नक्कले भुवनको ‘ओई नक्कली’ बजारमा

काठमाडौं । उदियमान मोडल भुवन श्रेष्ठको नयाँ भिडियो बजारमा आएको छ । चकलेटी लुक्सका भुवनको नयाँ भिडियो बजारमा आएको हो । ओई नक्कली बोलको गीतमा भुवनले आफ्नो कलाकारिता देखाएका छन् । भ्यालेन्टाइन्स डेको अवसर पारेर बजारमा आएको गीतको भिडियोमा बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । म्युजिक भिडियोमा रोहित शर्मा को छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ । उक्तगीतमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ , अभि सुनारको फिचरिङ रहेको छ । चकलेटी लुक्सका कारण पछिल्लो समय भुवनलाई नयाँ पुस्ताका आशा लाग्दा मोडलका रुपमा समेत हेर्न थालिएको छ । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका भुवनले नयाँ नयाँ म्युजीक भिडियोका लागि अफर आउने क्रम बढेको पनि बताए ।

अंग्रेजी बोल्दैमा र देश परिवर्तन गर्दैमा भविष्य राम्राे हुँदैन-गायक संजीव पराजुली, अष्ट्रेलिया

संजीव पराजुली गायन क्षेत्रमा उदाउँदा युवा कलाकार हुनुहुन्छ । उहाँले गाएको गीत ‘नाई मलाई थाहा छैन’ले निकै चर्चा पाएकाे छ । शुक्रबारसम्ममा यो गीत यूट्यूवबाट मात्र २ करोड पटक हेरिएको छ । गत साता मात्र उहाँले गाएको गीत हिट्हिट्को भिडियो सार्वजनिक भएको छ ।  विराटनगरमा जन्मेका, वाणिज्य शास्त्र र शास्त्रीय संगीतमा औपचारिक अध्ययन गर्नु भएका पराजुली पेशाले ग्राफिक डिजाईनर हुनुहुन्छ, त्यो पनि अष्ट्रेलियामा स्वरोजगारको रुपमा । अष्ट्रेलिया रहेर पनि गायनमा सफलताकाे सिंढी चढ्न सफल भईरहनु भएका पराजुली नेपाल फर्कने सोचमा हुनुहुन्छ । युवा पुस्ता विदेश जानको लागि घर, परिवार, समाज, देश पुरै छोड्न तयार भईरहेको समयमा अाखिरी किन उहाँ नेपाल फर्कने कुरा गर्दै हुनुहुन्छ ? यसै सन्दर्भमा विकासन्युजले पराजुलीसँग गरेको अन्तरवार्ताको सार । गायन क्षेत्रमा कसरी आउनु भयो ? म विराटनगरमा जन्मे, हुँर्केको हुँ । सानैदेखि गीत गाउँथे । घरमा सांगीतिक माहौल थियो । बुबाले रेडियो बजाउने गर्नुहुन्थ्यो र म पढ्ने बेलामा गीत गुनगुनाउने गर्थेँ। त्यतिबेला गीतसंगीत सुन्नका लागि रेडियो नेपाल मात्र थियो । अल इन्डिया रेडियोमा हिन्दी गीत सुन्थ्यौं । संगीत गुरु कुशेश्वर राईले चलाउनु भएको स्वर संगम संगीतालयमा पाँच वर्ष क्लासिकल संगीत सिकेँ विराटनगरमै । स्नातकसम्मको अध्ययन विराटनगरबाटै गरेको हुँ । काठमाडौं आएपछि मञ्जुश्री संगीत विद्यालयमा दुई वर्ष क्लासिकल म्यूजिक सिकेँ । सन् २००४ मा रेडियो नेपालमा स्वर परिक्षा दिएँ, पास पनि भएँ र उपहार स्वरुप रेडियो नेपालमा गीत रेर्कड गर्ने मौका पनि पाएँ । म र विराटनगरका साथी विपिन चन्द्र गजुरेल मिलेर देशभक्तीको गीत ‘देश हाम्रो कति राम्रो’ बोलको गीत गायौं । जसको शब्द रचना निरभिम दाईको थियाे । संगीत दीपक भट्टराईको थियो । संगीतकार उपेन्द्र रायमाझीले तारतम्य मिलाउनु भएको थियो । स्टूडियोमा गाएको पहिलो गीत, पहिलो अनुभव त्यहि थियो । सन् २००५ मा पहिलो पटक ‘नेपाली तारा’ कार्यक्रम भयो । त्यसमा नेपालभरबाट १० हजार भन्दा बढीले सहभागिता जनाएका थिए । त्यसमा टप ट्वान्टीबाट टप टेन छनौट गर्दा म बाहिरिन पुगेँ, गीतको एक वाक्य बिर्सिएर । म एकदमै लजालु थिएँ । पाँच जनाको अगाडि उभिएर बोल्नुपर्दा पनि गाला राताराता हुन्थे । त्यो समस्या अहिले पनि छ । कहिले काहीँ गाह्रो नै हुन्छ । नेपाली ताराबाट बाहिरिए पनि मेरो आत्मविश्वास बढेर गयो । त्यसपछि पहिलो कमर्शियल रेकर्डिङ स्टूडियोमा गएर गीत रेकर्ड गरियो । त्यो गीतको बोल थियो ‘तिमीले रोजेको जस्तो म मान्छे रहेनछु’ … । निरभिम दाईको शब्द थियो । संगीत दीपक भट्टराई र स्वर मेरो । अहिलेसम्म कति गीत रेकर्ड गराउनु भएको छ ? २५ भन्दा बढी गीत रेकर्ड भएका छन् । १८ वटा गीत सार्वजनिक भएका छन् । दुई वटा एकल एल्बम सार्वजनिक भएका छन् । पहिलो एल्बम ‘सुनय’ हो जसको अर्थ सुमार्ग हो । यसमा पाँच वटा गीत छन् । सबैमा मेरो स्वर छ । शब्द र संगीत फरक फरक व्यक्तिहरुको छ । करिव ७ महिनाअघि सो एल्बम सार्वजनिक भएको थियो । यस गीतमा ‘नाई मलाई थाहा छैन’ बोलको गीत निकै चर्चित भयो । यस गीतमा टीका प्रसाईंले मलाई स्वरमा साथ दिनु भएको छ । यो गीत यूट्यूवमा २ करोडभन्दा बढीले हेरेका छन् । ‘त्यो सपना’ नामको दोस्रो एल्बम हालै सार्वजनिक भएको छ । यसमा पनि पाँच वटा गीत छन् तर फरक फरक भावनालाई समेटिएको छ । शब्द, स्वर, संगीत सबैमा धेरै फरक छ । यसमा ‘त्यो सपना’, ‘पहिलो भेटैमा’, ‘हिट्हिट्’, ‘मेरी मायालु’ र ‘बेदनाले भरिएको छाती’ बोलको गीतहरु समेटिएका छन् । पहिलो भेटैमा बोलको गीतमा टिका प्रसाईंले  पनि स्वर दिनु भएको छ । यी पाँच वटै गीतको शब्द रचना होमनाथ न्यौपानेको छ । पाँच वटै गीतमा दीपक भट्टराईको संगीत रहेको छ । त्यसबाहेक फुटकर अरु एल्वमहरुमा पनि मैले गाएको गीतहरु समावेश भएका छन् । ‘सँगसँगै’ नामको नयाँ एल्बमको तयारीमा पनि छौं हामी । तपाईं, होमनाथ र दीपकबीचको सम्बन्ध के हो ? म अष्ट्रेलियामा बस्छु । दीपक भट्टराई जापानमा बस्नुहुन्छ । होमनाथ न्यौपाने नेपालमा बस्नुहुन्छ, चौधरी ग्रुपमा महाप्रबन्धक हुनुहुन्छ । हाम्रो सांगीतिक गठबन्धन शुरु भएको १७ वर्ष भयो । त्यतिबेला देखि नै हामीले एल्बम निकाल्ने सपना देखेका थियौं । त्यो सपना पूरा भएको छ । हामी सबै काठमाडौंमा जुटेर त्यो एल्बम सार्वजनिक गरेका छौं । तपाई नेपालमा नबसेर किन अष्ट्रेलियामा बस्नुहुन्छ ? शंकरदेवबाट व्यवस्थापनमा स्नाकोत्तर गरेपछि मैले आप्का हाउस प्रिप्रेसमा काम थालेँ । ६ वर्षसम्म त्यहाँ काम गरेँ । त्यसपछि थप अध्ययनको सिलसिलामा म १० वर्षअघि अष्ट्रेलिया गएँ । खासगरी ग्राफिक डिजाईनमा आफूलाई दक्ष बनाउनु थियो । पढ्दै गर्दा काम पनि थालियो । विभिन्न बन्धनमा बाँधिदै गइयो । अष्ट्रेलियामा पनि म ग्राफिक डिजाइन र प्रिप्रेसको काम गर्छु । म स्वरोजगार छु । अष्ट्रेलियामा आफ्नै घरमा प्रेस राखेको छु । विभिन्न एजेन्सीबाट काम लिन्छु । अष्ट्रेलिया गएपछि पनि साधनाको प्रयास जारी थियो । गायन प्रयास जारी राखेँ, नेपालीहरुले आयोजना गरेका स्टेज प्रोग्रामहरुमा गीत गाउँदै आएको छु तर गीत रेकर्डिङ गर्ने मौका मिलेन । अब मलाई नेपाल नै फर्कन र गायनलाई जोड दिन मन छ । नेपालको सांगीतिक क्षेत्रमा केही योगदान गर्ने सोच ममा विकसित हुँदै आएको छ । आफूलाई लागेको इच्छा पूरा भयो भने मात्र खुशी हुन सकिन्छ । अरु नेपालीहरु आफ्नो परिवार पनि विदेश लैजानेतर्फ अभ्यस्त छन् । तपाई सपरिवार नेपाल फर्कने कुरा गर्नुहुन्छ, किन ? म १० वर्षदेखि विदेशमा बस्दै आएको छु । धेरै साथीहरुको परिवारलाई देखेको छु, बुझेको छु । अंग्रेजी लवज आउँदैमा, अंग्रेजीमा राम्रो बोल्न, लेख्न आउँछ भन्दैमा उसको भविष्य राम्रो हुन्छ भनेर सोचियो भने त्यो मूख्र्याईं हुन्छ । राम्रो भविष्य भनेको खुशी हो । जीवन सहज, सरल र सुगम हुनुपर्छ । पैसा सबै थाेक होइन, पैसाले खुशी दिँदैन र विदेश जाँदैमा पैसा टन्न कमाई हुन्छ भन्ने पनि होइन । पैसा कमाईएला तर त्यसले खुशी दिएको छ कि छैन भन्ने कुरा मुख्य हो । तपाई अष्ट्रेलियामा बस्दा कति कमाउनु हुन्छ, नेपाल फर्कनु भयो भने कति कमाउनु हुन्छ ? अष्ट्रेलियामा दिनमा १०० डलर कमाएको छ तर १० डलर पनि बचाउन सकिएको छैन भने त्यो के कमाई भयो र ? मैले काठमाडौंमा धेरै साथी भेटेको छु जसले मासिक लाख रुपैयाँ भन्दा बढी बचाउनु हुन्छ । नेपालमा पनि राम्रो कमाई देखिन्छ । उहाँहरुको केटाकेटी पनि राम्रै स्कूल कलेजमा पढिरहेको देख्छु । देशविदेश पनि घुम्नुहुन्छ । देश परिवर्तनले मात्र भविष्य राम्रो हुन्छ भन्ने मान्यताप्रति मेरो विश्वास छैन । नेपालमा भन्दा अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप वा जापानमा अलि राम्रो शासन व्यवस्था छ, केही राम्रो सेवा सुविधा नागरिकले पाएका छन् । आफूलाई सुरक्षित पनि ठान्छन् । नेपालमा राम्रो शासन व्यवस्था छैन । अरु सबै कुरामा नेपाल कहाँ हो कहाँ । यो देश, यो समाज धेरै राम्रो छ । यहाँ बस्न, जीउन निकै सहज र रमाईलो छ । गायनलाई पेशा बनाउन सकिन्न ? कुनै पनि गायकले गीत गाएर गरिएको कमाइले सेलिब्रेटी बन्न गाह्रो होला तर परिवार पाल्न सक्छ । विदेशमा बसेर गीत गाएर परिवार पाल्न भने सकिँदैन । तपाईं पैसा कमाउन गीत गाउनु हुन्छ, अरुलाई मनोरञ्जन दिन गीत गाउनु हुन्छ कि आत्मसन्तुष्टि प्राप्तिको लागि गीत गाउनु हुन्छ ? मैले कमाउन गीत गाएको होइन । गाउनु मेरो हवी हो । मेरो आत्मसन्तुष्टिको लागि नै मैले गीत गाउँछु । मलाई रुची लागेको गीत गाउँछु । तपाईले आफ्नो रुची र आत्मसन्तुष्टिका लागि गाएको गीत स्रोताले किन मन पराउने ? गीतका स्रोताको रुची पनि फरक फरक हुन्छ । कसैलाई माया पिरतीको गीत मन पर्ला, कसैलाई दुःख वेदनाका शब्दले भरिएको गीत मन पर्ला । सबैका आ-आफ्नाे छनाैट हुन्छ । म मलाई मन पर्ने गीत गाउँछु । त्यहि गीत कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । उमेर र अनुभवले पनि परिपक्व बनाउँदै लैजान्छ । अहिले म मेरो सन्तुष्टिको लागि पनि गीत गाउँछु अनि स्रोताको रुचीका आधारमा पनि गीत गाउँदै अाएकाे छु ।

बामपन्थी गठबन्धनलाई सेयर बजारको रेड सिग्नल, ६ अंकले अरोलो

काठमाडौं । देशभर बामपन्थी गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन जितिरहँदा सेयर बजार भने ओरालो लागेको छ । आइतबारको सेयर बजारमा सामान्य गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ६.०५ अंकले ओरालो लागेर १५३०.४९ अंकमा अडेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि कारोबारमा भने वृद्धि भएको छ । बजारमा ८४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५८ कम्पनीको १२ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी स्ट्याडर्ड बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१९७ रुपैयाँ रहेको छ । कम्पनीले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लभांश दिने घोषणा गरेपछि कम्पनीको सेयर कारोबारमा वृद्धि भएको हो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ४० र अन्य समूह २ अंकले उकालो लागेका छन् । त्यस्तै, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । त्यसैगरी, बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।