कविता महोत्सव मङ्सिर २९ मा हुने, प्रथमलाई ५० हजार
काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए । प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।
निधारको चोट
निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ रैत त ! केको चोट हो दाई ?” उसको प्रश्न भुईमा झर्न नपाउँदै मैले जवाफ दिएँ । त्यो कुरा पछि गरौंला । पहिले साईतको टिका त लगाऊँ । टिका लगाई सकेपछि बैनीले सोधिन । ‘दाई निधारमा कसरी चोट लागेको ?’ हुँ ! म अनकनिदै थिएँ । मलिन अनुहार पार्दै फेरी भनिन् । “भन्नु न के । नभन्ने भए म त रोहिदिन्छु ।” बैनी घुर्काउन थाल्छे । राती अँध्यारोमा ढाेकामा ठाेकिएर काटेको । मैले जवाफ दिएँ । टिकाको थाली वर तानेर बैनीलाई लगाईदिँदै गर्दा उस्ले मेरो मुखमा फुर्लुक्क हेरी । म मुसुक्क हाँसे । मेरो हात च्याप्प समेतेर उसको टाउकोमा राखीन । “तपाईले मसंग झुट बोले जस्तो छ । यो भन्दा अगाडी त मैले निधारमा खत देखेको थिईन । सानो कमिलाले टोकेको कुरा त शेयर गर्ने मान्छेले यति ठूलो चोट लाग्दा समेत मलाई केही भने जस्तो त लागेन । मेरो कसम खाएर भन्नु त यो खत कसरी बस्यो ?” मैले भने पहिला टिका लगाई दिन त दे । अनि सबै कुरा भनौला । सप्तरंङ्गी टिका, सयपत्री र मखमलीको माला लगाई दिएँ । तिहारको भाई मसला, सानो उपहार र दक्षिणा दिँदै उसको खुट्टामा ढोगें । अनौठो मान्दै उनले भनिन् । ‘यसपाली त अचम्म भयो लौ ! दशैं टिका लगाउँदा समेत बुबा ममीको पाऊमा समेत शिर नझुकाउने मेरो दाई, आज घुँडा टेकेर मेरो खुट्टामा ढोग्दै छ त ?’ ००००० सिस्टम र सिष्टता एउटै आमाबाबुको सन्तान नभएता पनि सम्बन्ध भने निकै नै घनिष्टता थियो । सिष्टताले रक्षा बन्धनका दिन सिस्टमका हातमा राखी बाँधेर पवित्र सम्बन्धलाई जोडेकी थिईन । सिस्टम, सिष्टताको लागि अभिभावक मात्र हैन, सल्लाहकार पनि हो । आफ्नी बैनी संधै राम्रो काम गरोस, कसैले उसलाई औला उठाएर बोल्न नपरोस र सबैबाट प्रशंसा पाओस भन्ने सिष्टमको चाहाना थियोे । सिष्टताले पनि हरेक कुरामा सिष्टमसंग राय लिने गर्थिन । एकले अर्कालाई खुब माया गर्थे उनीहरु । छिनमै रिसाउने छिन भरमै खुशी हुने उनीहरु दुबैको आदत थियो । जिन्दगीका सबै कुराहरु शेयर हुन्थ्यो । एउटालाई चोट पर्दा दुवै संगै रुने गर्थे । कहिले काहीँ झै भगडा गरेता पनि एकले अर्काको पिडालाई बुज्थे उनीहरु । तिहार नजिकिँदै थियो । भाइटिकाको दिनका लागि भनेर सिष्टमले बैनीका लागि केही कपडा किनिदिन्छ । सिष्टताले पनि दाजुका लागि केही कपडाहरु किनिदिन खोज्छिन, तर उसले इकार गर्छ । सिष्टताले ढाकाको टोपी देखाउँदै भन्छे । यो त किन्न सक्छु नि ? उसले मुन्टो हल्लाउँदै अँ, हुन्छ । टोपीका चुच्चाहरु मिलाउँदै सिष्टताले दाजुको शिरमा लगाई दिन्छे । बैनी रोजेको टोपी सिष्टमलाई ठिक्क भएको थियो । चिटिक्क सुहाएको पनि थियो । “आहा कति राम्रो !” पसल्नी साउनी पनि स्वर मिलाउँदै थिई । हिरो छ नि मेरो दाजु भन्दै सिष्टता दाजुका टाउको सुम्सुम्याउँदै थिईन । ‘दाई यस्पाली तिहारमा त तपाईको कपाल हाईलाईट गर्नु पर्छ है ? मेहेन्दी किनौ म लागाई दिन्छु ।’ फुलेको एउटा कपाल तान्दै सिष्टताले भनिन । “अलिअलि कपाल फुलेर के भो त, नहाल्ने मेहेन्दी सेहेन्दी ।” सिष्टमको यस्तो जवाफका कारण चित्त दुखाउँछिन । ‘मैले भनेको त के नै मान्नु हुन्छ र ?’ उमेरले ३० औं बसन्तको यात्रा गरिरहँदा सिष्टमको कपाल फुलेर सेताम्मे थियो । सिष्टतालाई दाजुको सेतो कपाललाई रंग्याउने रहर थियो । यही कुरामा उनीहरु बीच सामान्य वादविवाद भयो । दाजुबैनीको वादविवादलाई यहाँ चित्रण नगरौं । उनीहरु त्यहाँबाट फर्किए । बेलुका घर आएपछि सिष्टताले दिउसोको घटनासंग मेल खाने एउटा पोष्ट फेशबुकमा शेयर गरिन् । जुन पोष्टले सिष्टमलाई बैनीले उसैलाई भनेको जस्तो आभाष हुन्छ । उसले पनि त्यस्तै खालको कमेन्ट गर्छ । सिष्टतालाई दाजुको पछिल्ला ब्यवहारले निकै चित्त दुख्छ । तिहारको केही दिन अघि सिष्टताको मामाले फोन गर्छन र भन्छन । ‘भान्जी यस्पाली तिहारमा म पनि तिम्रो गाँउ जाने हो ममीलाई भन्नु मामा उतै आउनु हुन्छ भनेर । म लक्ष्मीपूजाको दिन यहाँबाट बिहान चिया खाएर आँउछु । तिमी त्यहाँ खाना बनाई राख । देउरालीको मिलन मामा पनि आउनु हुन्छ । त्यहीँ खाना खाएर संगै गाऊँ जाऔला । गाउँ नगएको धेरै भयो । यस्पाली धेरै रमाईलो गर्नु पर्छ ।’ मामा भान्जीको सल्लाह अनुसार लक्ष्मी पूजा दिन बिहानै सिष्टता मामासंगै गाँऊ जान्छिन । गाउँमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुन्छ । भाइटिकाको दिन विहान अबेरसम्म देउसीभैलो खेल्ने कार्यक्रम थियो । भाइलाई टिका लगाएर मामासंगै फर्किएर दाजुलाई पनि टिका लगाउने उसको सोच थियो । सोचे जस्तो वातावरण मिलेन । उनी त्यस दिन फर्किन सकिनन् । ००००० बैनीले धेरै कर गरेपछि सिष्टमले आफ्नो निधारको चोटको बारेमा बताउन थाल्छ । कुरा पोहोर साल तिहारको हो । भाइटिकाको दिन बिहानै फोन गर्दा तिमीले भनेकी थियौं । दाइ म आउँदिन है । मैले सोधेँ । किन ? कहाँ त्यसो भनेर हुन्छ त ? जस्तोसुकै भए पनि आऊनु भनेर कर गरे । त्यसपछि तिमीले भन्यौं । यसपाली टिका लगाऊन नमिल्ने भयो के, त्यही भएर । नाटक नगर खुरुक्क आउने भन्दा तिमीले हैरान गर्याै । ह्या तपाईं पनि लेडिज प्रोब्लम हो के बुज्नु न । तिमी नआउने बहाना बनाउँदै थियौं । मलाई राम्रोसंग याद थियो । दशैंको बेलामा ‘प्रियिड’ भएकै कारण तिमीले मेरो हातको टिका गुमाएकी थियौं । त्यति बेला भावुक हुँदै भनेकी थियौ, दाईको हातबाट दशैंको टिका लगाउन नपाएता पनि तिहारमा दाजुबैनी भएर खुब रमाईलो गर्नु पर्छ । तिमी आउँदिनौ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास थिएन । घरमा सार्थकलाई टिका लगाएर आउँदा अलि ढिलै होला भन्ने मेरो अनुमान थियो । तिमी आँउछेऊ भन्नेमा पूर्ण विश्वस्त थिएँ त्यती बेला । त्यसैले टिकाको सबै सरसार्दम, खानेकुरा सबै ठिक पारेर तयारी अवस्थामा बैनीको प्रतिक्षामा बसेको थिएँ । दिन ढल्किदै गयो । साँझसम्म पनि तिमी नआएपछि मेरो मन छट्पटिन थाल्यो । आँखाहरू दोबाटोतिर टोलाऊन थाले । तिमीलाई फोन गरे । फोन उठेन । केही पछि दोहोर्याएर कल गरे । मोबाइल स्विच अफ थियो । आईपुग्नै लागेको भएर मलाई सरप्राइज दिन खोजेको होला भन्ने सोचेर कोठा भित्र छिरे । दियो बत्ती बालेर टिका लगाउने ठाउँ फेरी एकपटक सफा गरे । कोठा टिलिक्क पारेर सजाएको थिएँ । हुनत दिनभरी मेरो अरू काम नै के थियो र । त्यही बेला मोबाइलको घन्टी बज्यो । त्यो तिम्रो कल थियो । हत्तपत्त फोन उठाएर सोधें । कहाँ आईपुगेको ? तिमीले भन्यौं । “म त घरमै छु ।” नजिस्कन म कुरिरहेको छु । यति भन्न नपाउँदै तिम्रो जवाफ आयो । अरे पागल झन मैले बिहानै भनेको हैन त म आउँदिन भनेर । फोन काटियो र लगतै म्यासेन्जरमा भिडियो कल आयो । वास्तवमै तिमी घरमै रहिछौ । ए हस् भनेर फोन काटेँ । एक्कासी मन भक्कानिन थाल्यो । छाती डुम्म फुल्यो । एक छिन अक्क न बक्क परे । सुत्ने बिचार गरेर बाहिर ढोका लगाऊन निस्केको थिएँ । त्यतीबेलासम्म पनि तिम्रो झझल्को छाडेको थिएन । ढोका चुकुल लगाएँ । जुन ढोका तिमी आउने आशा खुल्ला गरेको थिएँ, त्यही ढोका निराश हुँदै बन्द गर्न बिवस थिएँ म । एक्लोपनको महशुष भयो मलाई । त्यही बेला आफ्नो भाग्य धिक्कार्दै ढोकामा टाउको बजार्न पुगेछु । त्यही चोटको हो यो । जति बेला मेरो निधार खाली थियो । ०००००
मास्क लगाएको जोगी र चामल
“अलऽऽऽऽख निरन्जन…।” एकछिन सुनसान । गेटबाहिरबाट आएको थियो त्यो आवाज । प्रत्येक दिनजसो बिहान सवेरै सुनिने यो आवाज पाँच महिनायता सुनिएको थिएन । त्यसैले घरभित्रका सबै आआफ्नै तालमा थिए । ट्याब समातेर अनलाईन कक्षा पढिरहेकी छोरीले गेटतिरकै कोठामा बसेर पनि यो आवाज सुनिन । पढाइमा अलि बढी नै ध्यान दिइछ कि ! भित्र भान्सामा भाँडासँग खेलीरहेकी श्रीमतीले त झनै सुन्ने कुरै आएन । श्रीमान् पनि टेलिभिजनमा अन्तर्वार्ता हेरिरहेको थियो, गेटतिरको आवाज उसको कानसम्म पुग्ने कुनै गुन्जायस थिएन । “अलऽऽऽऽख निरन्जन…।” यसपालि स्वर अलि चर्को थियो । सायद कोही बोलेको हो कि भन्ने सबैलाई लागेको हुनुपर्छ, तर कसैले ठम्याउन सकेनन् । गेटबाहिरैबाट चर्को स्वरमा बोलेको जोगीले पूर्ववत् मौनता प्रदर्शन गर्यो एकछिन । गेटभित्र नजर ओछ्यायो । ढोका भएतिर गहिरो गरी हेर्यो । आँखा तिर्मिराएछन् क्यार, एकपटक आँखा मिच्यो र बन्द रहेको जाली ढोकाबाट भित्रै नजर पुग्ने गरी निकै सचेततापूर्वक दृष्टि घुसार्यो । भित्र कुनै सजीव चित्र सल्बलाएझैँ लाग्यो उसलाई । आफैँमाथि विश्वास गर्न सकेन । अघिल्लो पटकभन्दा अझै गहिरोसँग आँखा गाड्यो र जाली ढोकाको आँखाभन्दा धेरै गुणा सानो जालीबाट भित्रसम्म सीधा हेराइ हेर्यो । अब भने मान्छेकै आकृति भएकोमा ऊ ढुक्क भयो । पहिले उसले गेट बजायो । गेटको फलामे आवाज भित्रसम्म पुग्यो । छिमेकसम्म पनि पुग्यो सायद । छिमेकीहरू पनि आफ्नै गेटको आवाज हो कि भनेर बाहिर बरन्डामा निस्केको देख्न सकिन्थ्यो । टङ्ग्रङ्ङ गेटको आवाज बजिसकेपछि फेरि फलाक्यो “अलऽऽऽऽख निरन्जन…।” यसपालि भने उसले अझै थप्यो –“जय शम्भो ऽऽऽ !” यो अर्को मन्त्र फलाकेपछि यो कुरा ठम्याउन निकै सजिलो भयो कि उसलाई शिवप्रति निकै श्रद्धा छ । अर्थात् बजारमा बग्रेल्ती भेटिने कैयौँ जोगीजस्तै ऊ पनि आफू शिवको दूतका रूपमा भिक्षा माग्न आएको कुरा मान्छेका मनमा पार्न चाहन्थ्यो । तल्लो तलाको जाली ढोकामै आँखा ओछ्याइरहेको उसको ध्यान अचानक भङ्ग भयो । माथिल्लो तलाको बरन्डाबाट एक अधबैँसे महिलाले बाजे लाउनुस् पैसा भनेर दस रुपैयाँको नोट कच्याककुचुक पारेर जोगी भएतिर मिल्काइदिइन् । गेटबाहिरै पुगोस् भनेर फालिएको त्यो नोट गेटभित्रै खस्यो । जोगीले मन नलाईनलाई गेट खोल्यो । अलिअलि भुटभुटाउँदै निहुरेर त्यो पैसा टिप्यो । कच्याककुचुक परेको पैसाको नोट खुत्रुक्क कमण्डलुभित्र हाल्यो । उसको भुटभुटाइ नजिकैबाट यस्तो सुनिन्थ्यो –“हैन, आज चामल कसैले नदिने रहेछन् कि क्या हो ? …” एक्लै यस्तै अनेक कुरा फतफताउँदै बिस्तारै गेटको पलेँटो खोल्यो; बाहिर निस्क्यो र गेट बन्द गर्यो । गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । अघिल्ला पाँच/छ घरमा पनि उसलाई कसैले चामल दिएन । जतिले दिए पैसै दिए । एउटा घरमा त ‘यस्तो कोरोनामा पनि जोगी आएकै छ …’ भन्ने आवाजमात्रै बाहिर निस्क्यो । जतिपटक भगवान् शिवको नामको मन्त्र जपे पनि काम लागेन । कचौरामा चामल वा हातमा पैसा लिएर कोही निस्केन । त्यही अगि निस्केको आवाजलाई नै भिक्षा स्वीकार गरेर जोगी अर्को घरतिर लागेको थियो । ‘शिवजीको श्राप लाग्छ भनेर पनि मान्छे डराउन छोड्यो, यो कोरोना त यमराजभन्दा पनि डरलाग्दो बनेर पो आयो गाँठे !’ मनमा यिनै कुरा खेलाउँदै जोगी अर्को घरको गेट ढकढक्याउन पुगिसकेको थियो । गेटको पलेँटो बन्द गर्ने बाटुलो फलामे डन्डी समातिरहँदा पनि उसले जाली ढोकाभित्र फेरि अन्तिम एकपटक नजर फ्याँक्यो । ‘भुइँतलाबाट कोही केही लिएर निस्कन्छ कि !’ उसको झिनो आश अझै मरेको थिएन । नमरेको आश जबरजस्ती आफ्नै गह्रौँ मनले थिचेर मार्यो र बिस्तारै अर्को घरतिर पाइला सार्यो । दस पाइला जति हिँडेपछि उसले अघि कमण्डलुमा राखेको दस रुपियाँको कच्याककुचुक परेको नोट हातले टिप्यो । दुवै हातले त्यसलाई खोल्यो र मिलायो । केहीबेर नोटलाई दुई हातको बिचमा राखेर रगड्यो । खुम्चिएको भाग अलि तन्कियो । नोट सामान्य अवस्थामा आएपछि उसले पर्स निकाल्यो र पर्समा राख्यो । अर्को घर अलि भित्र थियो । त्यहाँसम्म पुग्ने बाटाको दायाँतिर सानो चउर थियो । एकाबिहानै दुई चार जना केटाकेटी चउरमा खेलिरहेका थिए । खेलिरहेको भकुन्डो बाटानिर पुग्यो । एउटा चङ्खे लाग्ने एउटा फुच्चे केटो भकुन्डोका पछिपछि यसरी दगुर्यो कि मानौँ उसले भकुन्डोसँग दौड प्रतियोगिता गरिरहेको छ । बलको पछिपछि दौडिरहँदा केटाले बाटोमा हिँडिरहेको जोगीलाई देख्यो । “ओ केटा हो, हेरो त मास्क लाएको जोगी । ओहोई … मास्क लाएको जोगी … ।” फुच्चे चिच्यायो । उसको चिच्याइले खेलिरहेका सबै केटाकेटीको ध्यान बाटातिर तानिइहाल्यो । जोगीले मास्क लगाएको उसले पहिलोपटक देखेको थियो । पाँच/छ महिना अगाडि आउने कुनै पनि जोगीले मास्क लगाउँदैनथे । यो बिचमा कुनै पनि जोगी उसको घर वरिपरि आएका पनि थिएनन् । उसलाई असाध्यै नौलो लाग्यो । भित्रभित्र हाँस्दै जोगीलाई हेरिरह्यो । त्यो फुच्चेका साथीहरू पनि एकैछिनमा फुच्चेनजिकै आइपुगे । लामो समयपछि जोगी त्यो पनि मास्क लगाएर आएको देख्दा अरू बच्चाहरू पनि छक्क परे । सबै एकै ठाउँमा झुम्मिए र जोगीलाई एकोहोरो हेर्न थाले । जोगी उनीहरूको नजिकै आइपुग्यो । तिनीहरू एकआपसमा कानेखुसी गर्न थाले । जोगीले त्यो फुच्चेले चिच्याएर ‘मास्क लगाएको जोगी’ भनेको अगि नै सुनेको थियो । फुच्चेहरू भएको ठाउँमा आएपछि जोगीले मास्क मुखबाट निकाल्यो र एकपटक हाच्छ्युँ गर्यो । केटाकेटीहरू एकैचोटि “कोरोना … कोरोना…” भन्दै चिच्याएर त्यहाँबाट भागे र चउरतिर गए । तिनीहरू पूर्ववत् भकुन्डो खेल्न थाले । जोगी बिस्तारै अर्को घरतिर लाग्यो । एकैछिनमा पुग्यो पनि । “अलऽऽऽऽख निरन्जन … !” उसैगरी अलि कम उमेरकी महिलाले ढोकाबाटै पाँच रुपियाँको नोट फ्याँकेर भित्र पसिन् र उतिखेरै चुकुल लगाइन् । यो घरमा पनि चामल हात लागेन । जोगीलाई लाग्यो –मान्छेहरूले अब चामल जोगाएर राख्न थाले कि क्या हो ? पैसाभन्दा चामल (अन्न) मूल्यवान् लाग्न थाल्यो कि क्या हो ? यति सोच्दा नसोच्दै गत वर्षको एउटा घटनाले उसको मस्तिष्कमा फन्का मार्यो । अघिल्लो वर्ष यही ठाउँमा भिक्षाटनमा आउँदा एउटै घरबाट अगभग एक माना चामल भिक्षा पाएको थियो उसले । एक पाथी चामल बनाएर अर्को हप्तासम्म भिक्षा माग्न नहिँडौँला, किन बित्थैमा कोरोनाको जोखिम मोल्ने ? भन्ने सोचेर भिक्षा माग्न बिहानै निस्केको ऊ यतिबेला असाध्यै निराश भयो । यिनीहरूले दिएको पाँच रुपियाँ र दस रुपियाँ जोडेर एक पाथी चामल किन्ने पैसा जम्मा गर्दा त म दुई, तीन दिन भिक्षा माग्न हिँड्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो ऊ, मनमनै । यस्तो सोचिरहँदा उसको अनुहार निकै थकित देखिन्थ्यो । यी कुरा सोचेर यो घरबाट फर्कँदा उसको हिँडाइको गति पनि निकै मत्थर भइसकेको प्रष्ट देखिन्थ्यो । ऊ लुरुलुरु उँधो मुन्टो लाएर हिँडिरहेथ्यो । निलो मास्कले उसरी नै जोगीको मुख ढाकिएको थियो । हिँड्दै हिँड्दै जोगी त्यही सानो चउरनजिक आइपुग्यो । खेलिरहेका केटाकेटी फेरि जहाँको तहीँ उभिएर जोगीलाई हेर्न थाले । जोगी भने आफ्नै रफ्तारमा हिँडिरह्यो । चउरतिरबाट भने उही फुच्चेको आवाज एकोहोरो आइरह्यो, “ओ मास्क लाएको जोगी … !” [email protected]