हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ

शरीरका कुनै पनि अङ्गको दुखाइ सामान्य नहुन पनि सक्छ । हामीले सामान्य दुखाइ भनेर बेवास्ता गर्दा भोलि शारीरिक अपाङ्गता देखी लिएर शरीरका जुनसुकै अंगमा क्षति पनि पुर्‍याउन सक्छ । विशेषगरी युवा उमेर समूहमा बढ्दै गएको र चिसो समयमा अझ बढी बिरामीलाई दुःख दिने बाथ रोग के हो ? बाथले नेपालीलाई कति दुःख दिइरहेको छ र यसको उपचार पद्धति नेपालमा कस्तो छ ?लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश : बाथरोग कस्तो किसिमको रोग हो ? यसका लक्षण कस्ता छन् ? बाथरोग शरीरको दुखाइ हो । यो दुखाइ सुतेर उठ्दा बिहानको समयमा अझ बढी हुन्छ । बाथ भएका भएका व्यक्तिलाई हातको आँख्ला दुख्ने, हिँड्न, बस्न र उठ्न निकै गाह्रो हुने गर्छ । बिहान सुतेर उठ्दा जीउ गाह्रो हुन्छ, पहिले सजिलै गरिरहेको काम गर्न अप्ठ्यारो लाग्दै जान्छ । घुँडा सुन्निने, जोर्नीहरू दुख्ने, कम्मरमा दुखाइ, हिँड्न सकिरहेको छैन, विस्तारै अशक्त जस्तै भइरहेको छ भने त्यो बाथरोगको लक्षण हुनसक्छ । सबै  दुखाइ बाथको हुँदैन । दुखाइ लक्षण हो । अस्पताल पुग्ने बिरामीहरू यहाँ दुखेको, उता दुखेको भनेर आउँछन् यो दुखाइ कहिलेदेखि भयो भन्ने समय अवधि हेरेर उपचार सुरु गरिन्छ ।  डा. अरुणकुमार गुप्ता । नेपालमा बाथरोगको अवस्था कस्तो छ ? आजभन्दा करिब २० वर्ष अगाडि बाथरोगका विषयमा धेरैलाई थाहा थिएन । बाथ लाग्दा अभिशाप हो भन्ने सोच मानिसमा थियो । धेरैले भाग्यलाई सराप्दै बस्थे । बिस्तारै चिकित्सा शिक्षाको बिस्तार हुँदै गएपछि बाथरोगका विषयमा पनि थाहा हुँदै गयो । २० वर्षपछि धेरै परिवर्तन आएको छ । त्यो बेलाको यो रोगप्रतिको बुझाइ, उपचार प्रणाली पनि धेरै फरक छ।         कुन उमेर समूहका व्यक्तिमा यसको समस्या बढी हुन्छ ? बाथरोग सबै उमेरसमूहका व्यक्तिलाई भइरहेको पाइन्छ । बच्चादेखि युवा र वृद्धवृद्धा पनि यो रोगको जोखिममा परिरहेका हुन्छन् । नेपालमा सबैभन्दा बढी बाथरोग देखिने समूह भएको १५ देखि ४० वर्ष हो ।  जाडोयाममा यो बढी हुन्छ भने गर्मीयाममा अलिक कम हुने गर्दछ । बाथ दुखाइकै रोग हो तर बाथकै कारण दुखाइ भएको हो वा अन्य कारण भन्ने विषयमा व्यक्तिको उपचार गर्ने क्रममा मात्र थाहा हुन्छ ।  बाथ कति प्रकारको हुन्छ ? बाथ सयौं प्रकारको हुन्छ । उमेरअनुसार बालबालिकादेखि वृद्धवृद्धालाई पनि यो समस्या भइरहेको पाइन्छ । कति बाथ हड्डी, जोर्नी, नसाबाट सुरु भएको हुन्छ यसको नाम पनि त्यही अनुसार फरक हुन्छ । लक्षणका हिसाबले कुन बाथ हो भन्ने कुरा छुट्याउन सकिन्छ । ओस्टियो अर्थाइटिस (जोर्नी खिइने बाथ), युरिक एसिडजन्य बाथ,(¥युमाटाइट अर्थाइटिस), लुपस, ढाडको बाथ, भास्कुलाईटिसलगायत सय भन्दा बढी प्रकारको हुन्छ । कुन प्रकारको बाथ हो भन्ने कुरा थाहा पाउन व्यक्तिको हिस्ट्रीबारे अध्ययन गरिन्छ । किनकि बाथरोग वंशाणुगत कारणले बढी देखिने गर्छ ।  बाथरोग सरुवा रोग त होइन तर यो कसरी लाग्छ ?  कुनै व्यक्तिलाई जीवाणु, किटाणु र भाइरसबाट कुनै रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई बाथ हुने सम्भावना बढी हुन्छ । ट्युबरकुलोसिस, चिकेन गुनिया, एचआईभी लगायतका रोग भएका व्यक्तिलाई हुने सम्भावना पनि हुन्छ । कुनै सरुवा रोग नभए पनि यस्ता रोगबाट आक्रान्त छन् भने त्यस्ता व्यक्तिलाई बाथरोग हुनसक्ने सम्भावना बढी हुन्छ । बाथरोग यही कारण हुन्छ भन्ने हुँदैन । बाथरोग भनेको अटोइम्युन रोग हो । हरेक मान्छेको शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ तर बाथरोगीलाई त्यो प्रणालीले आफ्नै शरीरको विरुद्धमा  आक्रमण गर्छ । उक्त आक्रमणलाई रगतभित्र रहेको एन्टीबडीले नै डिफेन्स गर्छ, जसले गर्दा शरीरलाई आघात गर्नसक्छ । कुन व्यक्तिलाई कुन प्रकारको ब्याक्टेरिया वा भाइरसले असर गर्छ भन्ने कुरा रगतको परीक्षण र अध्ययन गरेर मात्रै थाहा पाउन सकिन्छ । यो रोगको कारण भनेको एउटा वंशाणुत हो । कतिपय हर्मोनका कारण पनि यो रोग हुन्छ, जो महिलालाई बढी देखिने गर्छ ।  तर यो यही कारणले हुन्छ भन्ने हुँदैन । के कम्मरको दुखाइ पनि बाथ हुन सक्छ ? अहिले धेरैजसो व्यक्ति कम्मर दुखाइको समस्या लिएर आउने गर्छन् । त्यसमा पनि कुन उमेर समूहको व्यक्ति हो भनेर छुट्याइन्छ । कम्मरको तल्लो भागमा दुखेको हो भने त्यसलाई ‘लोअर ब्याक पेन’ भनिन्छ । जुन समस्या हाडजोर्नी, मांशपेसी र स्नायु रोगको समस्याले हुनसक्छ । तर कम्मरको दुखाइ छ भने  यो बाथ हो कि होइन भनेर अध्ययन गरिन्छ । यो दुखाइको प्रकृति कस्तो छ, एक–दुई दिनदेखि भएको हो कि, केही घण्टामा भएको हो कि, केही महिना वा वर्ष बितिसकेको हो भनेर हेरिन्छ । बाथको दुखाइ र मेकानिकल ब्याक पेन छुट्याइइन्छ ।  बाथको दुखाइ र अरू दुखाइमा फरक कसरी छुट्याउने ? बाथको दुखाइ तपाईं जति आराम गर्नुहुन्छ त्यति बढ्छ । जब शारीरिक व्यायाम गरिन्छ तब कम  भएको अनुभव हुन्छ । बाथको दुखाइ करिब ६ हप्तासम्म हुन्छ भने अर्को दुखाइ एक महिना वा दुई महिना नाघिसकेको हुन्छ । मेकानिकल दुखाइ केही दिनदेखि हप्तासम्म रहन्छ । बाथको दुखाइ रातको समयमा बढी हुन्छ भने अन्य दुखाइ दिनचर्यामा बढी हुन्छ । बाथको दुखाइले मोविलिटीलाई नै जाम गराइदिन्छ । दुखाइ बिहान ३० मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । अन्य दुखाइको कुनै समय हुँदैन । बाथले बिस्तारै बिस्तारै व्यक्तिलाई अपाङ्गता समेत गराउँछ । अन्य दुखाइले भने यस्तो अवस्था ल्याउँदैन ।  कम्मरको बाथ बढी पुरुषमा देखिन्छ हो ? यो समस्या बढी पुरुषमा देखिने गरेको छ । यसको दुखाइ कम्मरमा मात्र समिति हुँदैन । कम्मरबाहेक बिस्तारै घुँडा, गोलिगाँड, कुइना हातको आँख्लामा समेत असर गरेको हुन्छ भने गर्दनको हड्डीमा समेत यसले असर गर्छ ।  यो दुखाइ एक–दुई वर्षदेखि हुँदै आएको छ भने यसले तलमाथि दायाबायाँ, अगाडि पछाडि गर्न नसकिने अवस्थामा पुर्याइदिन्छ । बाथरोगको समयमै उपचार भएन भने यसले शरीरको संरचना नै परिवर्तन गराइदिनसक्छ ।  अस्पताल उपचारका लागि ढिला पुगेका धेरै व्यक्ति अपांगताको अवस्थामा पुगेका छन् । कुनै किसिमको दुखाइ छ, दुखाइ बढ्दै गएको छ भने त्यस्तो दुखाइ सहेर बस्न हुँदैन, तुरुन्तै अस्पतालमा गई उपचार गराउनुपर्छ ।  के बाथले शरीरका अरू अंगलाई पनि असर पार्छ ? बाथ एउटा दुखाइबाट सुरु हुन्छ । तर यसको हाँगा शरीरका विभिन्न अंगतिर छरिएको हुन्छ । टाउकादेखि खुट्टा, मुटु मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला लगायत हरेक अंगमा यसले असर पु¥याएको हुन्छ । अस्पताल पुगेका सय जनामध्ये एकजना दुखाइ भन्दा अन्य समस्या भएर उपचारका लागि आउँछन्–  जस्तै आँखा रातो हुने, बिझाउने, कतिको ज्वोतिमै समस्या आउने । कतिको आँखाको रोग बाथको कारणले पनि भएको पाइयो । यसले मुटुसम्बन्धी समस्या पनि ल्याउँछ, फोक्सोमा पनि असर पार्छ । फोक्सोमा विशेष गरी करङको हड्डीमा पनि असर पार्छ । त्यसैले बाथ दुखाइ मात्र हुँदैन, यसले शरीरका विभिन्न अंगलाई समेत असर पुर्याउँछ ।   बाथका बिरामीले कस्तो जीवनशैली अपनाउनुपर्छ ? बाथरोग खानपानसँग सम्बन्धित रोग होइन । युरिक एसिडको बाथरोग मात्रै खानपानसँग सम्बन्धित हुन्छ । युरिक एसिडको बाथरोग भएकाहरूले जाँडरक्सी, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ । अन्य प्रकारका बाथ रोगीहरूले भने खानपान बार्नु पर्दैन ।  बाथरोगको उपचार कसरी गरिन्छ ? अहिले हरेक बाथका रोगीको उपचार नेपालमा सम्भव छ । सबैभन्दा पहिले कुन बाथरोग हो भन्न कुरा पत्ता लगाउनुपर्छ । यसका लागि चिकित्सकको सल्लाह अनिवार्य चाहिन्छ । अस्पताल पुगेर बाथको प्रकार, स्टेज पत्ता लगाइसकेपछि मात्र उपचार सुरु गरिन्छ । औषधी, इन्जेक्सनसँगै बिरामीलाई फिजियो, शारीरिक व्यायाम, योगाको पनि सल्लाह दिइन्छ । कम्मरको बाथको हकमा युवा अवस्थाको व्यक्ति छ र उसको कम्मरको दुखाइ बाथकै हो भने समयमै उपचार अनिवार्य आवश्यक छ । 

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

मुम्बई । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने बताइएको छ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक आएको छ । 'स्थिति निरन्तर निगरानीमा राखिएको छ र आवश्यक सबै जनस्वास्थ्यका उपायहरू कार्यान्वयनमा छन्', विज्ञप्तिमा उल्लेख छ । यद्यपि सङ्क्रमित बिरामीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन । निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुरबाट किसानहरूमा फैलिएपछि पहिचान गरिएको थियो । भारतमा यसको पहिलो प्रकोप सन् २००१ मा पश्चिम बङ्गालमै देखिएको थियो । पछि सन् २०१८ मा केरलामा फैलिएको निपाहबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा सोही राज्यमा दुई जनाको ज्यान गएको थियो । यस भाइरसका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, बान्ता र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छन् । उहाँ फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । स्वास्थ्य विज्ञहरूका अनुसार फल खाने चमेरा निपाह भाइरसका प्राकृतिक वाहक हुन् र विगतका प्रकोपहरूमा पनि उनीहरूलाई मुख्य स्रोतका रूपमा पहिचान गरिएको छ । हालको अवस्थामा पनि सतर्कता अपनाउँदै निगरानी अझ कडा बनाइएको भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रासस

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक, प्रत्यक्ष विश्वकप हेर्ने अवसर

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ । यही उत्साहलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ । क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्‍याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए । यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।