सफलता सम्भव छ पुस्तक लोकार्पण, प्रेरक विषयका ४१ लेख समावेश
काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने लेखक डा. मदन बिष्ट र पत्रकार रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए । लेखकले सरल भाषमा सकारात्मक सोच र उत्प्रेरक विषयहरु प्रस्तुत गरेका छन् । पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, व्यवहार, एसम्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् । पुस्तकमा संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जीवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ । पुस्तकबारे टिप्पणी गर्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष पौडेलले यस्तो किताव संघ तथा प्रदेशका सांसददेखि उच्च तहमा बसेर नीति निर्माण गर्ने, सरकारमा बसेर निणर्य गर्नेहरुलाई पढाउनु पर्ने बताए । ‘युवा पुस्ता पढेलेखेका छन्, जान्नु बुझ्ने छन् तर नीति निर्माताहरुले राम्रो गर्न सकिरहेका छैनन् । देशको नेतृत्व गर्ने ठाउँमा बसेकाहरुबाट आशा जगाउने काम हुन सकेको छैन’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यस किताव पढेपछि युवा पुस्ता नेपाल छोडेर विदेश जान कम हुने विश्वास व्यक्त गरे । ‘अहिले युवाहरु लर्को लागेर देश छोड्दैछन् । यो किताव पढाउन सक्यो भने उनीहरुले पनि नेपालमा नै भविष्य देख्थे होलान, नेपाल मै बसेर काम गर्दथे होलान’ केसीले भने । पुस्तकबारे टिप्पणी गर्दै पत्रकार रोहित भण्डारीले हरेक पाठकलाई उर्जाशिल बनाउन योगदान गर्ने बताए । सफलता सम्भव छ पुस्तकका लेखक मल्लले मानिसमा सकारात्मक उर्जा प्रदान गर्न पुस्तक सहयोगि हुने विश्वास व्यक्त गरे । बैदेशिक रोजगारी, शिक्षण हुँदै दुई दशक भन्दा बढी बैकिङ व्यवसायमा संलग्न डा मल्ल एनएमबी बैंकका उप-प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
हृदय : १५ हजारलाई जीवन दिने ‘भगवान्’ को कथा
काठमाडौं । डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगे । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ । नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक नै डा कोइराला हुनुहुन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मा २०५३ फागुन १६ गते नेपालीबाट नै भएको पहिलो ओपन हार्ट सर्जरी थियो । ओपन हार्ट सर्जरीमा शल्यचिकित्सकले छातीमा ठूलो चिरा पारेर भित्रको पिंजडारूपी करङ खोली मुटुको शल्यक्रिया गर्छन् । यसमा बिरामी मुटुको भल्भ मर्मत वा फेर्ने, डोनोर (ता) मुटु राख्ने, जन्मजात बिग्रेको मुटुलाई मिलाउने तथा लाइफ सेभिङ मेडिकल डिभाइस राख्ने काम हुन्छ । नेपालीहरू मात्रले गरेको त्यो पहिलो ओपनहार्ट सर्जरी थियो । त्यसपछि वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक सेन्टरमा पनि सुरु भई हालसम्म चलिरहेको छ । अमेरिका र क्यानडाका केही उत्कृष्ट अस्पताल र विश्वविद्यालयको तालिमपछि डा कोइराला नेपालमा ओपन हार्ट सर्जरी गर्न सकिने आत्मविश्वास लिएर आउनुभएको थियो । यसले विदेशमा घुम्न, खान मात्र होइन त्यहाँ सिकेको ज्ञान नेपालमा लागु गर्न अन्य नेपालीलाई पनि प्रेरणा दिन्छ । युक्रेनको खार्किभ नेसनल मेडिकल इन्स्टिच्युटबाट स्नातक र बङ्गलादेशको ढाका युनिभर्सिटीको नेसनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट स्नातकोत्तर डा भगवान् कोइरालाले बेस्टेट मेडिकल सेन्टर, म्यासाचुसेट्स, अमेरिका र टोरन्टो युनिभर्सिटी हस्पिटल फर सिक चिल्ड्रेनमा कार्डियाक सर्जरीसम्बन्धी फेलोसिप तथा बङ्गलादेशबाट एमएस इन कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी गर्नुभएका उहाँ निरन्तर ओपन हार्ट सर्जरी सुरु गर्ने प्रक्रियामा लागिरहनुभयो । नेपालको पहिलो मुटु अस्पताल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको नेतृत्व गर्दै हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष र इन्स्टिच्युट अफ मेडिसिन, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी विभाग प्रमुख डा कोइराला र टोलीले गरेको प्रयत्नले नेपालले मुटु रोगको उपचारमा एउटा हैसियत प्राप्त गरेको छ । डा कोइराला र उहाँका सहयोगी, सहकर्मी र हाकिमहरूको अहोरात्र योगदानले नै नेपालमा मुटुको स्तरीय सेवा सुरु भएको हो र विदेशबाट समेत सोको उपचारमा आउनु नेपालका लागि अति नै गौरवको विषय हो । ‘भारतको एस्कर्टस तथा अन्य अस्पतालमा नेपाली बिरामीहरु उपचार गराउन जाँदा त्यहीँका डाक्टरले ‘यस्तो समस्याका लागि तपाईँहरु किन आएको रु गङ्गालाल (हृदय केन्द्र) मै उपचार हुन्छ त’ भनेर सम्झाउने गरेको पनि पाइयो । कतिपयले त भारतमा परीक्षण गराउँदा अपरेसन गर्नुपर्छ भन्ने जानकारी पाएपछि फर्किएर गङ्गालालमै अपरेसन गर्न आएको पनि हामीले पाएका थियौँ’, कृतिमा लेखक नेपालको मुटु स्वास्थ्योपचारमा पाइएको विदेशीको समेत यस्तो प्रशंसा र समाजलाई केही न केही योगदान दिन पाएमा आत्मसन्तुष्टि व्यक्त गर्नुहुन्छ । जीवनमा केही गणना गर्न सकिने हिसाबले नै विभिन्न कुटाइ र र अन्य सङ्कट पार गर्नुभएका डा कोइराला पढ्दा पढ्दै न्युरोको गम्भीर बिरामी हुनाका साथै भेइकलसम्बन्धी एक्सिडेन्टहरू पनि मजाले भोग्नुभयो । ब्याडमिन्टन र गल्फ खेलाडी उहाँ केशकर्तन गर्न पनि सिपालु हुनुहुन्छ । हेल्थ एसिस्टेन्टमा ब्याच टप भएर क्राइटेरिया पुगेर पनि बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न नपाउनुभएका उहाँले सोभियत सङ्घमा पढ्न पाइएको अर्को अन्तर्वार्तामा भने ठाडठाडो जवाफ दिएर नाम निकालिछाड्नुभयो जहाँ उहाँ सुरासुन्दरीविहीन भई पढाइमै हेलिनुभयो । पाल्पाको मध्यमवर्गीय परिवारबाटै उठ्नुभएका उहाँ कलेजका नियमित विद्यार्थी हुनुहुन्थ्यो र सकभर कुनै पनि क्लासको लेक्चर छुटाउनुुहुन्नथ्यो । चालिस वर्षअघि नै ब्याच टप गरेर हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी काठमाडौँस्थित इन्द्रायणी हेल्थ पोस्टमा इन्चार्ज र तीस वर्षअघिदेखि त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरबाट जीवनवृत्ति सुरु गरी व्यवस्थापनको जिम्मेवारी लिनुभएका व्यस्त चिकित्सक डा कोइराला आफूले जानेको विषयमा कनिष्ठहरूलाई हस्तान्तरण गर्न अति नै इच्छुक हुुनुहुन्छ । कुनै राजनीतिक वाद र दलमा नलागी सबै राजनीतिक व्यक्तिहरूसँग उहाँको राम्रो सम्बन्ध छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र स्थापना र सञ्चालन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना र सञ्चालन, नागरिक अस्पताल र अर्गान ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा सहयोग, ग्रामीण एवं दुर्गम क्षेत्रमा स्थानीय सङ्घसंस्थाका सहकार्यमा दर्जनौँ स्वास्थ्य शिविरमा उहाँले दसौँ हजार बिरामीलाई मुटुको विशेषज्ञ सेवा दिइसक्नुभएको छ । नसर्ने रोग र सुर्तीजन्य वस्तुको नियन्त्रणबारे राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्न, राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग, गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउन तथा १५ वर्षभन्दा कम र ७५ वर्षभन्दा बढी उमेरकालाई मुटुसम्बन्धी शल्यक्रियालगायतमा सम्पूर्ण उपचार निःशुल्क गराउन उहाँले योगदान दिनुभएको छ । गङ्गालाल अस्पतालको व्यवस्थापन राम्रो गरेका आधारमा जनप्रशासन सङ्घ नेपालले ‘हेमबहादुर मल्ल सम्मान’ र व्यवस्थापन सङ्घ नेपालले म्यानेजर अफ द इयर’ उपाधि पनि उहाँलाई दिए । अवकाशपछिको जीवन पनि ‘देउता जस्तो’ भगवानले सोचिसक्नुभएको छ – बालरोग विशेषगरी मुटुको उपचारका क्षेत्रमा काठमाडौंमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र प्रदेशमा एक एक सामान्य बाल अस्पताल स्थापना गर्ने र त्यसैमा समर्पित हुने । सो पवित्र कार्यमा अहिले डा मीनेन्द्र रिजाल जस्ता नेताहरूले पनि सघाउन थाल्नुभएको छ । अस्पतालमा कर्मचारीले चिकित्सकलाई हेप्ने, मन्त्री–सल्लाहकार–नेता र तिनका मान्छेले निःशुल्क उपचार खोज्ने–मादक पदार्थ सेवन गर्ने, मन्त्रीले अस्पतालमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिने, अस्पतालको गोदामबाट औषधि हराउने जस्ता दबाब र तनाबका कुरा त उहाँको व्यवस्थापकीय–चिकित्सीय जिम्मेवारीका बेला कति भए कति भए । विदेशमा बसाइँसराइ गर्न जाने कर्मचारीले पनि राजीनामा नदिई बिदामा बसेर पद अड्काउन खोजेको तथा मन्त्री तथा उच्चस्तरका व्यक्तिलाई आफ्नै पैसाले उपचार गराएको थुप्रै उदाहरण पनि लेखकले निर्धक्क भई दिनुभएको छ । दरबार हत्याकाण्डका बेला पनि सैनिक अस्पताल छाउनीमा राजपरिवारका सदस्यलाई राम्रो उपचार गरेर उहाँले आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभएको छ, जुन अध्याय रोचक पनि छ । मुटु तथा फोक्सोसम्बन्धी सेवालाई सबै विकास क्षेत्रमा विकेन्द्रित गर्न हार्टलङ एकेडेमी स्थापनासम्बन्धी अवधारणा भने बिचैमा तुहिएकामा भने उहाँलाई अति नै दुःख लाग्छ । अहिले भने बालचिकित्सा क्षेत्रमा क्रियाशील हुँदाहुँदै आफ्नो जीवनको उतारचढाव र स्वास्थ्य क्षेत्रमा आफूले गरेको योगदानलाई लिपिबद्ध गरी ‘हृदय’ पस्केर उहाँले स्वास्थ्य क्षेत्रको आफ्नो समयको इतिहासको ज्ञान सबैलाई बाँड्नुभएको छ । कृतिमा पुनरुक्ति र सामान्य वर्णविन्यासका दोष छन् नै । चिकित्सा पेसामा रहेकाले उहाँले सोसम्बन्धी प्राविधिक शब्द र सङ्क्षिप्त शब्द अङ्ग्रेजीमा राख्नुभएको छ जसलाई बुझ्ने भाषामा पनि कतै दिइएको भए हुन्थ्यो । निःस्वार्थ र निर्भय डा कोइरालाले आफ्नो नाम सार्थक बनाई व्यक्तिगत जीवन र स्वास्थ्योपचारका साथै तत्कालीन नेपालको राजनीतिक वातावरण र वैदेशिक स्थितिबारे पनि पुस्तकमा उल्लेख गरेर पाठकहरूलाई गुन नै लगाउनुभएको छ । रासस
डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह सार्वजनिक
काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको छ भने वोदि बुक्स एण्ड वेक्स नक्सालले एक भव्य समारोहकाबीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको छ । १८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् । उनले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तिकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन् । उनले कविताहरुमार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि प्रेरित गरेका छन् । डोटीको विकट गाउँमा जन्मेका बलायर मेहनत र लगानशीलताका पर्यावाची हुन् भन्दा अतिशयोक्ति नहोला । आईओवा स्टेट यूनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधी गरेका बलायर सोही यूनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा संलग्न रहेका छन् । महिला सशक्तिकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता अनुसन्धानात्मक क्षेत्रमा रुचि राख्ने बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार, इजरायल दूतावास, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर लामो अनुभव बटुलिसकेका छन् । सो समारोहमा साहित्यकार डा. गोविन्द कुसुमले डोटिको विकट ठाउँमा जन्मिएर पनि लेखक बलायरले विभिन्न संघर्ष र लगनशीलताका साथ अमेरिका जस्तो देशको प्रतिष्ठित यूनिभर्सिटीमा आफूलाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताए । यस्तै, बलायरको कविता संग्रहले मानव जीवनको संघर्ष, साधना, लगनशीलता, र धैर्यतालाई उजागर गरेको कुसुमले बताए । उनले बलायरलाइ बधाई दिँदै आगामी दिनहरुमा साहित्य क्षेत्रमा थप कलम चलाउन आग्रह समेत गरे । समारोहमा आख्यानकार बुद्धीसागरले यस कविता संग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए । उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई यसले मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए ।