लोक सेवाका सबै लिखित परीक्षा स्थगित
काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता अपनाइरहेको समयमा लोक सेवाले पनि आफ्ना सबै प्रकारका लिखित परीक्षा रोक्ने निर्णय गरेको हो । आयोगले निजामती कर्मचारी, सुरक्षा निकाय र संगठिन संस्थाको कर्मचारी भर्नाको लागि लिखित परीक्षा लिने गर्छ । कोरोन सन्त्रासको कारण आयोगले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।
एक दशकसम्म पनि बनेनन् कर्णाली राजमार्गका तेह्र पुल
काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन् । गत असोजमा सम्पन्न गर्नुपर्ने ती पुलको म्याद पुनः थपिएको छ । म्याद थपसँगै निर्माणको काम अझै ढिलो हुने देखिएको छ । एक दशकदेखि निर्माण शुरु गरिएका करिब २० वटा पक्की पुलमध्ये सातवटा मात्र निर्माण सम्पन्न भएका छन् । अझै १३ वटा पुल निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । अधिकांश पुलमा मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने पेटी ठेकेदारले केही रकम बचाएर अर्कालाई जिम्मा दिने प्रवृत्तिका कारण पुल अलपत्र बनेको स्थानीयवासीको गुनासो छ । साँघुरो सडक र निर्माणाधीन पुल समयमै नसकिएपछि यात्रु दैनिक हैरानी खेप्नुपर्ने बाध्यतामा रहेका छन् । दैलेख खण्ड हुँदै जुम्लासम्म पुग्ने सो राजमार्गका पक्की पुलको जिम्मा लिएका कम्पनीको अन्तिम म्याद गत असोजसम्म थप गरिएको थियो । सरकारले पुनः नयाँ निर्देशिका जारी गरेपछि अहिले चार महिनादेखि एक वर्षसम्मको समय थप गरिएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए। उनले अन्तिम पटकका लागि म्याद थपिएको समयभित्र काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने बताए । सो राजमार्गको दैलेख खण्डका किटुखोला, जाक्सीखोला, पातलखोला, भट्टेखोला, पाल्तडाँलगायतका स्थानका पुल अझै निर्माण सम्पन्न हुनसकेका छैनन् । तल्लो डुगेश्वर सियाकोट जोड्ने लुवाखोलापुल सडकको सतहभन्दा होचो छ । रतिखोला पुल पनि अझै सम्पन्न भएको छैन । आठबीस नगरपालिका दैलेखका नगरप्रमुख खड्गराज उपाध्यायले तत्काल काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए । उनले राजमार्गमा पर्ने पुल निर्माण लिएका कम्पनीलाई बोलाएर छिटोसक्न ताकेता दिएको बताए । यातायातलाई सहज र प्रभावकारी बनाउन नेपाल सरकार र विश्व बैंकले अर्बौं लगानी गर्दा नागरिकका समस्यालाई निर्माण कम्पनीले ध्यान नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सुर्खेत सडक डिभिजन कार्यालयले दिएको जानकारीअनुसार पुल एउटै कम्पनीले विभिन्न कम्पनीसँग जेभी गरेर काम थालनी गरेको हो । रासस
घट्न थाल्यो रेमिटान्स, साढे ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति
काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा रेमिटान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको गत माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो । गत माघसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय १.१ प्रतिशतले कम भएर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति माघसम्ममा चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ । पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ थियो । शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक गत आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.७ प्रतिशत, ७०.८ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।