टक्सार पिखुवाले पायो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र, कार्बन व्यापारमा सूचिकृत
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस उपलब्धिसँगै कम्पनी कार्बन व्यापारमा सूचिकृत हुने नेपालको पहिलो जलविद्युत् आयोजना बनेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कम्पनीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । मंगलबार सम्पन्न इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टक्सार पिखुवालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले अब छिट्टै कार्बन व्यापार वापतको राजस्व पनि प्राप्त गर्नेछ । टक्सार पिखुवा खोला जलविद्युत् आयोजना, भोजपुरमा ८.५ मेगावाट क्षमतासहित सञ्चालित छ, जसले २०७७ सालको चैतदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ । नेपालकै पहिलो कार्बन व्यापारमा सूचिकृत आयोजना बन्न सफल टक्सार पिखुवा अब स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्यसाथ अघि बढिरहेको कम्पनीले जनाएको छ ।
इप्पान 'ऊर्जा ज्योति सम्मान' वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई
काठमाडौं । यस वर्षको 'ऊर्जा ज्योति सम्मान, २०८२' बाट वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने एक जनालाई हरेक वर्ष ऊर्जा ज्योति सम्मानबाट सम्मानित गर्दै आएकोमा यस वर्षको सम्मान अधिकारीले पाएका हुन् । मंगलबार इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जामन्त्री दिपक खड्का, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, इप्पान अध्यक्ष गणेश कार्की र ऊर्जा ज्योति सम्मानका संस्थापक इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंलगायतका अतिथिहरु माझ अधिकारीलाई नगद रु १ लाख रुपैयाँको चेक र सम्मानपत्रसहित सम्मानित गरेका हुन् । इप्पानका पूर्वअध्यक्ष गुरागाईंले उनकी स्व. छोरी श्रीनिका गुरागाईंको स्मृतिमा वि.स.२०७६ सालमा 'ऊर्जा ज्योति सम्मान' स्थापना गरेका थिए । कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई इप्पानको साधारणसभाको अवसर पारेर हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ । नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए । विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन् । सार्वजनिक पदमा नरहँदा पनि निजी क्षेत्रलाई संकुचित बनाउने गरि चालिएका विभिन्न सरकारी कदमको तर्क र तथ्यसंगत खण्डन गर्दै ऊर्जा विकासमैत्री वातावरणकालागि निरन्तर खबरदारी गरिरहने व्यक्तिकोरुपमा अधिकारी निजी क्षेत्रमाझ परिचित छन् । सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले नेपालको ऊर्जा विकासमा छोटो समयमै अभूतपूर्व नतिजा दिएको निजी क्षेत्रको छाता संस्था इप्पानले गरेको सम्मानबाट ऊर्जा क्षेत्रमा थप क्रियसिल रहन उत्प्रेरित गरेको बताए । 'पूर्वप्रधानमन्त्री देउवाको हातबाट नगद एक लाख रुपैयाँ सहितको 'इप्पान उर्जा ज्योती सम्मान २०८२' ग्रहण गर्दै गर्दा विद्युत क्षेत्रको विकास र प्रबर्द्धनमा थप उत्साहित भइ समर्पित भैरहने प्रेरणाका साथ गौरवान्वित महसुस गरेको छु,' अधिकारीले भने । उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै उर्जा विकास मार्फत देशको सामाजिक ( आर्थिक रुपान्तरणसहितको समृद्धि हासिल हुने बिश्वास व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाहरुको साथ, समर्थन र योगदान महत्वपूर्ण रहने पनि बताए । 'खासमा जलविद्युत उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उँचा रहेकाले मैले प्राप्त गरेको आजको यो सम्मान नेपालको समग्र निजी क्षेत्रलाई 'डेडिकेट' गर्न चाहन्छु,' अधिकारीले भने ।
दमौलीमा ९ किलोमिटर सडक कालोपत्र, पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने
दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १.९ किलोमिटर ढलान गरिएको छ ।