कुवेतमा ३ नेपाली कोरोना संक्रमित, दूतावासमा गुनासो बढ्दाे
काठमाडौं । कुवेतमा ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय नेपालीको प्रमुख रोजगार गन्तव्यको रुपमा स्थापित भईरहेको कुवेतमा ३ जना नेपालीमा कोरोना संक्रमण रहेको दूतावासले जानकारी दिएको छ । कोरोना फैलिएसँगै पछिल्ला दिनमा कुवेतमा रहेका नेपालीको गुनासो बढ्दै गएको कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले बताए । उनले भने, ‘कोरोनाको संक्रमण बढ्दै गएसँगै कम्पनीहरु बन्द भईसकेका छन् । भीडभाडजन्य सबै काम बन्द छ, स्वास्थ्य अवस्थामा चिन्ता मात्र नभई रोजगार गुम्ने हो कि भन्ने आम मानिसमा एक खालको त्रास उत्पन्न भएको छ ।’ चीनको उहानबाट शुरुभएको कोरोनाले विश्वभरीका ८३ हजार ४ सय ४२ जनाको मृत्यु भएको छ भने १२ लाख ५६ हजारभन्दा बढी नागरिक संक्रमित छन् । कुवेतमा साझ ५ बजेदेखि विहान ६ बजेसम्म कर्फू चलिरहेको छ । त्यस्तै कोरोना संक्रमित बढेसँगै कुवेत सरकारले मार्च १ तारिकदेखि आशिंक आममाफी घोषणा गरेको राजदूत भण्डारीले जानकारी दिए । रोजगारीमा कुवेत रहेका विभिन्न देशको श्रमिकलाई निशुल्क आ आफ्नो देश फर्काउने व्यवस्था सरकारले गरेको छ । आंशिक आममाफी घोषणामा कोरोना नियन्त्रण भएसँगै पून कुवेत रोजगारीको लागि जान पाउने व्यवस्था छ । पछिल्लो समय कुवेतमा ८ सय ५५ जनामा कोरोना भाइरस देखिएको छ । त्यस्तै १ जनाको मृत्यु भएको छ, भने १ सय ११ जनाको कुवेतका नागरिक उपचार पछि घर फर्किएका छन् ।
युएईमा सँगै बस्ने १२ मध्ये ७ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता । दुवईस्थित २ कोठामा सँगै बस्दै आएका १२ जना नेपालीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तर, सँगै बसेका अन्य नेपाली भने त्रासमा छन् । यो घटना यूएई स्थिति अल अरेबिया ट्याक्सी एलएलसीमा कार्यरत नेपालीको हो । जो विगत तीन हप्तादेखि लकडाउनमा बसिरहेका छन् । उक्त कम्पनीमा अगाडी नै खाने र बस्ने खर्च श्रमिकले आफै गर्नुपर्ने थियो । सो नियम अनुसार आफ्नो सहजताका लागि लामो समयदेखि २ वटा कोठामा १२ जना नेपाली सँगै बस्दै आएका थिए । सबै जना सोही कम्पनीका ट्याक्सी चालक हुन् । ५ जनालाई संक्रमण भइसकेको छ भने २ जनालाई पनि मंगलबार संक्रमण पुष्टी भएको छ । एक जनालाई भने अस्पतालमा राखिएको सोही कम्पनीमा काम गर्ने धादिङका एक युवकले जानकारी दिए । ‘त्रासपूर्ण स्थितिमा बस्न बाध्य छौं, दुई वटा कोठा हो, खानादेखि सबै सामाग्री एउटै प्रयोग गर्न विवश छौं, पछिल्लो समय ५ जनालाई कोरोना पुष्टी भएको थियो, अहिले म र अर्काे साथीलाई पनि कोरोना लागेको पुष्टि भयो बाँकी ५ जनाको रिपोट भोलि वा पर्सिमा आउँछ’ उनले भने । यो घटनाको बारेमा दुबईस्थिति नेपाली दूतावासमा सम्पर्क गर्दा दूताबासले खासै चासो नदेखाएको उनले बताए । स्वदेशमा रोजगारी नपाएर वार्षिक रुपमा लाखौंको संख्यामा नेपाली विदेशिन बाध्य छन् । सो कम्पनीमा कामकै क्रममा भेटिएका १२ जना नेपाली लामो समयदेखि सामूहिक रुपमा दुई वटा कोठामा बस्दै आएका थिए । एक हप्ता अगाडी ३ जनामा कोरोना पुष्टि भएसँगै अन्य दुईजनामा र आजमात्र (मंगलबार) दुइ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनले बताए । १२ जनामध्ये ७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएकामध्ये झापाका एक जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य संक्रमित काठमाडौं, झापा, उदयपुर, मोरङका ती व्यक्तिहरु भने कोठामा नै छन् । सिन्धुपाल्चोक २ जना र मोरङ, सुनसरी, नवलपरासीका १/१ को भने कोरोनाको रिपोट आउन बाँकी रहेको छ । यो सारा अवस्था बारे दूतावासलाई जानकारी दिन फोन गर्दा तत्काल फोन नलागेको गुनासो गर्दै लामो समयपछि सम्पर्क भएर आफ्नो समस्या सुनाउँदा पनि सहयोगको आश्वासन मात्रै दिएको उनले बताए । के गर्दै छन् सम्बन्धित निकायहरु ? कोरोना संक्रमितको संख्या बढेसँगै रोजगारीका लागि विदेश (प्रवास) मा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो र सक्रियता बढाएका छन् । सोमबार बेलुका युएई सरकार प्रमुखसँग नेपालीको स्वास्थ्य अवस्था तथा उपचारको विषयमा प्रधानमन्त्री ओलीले कुरा गरेका छन् । यूएई सरकारले उपचार तथा स्वास्थ्य सेवाका लागि आफ्नो देशको नागरिकसरह उपचार गराउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । विदेशमा रहेका नेपालीको सहयोग तथा द्रुतको रुपमा काम गर्ने दूतावास भने खासै सक्रिए देखिएको छैन । पछिल्लो समय आफ्नो देशका नागरिकको स्थिति कस्तो छ भन्ने विषयमा सक्रियता बढाए पनि सम्बन्धित पीडितले राहत महसुस गर्न पाएका छैनन् । दुवईस्थित नेपाली दूतावासले अल अरेबिया ट्याक्सी एलएलसी कम्पनीको बारेमा सो देशको सरकारमा कुरा राखेको जानकारी दिएको छ । दूतावासले नेपालीको अवस्था र स्थितिको जानकारी लिन सक्दो पहल गरेको जनाएको छ । करिब ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । कोरोना भाइरसको संक्रमण प्रमुख रोजगार गन्तव्यमा नै व्यापक रुपमा फैलिएको छ । कोरोना संक्रमण फैलिएर रोजगारी कटौति जस्ता समस्या देखिएपनि विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण विश्वका २ सय ८ देशमा फैलिएको छ । यस्तै, नेपालमा पनि कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । युएईमा कोरोना संक्रमितको नेपालीको संख्या १३ पुगेको छ । युएईमा एक नेपाली महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । युएईमा अहिलेसम्म २ हजार ७६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
लकडाउनपछि गोल्यान समूहले १० हजार गार्मेन्ट उद्योग खोल्ने, १ खर्बको लगानी, १० लाखलाई रोजगारी
काठमाडौं । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले लकडाउनपछि देशभर गरी १ खर्बको लगानीमा १० हजार गार्मेन्ट उद्योग खोल्ने भएको छ । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले विकासन्युजसगँ कुरा गर्दै लकडाउनको समय पछि देशैभरी गार्मेन्ट उद्योग खोल्ने तयारी भएको बताएका हुन् । ‘अब विदेशमा रहेका नेपाली पनि नेपालमा नै आउछन्, १० लाखलाई रोजगारी दिने गरि ७ वटै प्रदेशमा १० हजार गार्मेन्ट उद्योग खोल्ने छौं,’ अध्यक्ष गोल्यानले भने । गोल्यानले गोल्यान समूहको प्रमुख टिम नै गार्मेन्ट उद्योग खोल्न लागिपरिरहेको बताए । सरकारसगँ विदेशबाट चोरी पैठारी भएर आएको गार्मेन्ट रोक्न, न्यून विजकीकरण रोक्न र रङ डिलिङ रोक्न सरकारसगँ माग गरेको र सरकार पनि त्यसका लागि तयार भएको उनले बताए । समूहले पहिलो चरणमा गार्मेन्ट उद्योग स्थापना र दोस्रो चरणमा कपास उत्पादन सुरु गर्नेछ । गार्मेन्ट उद्योग स्थापनाको लागि ८० प्रतिशत बैंकबाट र बाँकी २० प्रतिशत उद्योगीले नै लगानी गर्नेछन् । ‘हाल नेपालको गार्मेन्टले ५ प्रतिशत मात्रै बजार धानेको छ, हाम्रो उत्पादनले विदेशबाट आउने ९५ प्रतिशत गार्मेन्ट विस्तापित गर्छ, मान्छे जन्मेदेखि मृत्युपछि समेत प्रयोग हुने कात्रो समेतमा आत्मनिभर बनाउने गरी देशैभरी गार्मेन्ट उद्योग स्थापना हुन्छ,’ गोल्यानले भने । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ २ देखि ५ वर्षभित्रमा सबै उद्योगले उत्पादन थालेर विदेशबाट आउने गार्मेन्टलाई स्वदेशी गार्मेन्टले विस्थापित गर्ने पनि उनले बताए । गोल्यान समूहले स्थापना गरेको गार्मेन्ट उद्योगले पिस सर्ट, ट्राउजर, ट्रयाकसुट, ज्याकेट, टि-सर्ट, स्कर्ट, कोट, जम्पसुट र कुर्तालगायत मान्छे जन्मेदेखि मृत्युपछि प्रयोग हुने कात्रो समेत उत्पादन गर्नेछ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । बैंक, धागो र प्लास्टिकजन्य वस्तु उत्पादनमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अब गार्मेन्ट उद्योगमा पनि लगानी गर्ने भएको हो । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित छ समूह । कुनै समय नेपालको प्रमुख निर्यात वस्तुको रुपमा पर्ने गार्मेन्ट अहिले भने खस्कँदै गएको छ ।