन्ससहित इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छाप्ने मेसिन जलेर ध्वस्त भएको जानकारी दिए । विभागबाट लिने सेवा सुरु हुन अझै दुई महिना लाग्नसक्ने उनले बताए ।  यसअघि विभागले तत्काल लाइसेन्स आवश्यक पर्नेलाई निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । अहिले भने वैदेशिक रोजगारीमा जाने तथा सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ  ।  विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाइ गर्ने मेशिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको हो । विभागले असोज १ बाट नयाँ दर्ता, नवीकरण र नामसारी गर्दा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो ।  विभागका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएका थिए । त्यसमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै थियो । ६ लाख १९ हजार इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएको विभागको भनाइ छ  ।  विभागका अनुसार साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो  ।  अहिले कोशीबाहेक बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णालीका लागि नम्बर प्लेट तयार थियो । यसमध्ये थोरै संख्यामा मात्र पठाइएको थियो  । यस्तै, विभागका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर नष्ट जलेका छन् । 

भाटभटेनीका १२ वटा स्टोर ध्वस्त, ९ वटामा लुटपाट

काठमाडौं । जेनजीका नाममा भदौ २४ गते अराजकबादीले गरेको आगलागीबाट भाटभटेनी सुपरमार्केट्सका १२ वटा स्टोर ध्वस्त भएका छन् । घण्टौसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुनर्निर्माण गर्नुपर्ने गरी नष्ट भएको बताइएको छ ।  कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । ७ वटा स्टोर भने सुरक्षित रहेका छन् ।  उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको प्रारम्भिक अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए । भाटभटेनी सुपरमार्केट्स नेपालको सबैभन्दा ठूलो रिटेलर हो । जेनजी पुस्ताको सपिङ डेस्टिनेसन बनेको भाटभटेनीमाथि जेनजीकै नाममा अराजकवादीहरुले तोडफोड, लुटपाट र आगजनी गरेको हो ।