असारे झरीमा बल्ल सकियो बस्ती स्थानान्तरणको अध्ययन, सुरक्षित ठाउँमा सार्ने टुंगो छैन

काठमाडौं, ८ असार । भूकम्पपछिको दोश्रो झरी सुरु भैसक्दा सरकारले भर्खरै बस्ती स्थानान्तरणको अध्ययन सम्पन्न गरेको छ । भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुको अध्ययन गर्न खटिएको टोलीले ११ जिल्ला घुमेर भर्खरै काठमाडौं आइपुगेको हो । ‘काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका ११ जिल्लामा बस्ती स्थानान्तरणको अध्ययन गर्न बिशेषज्ञ टोली परिरचालन गरिएको थियो, रिपोर्ट आएको छ, अध्ययन गरिरहेका छौं’, खानी तथा भूगर्भ विभागका उप महानिर्देशक सोमनाथ सापकोटाले भने । कुन जिल्लाका कति बस्ती उच्च जोखिममा देखिए त ? भन्ने प्रश्नको जवाफमा उप महानिर्देशक सापकोटाले भने–‘पहिले धेरै बस्ती सार्नु पर्ने प्रतिवेदन आएको थियो तर अहिले त्यो संख्या घटेको छ, हामी प्रतिवेदन तयार गर्दैछौं, संख्या एकिन भैसकेको छैन ।’ सापकोटाका अनुसार भूकम्पका कारण धेरै बस्ती सार्नु पर्ने अवस्थामा छैनन् । डाडापाखाका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नु पर्ने उनको भनाई छ । ‘पहिले देखि नै बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका थिए, भूकम्पपछि त्यो जोखिम अझै बढेको छ, तर भूकम्पिय जोखिमकै कारण त्यति धेरै बस्ती सार्नु पर्ने अवस्थामा छैनन्’, उप महानिर्देशक सापकोटाले भने । के भन्छ पुरानो प्रतिवेदन ? राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन पुर्व राष्ट्रिय योजना आयोगले १८ जिल्लाका १८८ गाबिसका ४७५ बस्ती सार्नु पार्ने रिपोर्ट तयार गरेको थियो । ती बस्तीमा १९ हजार एक सय घरधुरी थिए । तर सांसदहरुले हचुवाका भरमा रिपोर्ट आएको भन्दै बिरोध गरे । जनप्रतिनिधीको बिरोधपछि त्यसको लामो समयपछि बल्ल अध्ययनका लागि टोली खटिएको थियो । सो टोलीले जिल्ला विकास समिति, भू–संरक्षण कार्यालय र स्थानिय जनप्रतिनिधीसँगको सहकार्यमा भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुको अध्ययन गरेको बताएको छ । सो अध्ययनले तयार पारेको रिपोर्टका आधारमा सरकारले बस्ती स्थानान्तरणको काम अघि बढाउनेछ । ‘कुन कुन बस्ती स्थानान्तरण गर्नु पर्ने हो, त्यसको अध्ययन रिपोर्ट आएपछि बस्तीको डिजाईन र पुर्वाधार निर्माण सुरु हुन्छ’, शहरी विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरी शर्माले विकासन्युजसँग भने । कहाँ सार्ने भन्ने विवाद कायमै भूकम्पको यति लामो समयसम्म सरकारले कुन कुन बस्ती सार्नु पर्ने हो र कहाँ सार्ने भन्ने टुंगो लगाएको छैन् । कुन कुन बस्ती सार्नु पर्ने भन्ने एकिन त तत्कालै लग्ला तर कहाँ सार्ने भन्नेबारे पनि अझै विवाद हुने देखिएको छ । सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले सम्बन्धित गाबिसकै आसपासमा बस्ती सार्नु पर्ने बताए । तर धादिङका सांसद गुरु बुर्लाकोटीले भने जोखिमयुक्त बस्तीहरुलाई अन्य जिल्ला वा आवश्यक पर्दा तराईमा सार्नु पर्ने बताए । लाप्राक बासीलाई गुप्सीपाखामा हालसम्म गोरखाको लाप्राकमा रहेको ६५० घरधुरीलाई गुप्सी पाखामा सार्ने सैद्धान्तिक सहमति भएको छ । त्यसकै आधारमा गैर आवासिय नेपाली संघ(एनआरएन)ले एकिकृत बस्ती विकासको काम अघि बढाएको छ । के के हुन्छन बस्तीमा ? स्थानान्तरण गरि निर्माण गरिएका बस्तीहरुमा विद्यालय, खुल्ला मैदान, बगैचाँ, स्वास्थ्य संस्था, खानेपानी, ढल निकास लगायतका आधुनिक सुबिधाहरु हुनेछन् ।

एक वर्षभित्र पर्याप्त खानेपानी आपूर्ति गर्ने निर्णय, थप २२ हजार धारा विस्तार गरिने

इटहरी, ८ असार । इटहरी साना सहरी खानेपानी तथा उपभोक्त संस्थाले एक वर्षभित्र विस्तारित उपमहानगरपालिका क्षेत्रका जनतालाई पर्याप्त आपूर्ति गर्ने उद्देश्यले पुनर्सवलीकरण आयोजना अघि बढाएको छ । उपभोक्त संस्थाले साढे २३ करोड रुपैयाँको लगानीमा हालको इटहरी उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ५ मा तीन वटा ठूला पानीट्याङ्कीबाट एक करोड ५० लाख लिटर प्रतिघन्टा पानी वितरण गर्दै आएको छ । आयोजनामा कार्यान्वयन भएपछि आगामी आर्थिक वर्ष २०७३/०७४मा २४ सै घन्टा स्वच्छ खानेपानी आपूर्ति गर्न सकिने संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईंले जानकारी दिए । खानेपानी पुनर्सवलीकरण आयोजनाले थप चार वटा डिप बोरिङबाट पर्याप्त पानी निकालेर ट्याङ्कीमा आपूर्ति गर्न रु १२ करोड १२ लाख ६९ हजार ६१९ को लागतमा सफा पानी निकाल्ने आयोजना अन्तिम चरणमा पुगिसकेको उनले बताए । हाल इटहरी उपमहानगरपालिकामा दैनिक एक करोड लिटर पानीको माग छ । तर आयोजना सम्पन्न भएपछि इटहरी साना सहरी खानेपानी उपभोक्ता संस्थाले दैनिक एक करोड ७५ लाख लिटर पानी ट्याङ्कीमा भन्डारण गरी त्यतिकै परिमाणमा आपूर्ति पनि गर्नसक्ने अवस्था सिर्जना हुनेछ । संस्थाले ३५० किलोमिटर पाइप लाइनमार्फत हाल १२ हजार धारा वितरण गरिरहेको संस्थाले एक वर्षभित्र हालको धारासहित २२ हजार खानेपानीका धारा विस्तार गरिसक्ने योजनामा छ । रासस

अबरुद्ध भएको मुग्लिन सडक पुन दुईतर्फी सञ्चालनमा

चितवन, ८ असार । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध भएको थियो । दोस्रोपटकको पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फीनै सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “पहिलेको पहिरो पन्छाउने बित्तिकै फेरि अर्को पहिरो आयो, त्यो पहिरो तत्कालै हटाएर बाटो सञ्चालन गरियो” कुँवरले भने, “अहिले दुईतर्फी नै गाडी चले पनि गाडीको चाप बढी भएकाले सहज हुन अझै केही समय लाग्छ ।” बिहानदेखि अबरुद्ध भएको प्रहरीका अनुसार एकदुई घन्टामा जाममा परेका सबै सवारी गन्तव्यतर्फ गइसक्ने छन् । यहाँ दैनिक सात हजार बढी सवारी आवतजावत गर्छन् । रासस