चलचित्रकर्मीहरूको श्रद्धाञ्जलीका लागि कर्रा हस्तान्तरण
काठमाडौं । चलचित्रकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई पाशुपत क्षेत्रमै कलाकार सविन श्रेष्ठ र अनु शाहले सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए । जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् । पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए ।
‘यो नेपाली शिर उचाली: सिजन-२’ बुधबारदेखि प्रसारण हुँदै
काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली शिर उचाली : सिजन-२’ (बुधबार) भोलिदेखि प्रसारण हुने भएको छ । कार्यक्रम प्रत्येक साता साँझ ८ः३० बजे हिमालय टेलिभिजन मा प्रसारण हुनेछ । साथै, दर्शकले कार्यक्रम ‘यो नेपाली शिर उचाली’ युट्युब च्यानलमार्फत पनि हेर्न सक्नेछन् । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गर्दै उल्लेखनीय सफलता हासिल गरेका नेपालीहरूसँग उनीहरूको कर्मथलोमै पुगेर संवाद गर्नेछन् । दोस्रो सिजन अष्ट्रेलिया केन्द्रित रहने जनाइएको छ । अष्ट्रेलियाका विभिन्न सहरमा विविध क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरूको जीवनकथा कार्यक्रममा समेटिनेछ । मुभ मिडिया प्रालिले निर्माण गरेको कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायांकन गरिएको हो । कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले पहिलो सिजनझैं दोस्रो सिजन पनि १३ भागको हुने जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा प्रस्तुत गरिएका कथाहरू विश्वभर रहेका नेपालीका लागि प्रेरणादायी बन्नेछन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई स्वदेशसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले सकारात्मक बहसको सुरुआत गर्ने विश्वास उनले व्यक्त गरे । ‘यो नेपाली शिर उचाली’ को पहिलो सिजन गत वर्ष युरोपबाट सुरु गरिएको थियो । निर्माता रेग्मीका अनुसार आगामी दिनमा कार्यक्रममार्फत विश्वभर छरिएका नेपालीहरूको संघर्ष र सफलताका कथाहरू क्रमशः प्रस्तुत गरिँदै जानेछ ।
काठमाडौंमा दुई दिने सांगीतिक उत्सव सम्पन्न
काठमाडौं । राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो । महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए । हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पु¥याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएको थियो । सोही अवसरमा काठमाडौं युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए । महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ’कान्छी मट्याङ ट्याङ’, राजमती कुमती’, ’उकाली ओरालीहरूमा’, ’सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यतिबेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो । सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताए । डा. शाप्र्लीले भने, ‘सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।’ अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताए । आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।