त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले  जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए । “शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार/पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उहाँको अनुमान छ । आइसोलेसन निर्माणमा उपमहानगरपालिका धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा निर्माण भइरहेको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको खाली भवनमा अहिले झण्डै २८ श्ययाको आइसोलेसन कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए । धनगढी नगरका कोरोना सङ्क्रमितलाई उपचार गर्न आवश्यक पर्ने जति श्यया राखिने उनको भनाइ छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ अभाव भएपछि उपमहानगरपालिका आफ्नै आइसोलेसन कक्ष निर्माणमा जुटेको बताइएको छ । आइसोलेसनको तयारीका लागी श्यया मिलाउने, बिजुलीबत्ती तथा उपकरण जडान गर्ने काममा नगरका स्वास्थ्यकर्मी र प्राविधिक टोली रातदिन खटेर काम गरिरहेको बताइएको छ । “सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रूपमा तयार गरे पनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्”, प्रमुख वडले भने, “सबै स्थानीय तहहरुले आफैं आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।” उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायण बरालले एक/दुई दिनमै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताए । बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितको उपचारमा समस्या भएको संयोजक बरालको भनाइ छ । उपमहानगरपालिकाभित्रका कोरोना सङ्क्रमितको मात्रै उपचार गरिने आइसोलेसन कक्षभित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताइएको छ ।  रासस

शुक्रबार तीन देशबाट ल्याईयो २३ नेपालीका शव

काठमाडौं । शुक्रबार विभिन्न तीन देशबाट २३ नेपालीको शव काठमाडौं ल्याईएको छ । शुक्रबार विभिन्न तीन देश कतार, यूएई र कुवेतबाट गरी उक्त शव ल्याइएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । बोर्डका निर्देशक दिनबन्दु सुवेदीका अनुसार कतारबाट २०, कुवेतबाट २ र युएईबाट १ गरी जम्मा २३ नेपालीकाे शब स्वदेश ल्याईएको हो । जसमध्ये ७ जनाको शव काठमाडौंको पशुपतिमा दाहसस्कार गरिने उनले जानकारी दिए । चार्टर्ड उडान शुरु भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीकाे शव ल्याउने काम भइरेहेकाे बाेर्डले जनाएकाे छ ।

अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरे । सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ । सङ्घले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझाव दिएको छ । सङ्घले चार्टर उडान गर्ने व्यावहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौँको सङ्ख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।  रासस