एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’, २० करोड बढीको व्यापार

काठमाडौं । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए। ‘हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ’, गिरीले भने। दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् । ‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेता पनि आधिकारिक निर्णय नभएको अर्का निर्माता तथा कलाकार निर्मल शर्माले बताए । ‘हामी समूहमा छलफल गरेर निर्माण लिनेछौँ, हाम्रो एकाउन्न दिनको यात्रामा २० करोड बढीको कूल व्यापार भएको छ, दर्शकले दिनुभएको मायाले हामीलाई अगाडि बढ्न हौसला मिलेको छ’, कलाकार शर्माले भने । चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गर्नुभए पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् ।

एनसेल प्रिजेन्टसको दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न

काठमाडौं । नेपाली नयाँ वर्ष अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न भएको छ । ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो । काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ विहान ११ः०० बजे देखि सुरु भएको थियो । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भए देखि बेलुका सम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए । यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफना प्रस्तुति रहेका थिए । कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए । बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैकालागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए । महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो । सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडीज् आइसक्रिम रहेका थिए । पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।

वर्ष २०७९ : स्टारडम नचलेको वर्ष, सर्वाधिक कमाइ गर्ने ५ चलचित्र

काठमाडौं । वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए । यही वर्ष प्रदर्शन भएको चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ घरेलु बजारमा सर्वाधिक कमाइ गर्न सफल रह्यो । बोर्डको विवरणअनुसार चलचित्रको २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार भएको छ । यो सङ्ख्यामा घरेलु बजारमा अहिलेसम्म कुनै नेपाली चलचित्रले व्यापार गर्न सकेको छैन । विशेषतः वर्ष २०७९ मा हास्य विधाका चलचित्रमा दर्शकको रुचि भएको पाइयो । मुनाफा आर्जन गर्ने अधिकांश चलचित्र हास्य विधामै रहेर निर्माण भएका छन् । यसका साथै शृङ्खलाबद्ध रूपमा आएका चलचित्र पनि दर्शकको रोजाइमा परेका छन् । यी बाहेक सफल हुने चलचित्रको सङ्ख्या न्यून छ । हास्य विधामा रहेर निर्माण भएका ‘कबड्डी ४ ः द फाइनल म्याच’, ‘झिङ्गेदाउ’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ सफल भए । शृङ्खलाबद्ध रूपमा यी बाहेक ‘ए मेरो हजुर ४’, ‘प्रेम गीत ३’ सफल रह्यो । सामाजिक विषयवस्तु उठान गरिएको चलचित्र ‘फूलबारी’ ले राम्रो व्यापार गर्यो । उल्लिखित चलचित्रहरूमा हास्य विधा हावी छ । दर्शकले खुसी खोजिरहेको निर्देशक प्रदीप भट्टराईले बताए । ‘सायद अहिले समाजमा हाँसोको अभाव भएको हो कि ? जे अभाव हुन्छ त्यसैको माग बढी हुन्छ, सफल भएका चलचित्र हास्य विधामा छन्, यसले खुसी दिएको छ, चुनौती पनि थपेको छ,’ उनले भने, ‘कुनै समय सानो पर्दामा दिनहुँ जसो हास्यशृङ्खला आउँथे, लोकप्रिय थिए तर अहिले अवस्था फेरिएको छ, त्यसैले जति दर्शकको विश्वास बढ्छ, त्यति नै दायित्व पनि ।’ उनले भने झैँ अहिले हास्य विधामा चलचित्र बनाउने लहर झैँ छ । प्रायः चलचित्रको प्रस्तुतीकरणमा हास्य शैली जोडिन्छ । योसँगै शृङ्खलाबद्ध रूपमा आएका चलचित्रमा दर्शकको विश्वास देखिएको छ । ‘कबड्डी ४ ः द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दा दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’ छ भने तेस्रो स्थानमा ‘प्रेम गीत ३’ । ‘शृङ्खलाबद्ध रूपमा आउने चलचित्रमा दर्शक पहिले परिचित भएका हुन्छन्, पात्र र परिवेश बुझ्ने हुँदा ती चलचित्रको प्रचारप्रसार पनि सहज हुन्छ, त्यसैले त्यस्ता चलचित्रमा निर्माता र दर्शकको आकर्षण मिलेको छ,’ वितरक करण श्रेष्ठले भने, ‘जाँदै गरेको वर्षको सूची हेर्न हो भने शृङ्खलाबद्ध रूपमा आएका र विश्वस्त समूहले निर्माण गरेका चलचित्र सफल रहे ।’ चलेका कलाकार र समूह नहुँदा पनि सफल भएको चलचित्र हो ‘झिङ्गेदाउ’ । यसलाई चलचित्रको भाषामा ‘क्लिन हिट’ भनिन्छ । जहाँ चलेका कलाकार वा निर्देशक हँुदैनन् । वर्षांैपछि निर्देशनमा आउनुभएका ज्ञानेन्द्र देउजाले नेपालीपन अझै दर्शकको रोजाइमा रहेको बताए । ‘मैले निर्देशन प्रारम्भ गर्दा नै साँचेको कथा हो । मैले बजारअनुसार आफूलाई प्रस्तुत गर्दै गर्दा यसलाई कागजमै सीमित राखेँ तर, आफैँ निर्माता बन्दा यो कथा पर्दामा ल्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ,’ उनले भने । उनले अहिले चलचित्रको बजेट महँगो भएकाले धेरै निर्माताले घाटा बेहोर्नुपरेको बताए । कलाकारको पारिश्रमिककै कारण निर्माण लागत बढिरहेको उहाँको निष्कर्ष छ । यद्यपि बजारबाट गर्ने व्यापारका आधारमा कलाकारलाई पारिश्रमिक दिनुपर्नेमा उनी सहमत छन् । ‘५० को दशकमा बन्ने चलचित्रमा कलाकारले लिने पारिश्रमिकको तुलनमामा ५÷६ गुना बढी व्यापार हुन्थ्यो तर, अहिले कलाकारको पारिश्रमिककै कारण बढिरहेको बजेटले हामी जस्ता चलचित्र बुझेकाहरू अगाडि आउन कठिन भइरहेको छ,’ उनले भने । निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ वर्ष २०७९ देखि सन्तुष्ट छन् । ओटिटीका कारण विश्वका चलचित्र सहजै हेर्ने वातावरणमा नेपाली चलचित्रले गरिरहेको व्यापारले निराश बनाउने उनले बताए । ‘हाम्रो बजारको सम्भावना त देखिसकेका छौँ, नेपाली मात्र नभई विदेशी चलचित्रले गर्ने व्यापारले पनि बजार छ भन्ने प्रमाणित गरेको छ,’ निर्माता बानियाँले भने, ‘दर्शकको विश्वास जितिरहेका निर्माता तथा निर्देशकले निराश नबनाउने हो भने हाम्रो सम्भावना राम्रो छ । बजार अझै बढ्नेमा विश्वस्त छु ।’ स्टारडम नचलेको वर्ष वर्ष २०७९ स्टार भनिने कलाकारका लागि सुखद रहेन । अभिनयभन्दा पनि पारिश्रमिकका कारण चर्चामा आइरहने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले न त राम्रो व्यवसाय नै गर्न सके न त समीक्षा नै राम्रो पाए । अभिनेता केसी अभिनित दुई चलचित्र प्रदर्शन भयो । ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो व्यापार गरेता पनि उनको अभिनयले तारिफ पाउन सकेन । चलचित्रलाई समीक्षकले राम्रो भनेनन् । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘२.० छड्के’ ले अभिनेता केसीको पारिश्रमिक बराबरको ग्रस व्यापारसमेत गरेन । बोर्डको सार्वजनिक विवरणअनुसार ‘ए मेरो हजुर ४’ को ३ करोड ३८ लाख ७७ लाख ४२४ रुपैयाँ र ‘२.० छड्के’ ले २७ लाख ६६ हजार ६३३ रुपैयाँको ग्रस व्यापार गरेको छ । यस्तै, अभिनेता खड्का अभिनित ‘प्रेम गीत ३’ बक्सअफिसमा सफल भयो । नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको चलचित्रले १० करोडको व्यापार गरेको छ । यद्यपि शृङ्खलाकै कमजोर चलचित्रका रूपमा समीक्षा भयो । उनी अभिनित अर्को चलचित्र ‘प्रकाश’ ले दर्शक पाउन सकेन । चलचित्रले १ करोड ५७ लाख ८ हजार ६८८ रुपैयाँको व्यापार गरेको छ । यस्तै, अभिनेत्री शर्मा अभिनित दुई चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ सफल हुन सकेनन् । बोर्डको विवरणअनुसार ‘सम्झना बिर्सना’को २१ लाख ३४ हजार २८० रुपैयाँ र ‘सम्हालिन्छ कहिले मन’को ७५ लाख २४ हजार ४७५ रुपैयाँको व्यापार भएको छ । यस्तै, अभिनेत्री शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को १० लाख १२ हजार ७८२ रुपैयाँ र ‘ह्यारी कि प्यारी’को ७४ लाख १६ हजार २६९ रुपैयाँको व्यापार भएको छ । अर्थात दर्शक उहाँहरू चलचित्रमा भएका कारण हलसम्म आएनन् । सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र ‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४– द फाइनल म्याच’ सर्वाधिक कमाउने चलचित्र बन्यो । रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्रले बोर्डको विवरणअनुसार ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार ४६२ रुपैयाँ ग्रस व्यापार गर्न सफल भएको छ । हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४०२ टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा निर्माण भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतको अभिनय छ । चलचित्रले नेपाली भाषामा २ लाख ६९ हजार ७ सय ४४ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ र हिन्दी भाषामा ८३ हजार १४४ रुपैयाँ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ३६७ रुपैयाँको ग्रस व्यापार गरेको छ । चलचित्र ‘महापुरुष’ ले २ लाख ४७ हजार ५१७ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९० हजार ६७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पाँचौँ नम्बरमा छ । चलचित्रको १ लाख ४१ हजार ६३९ टिकट बिक्री भएबापत ३ करोड ८४ लाख ७३ हजार ५२० को ग्रस कलेक्सन भएको छ ।