कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । यो पटक सञ्चालन हुने परिक्षाबाट ६००० व्यक्तिलाई उत्तिर्ण गराउने शाखाले जनाएको छ । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।
नेपाल रेल्वे कम्पनीले माग्यो १० जना प्राविधिक कर्मचारी
काठमाडौं । नेपाल रेल्वे कम्पनीले प्राविधिक कर्मचारी मागेको छ । कम्पनीले विभिन्न पदमा कारारको लागि १० जना कर्मचारी मागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । कम्पनीको अनुसार रेल चालक र स्टेसन मास्टरका लागि कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने छ । यस्तै, सिभिल इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष ट्र्याक इन्जिनियर भई काम गरेको अनुभव हुनुपर्ने छ । कम्पनीको अनुसार एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । रेल्वे कम्पनी काम गर्न चाहनेहरुले १५ दिन आवेदन दिन सक्नु पर्ने पनि कम्पनीले बताएको छ ।
सिटिजन्स बैंकमा काम गर्ने अवसर, दरखास्त दिन अब दुई दिन बाँकि
काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्टका लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । साथै बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ भने ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसरमा एकजना कर्मचारीको माग गरेको छ । बैकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।