महिला उद्यमीका लागि चेम्बरले पुस १५ गतेदेखि सूचना प्रविधि तालिम दिने

काठमाडौं । रोजगारी सिर्जना र व्यावसायिक सफलताका लागि महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई एकवर्षे सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए । तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरले जनाएको छ । उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवद्र्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव अधिकारीले जानकारी दिए । यही पुस १५ गतेदेखि सुरु हुनेछ ।

सिमेन्टबाट ब्लक उत्पादन गरेर जीविकोपार्जन गर्दै सुनिल

कञ्चनपुर । कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा थिए । वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उनी जागिरकै सिलसिलामा भारतमै रहन्थे । कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आएका उनी यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहेका छन् । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,’ उनले भने, ‘भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।’ त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गरेका हुन् । ‘कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,’ उनले भने, ‘त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।’ सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । ‘घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,’ उनले भने, ‘विगतमा बेरोजगार भएर घरमै बस्नु प¥थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।’ दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । ‘मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,’ उनले भने, ‘एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।’ अहिले प्रतिब्लक ४० देखि ४५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उनको योजना छ । ‘ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ’;, यशोदा थापाले भनिन्, ‘भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल वायु सेवा निगमले १ सय ३८ जना कर्मचारी माग गरेको छ । निगमले चौथो तहदेखि सातौँ तहसम्मका १३८ रिक्त स्थानमा आवेदन आह्वान गरेको हो। रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। निगमले शुक्रबार योग्यता अनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन गर्न जानकारी दिएको छ । [pdf id=372709]