अनमोल केसीले पर्वतको कुश्मामा गरे बन्जी जम्प र स्काई साइक्लिङ

पर्वत । नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । ‘केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो’, उनले भने । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्, अध्यक्ष राजु थप्छन्, ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

काठमाडौं । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिए । अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए। ‘जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ’, लेखक लामिछानेले भने । यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् ।

छक्कापञ्जा-४ को कमाइ १० करोड नाघ्यो, छड्के-२ फ्लप

काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ  नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । हाल १४० हलमा प्रदर्शन भइरहेको फिल्मले राम्रो कमाइ गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेसले बिहीबारसम्म १० करोड बढी कमाइ गरेको बताएको छ । शुक्रबारको भने कमाइ सार्वजनिक भइसकेको छैन । अझै पनि हलहरुमा यो फिल्म हेर्नेको भीड नै छ । दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यस्तै, सँगै पदर्शनमा आएको छड्के–२ भने फ्लप भएको छ । यो फिल्मले ३० लाख रुपैयाँ मात्रै कमाएको बुझिएको छ । ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै दर्शकसँग माफी मागेका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।