कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । फिफा विश्वकप– २०२६ का १०० खेल पूरा भइसकेका छन् । लामो यात्रा, धेरै खेल र रोमाञ्चक क्षणपछि प्रतियोगिता अब अन्तिम चरणतर्फ अघि बढिरहेको छ । क्वार्टरफाइनलका चारै खेल निकै प्रतिस्पर्धात्मक रहे । फ्रान्सले अन्ततः मोरक्कोलाई पराजित गर्यो, स्पेनले सुपर–सब मिकेल मेरिनोको अन्तिम समयको गोलमा बेल्जियमलाई हरायो, जुड बेलिङ्घम इंग्ल्यान्डका लागि नायक बनेर नर्वेमाथि जित दिलाए भने अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको चुनौती अन्ततः तोड्न सफल भयो । अहिले घमण्ड गर्न खोजिएको होइन, तर अप्टा सुपरकम्प्युटरले अन्तिम चार टोलीको सही भविष्यवाणी गरेको थियो । प्रतियोगिता सुरु हुँदा विश्वकप जित्ने शीर्ष चार दाबेदार सबै टोली सेमिफाइनलमा पुगेका छन् । यही आधारमा अप्टा सुपरकम्प्युटरलाई फेरि सोधिएको छ, फिफा विश्वकप २०२६ को उपाधि अन्ततः कसले जित्ला ? पछिल्ला चार पुरुष विश्वकपमध्ये स्पेन, फ्रान्स र अर्जेन्टिनाले तीन उपाधि जितेका छन्। इंग्ल्यान्ड भने सन् १९६६ यता पहिलो पटक विश्वकप जित्दै ‘६० वर्षको प्रतीक्षा’ अन्त्य गर्ने लक्ष्यमा छ । फिफा विश्वकपको इतिहासमा यो तेस्रो पटक मात्र हो, जब सेमिफाइनलमा पुगेका चारै टोली पूर्व विश्वविजेता हुन् । यसअघि यस्तो सन् १९७० र १९९० मा भएको थियो । फ्रान्स सबैभन्दा बलियो दाबेदार अप्टा सुपरकम्प्युटरका अनुसार अहिलेको अवस्थामा विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावना फ्रान्सको छ । डीडीए डेसाँको टोलीले उत्तर अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तान किलियन एमबाप्पे आठ गोलसहित लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता छन् भने उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् । मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा दुवैले एक–एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्याएका थिए । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गर्ने दोस्रो टोली फ्रान्स बनेको छ । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो (८) र रिभाल्डो (५) ले यस्तो उपलब्धि हासिल गरेका थिए । यस विश्वकपमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान रूपमा ६–६ गोल गरेका छन् । मोरक्कोमाथिको २–० को जितसँगै डेसाँले प्रशिक्षकका रूपमा विश्वकपमा २०औं जित निकाले । यो उपलब्धि हासिल गर्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । विश्वकपमा उनको यो २५औं खेल थियो, जसले हेल्मुट शोनको कीर्तिमान बराबरी गरेको छ । स्पेनविरुद्धको सेमिफाइनल उनको २६औं खेल हुनेछ, जसले नयाँ कीर्तिमान बनाउनेछ । यो डेसाँको प्रशिक्षकका रूपमा अन्तिम विश्वकप पनि हो । विश्वकपका बाँकी खेलका २५ हजार सिमुलेसनमा फ्रान्स ५७.७ प्रतिशत अवस्थामा स्पेनलाई हराएर लगातार तेस्रो पटक फाइनल पुग्ने देखिएको छ । समग्रमा उपाधि जित्ने सम्भावना ३४ प्रतिशत छ । स्पेन पनि बलियो चुनौती स्पेन यस विश्वकपको दोस्रो सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ । लुइस डे ला फुएन्तेको टोलीले बेल्जियमविरुद्धको क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन । फाबियन रुइजले अग्रता दिलाएपछि चाल्र्स डे केटेलारेले बराबरी गोल गरे । उनको हेडरले स्पेनको विश्वकपमा लगातार ६४९ मिनेटसम्म गोल नखाने श्रृंखला समाप्त गरेको थियो । तर पोर्चुगलविरुद्ध अन्तिम १६ मा जस्तै मिकेल मेरिनो फेरि बेन्चबाट आएर अन्तिम समयमा विजयी गोल गर्दै स्पेनलाई सेमिफाइनल पुर्याए । स्पेनको यो विश्वकप इतिहासको दोस्रो सेमिफाइनल हो । यसअघि सन् २०१० मा सेमिफाइनल पुगेर दक्षिण अफ्रिकामा पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि स्पेन मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएयता लगातार ३६ खेल अपराजित छ । यस अवधिमा उसले २७ जित र ९ बराबरी खेलेको छ, जुन उसको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो । सुपरकम्प्युटरका अनुसार स्पेनको फाइनल पुग्ने सम्भावना ४२.३ प्रतिशत र उपाधि जित्ने सम्भावना २३.४ प्रतिशत छ । त्यसैले मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलका विजेताले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । बेलिङ्घमको लयमा इंग्ल्यान्ड यस विश्वकपमा इंग्ल्यान्डले धेरै प्रभावशाली प्रदर्शन नगरे पनि टोली लगातार जित निकाल्न सफल भएको छ । प्रशिक्षक थोमस टुखेलले पनि नर्वेविरुद्ध टोलीले उत्कृष्ट खेल नखेलेको स्वीकार गरेका थिए । तर इंग्ल्यान्डलाई सेमिफाइनल पुर्याउन जुड बेलिङ्घमले निर्णायक भूमिका खेले । आन्द्रियास शेल्डेरुपले नर्वेलाई अग्रता दिलाएपछि बेलिङ्घमले पहिलो हाफमै बराबरी गोल गरे । अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोक्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि अन्तिम १६ मा मेक्सिकोविरुद्ध दुई गोल गरेका बेलिङ्घमले नर्वेविरुद्ध पनि दुई गोल गरे । एउटै विश्वकपको लगातार दुई नकआउट खेलमा दुई वा बढी गोल गर्ने उनी सन् १९८६ मा डिएगो माराडोना पछि पहिलो खेलाडी बने । सन् २०१८ यता इंग्ल्यान्ड विश्वकप वा युरोपियन च्याम्पियनसिप गरी चार प्रमुख प्रतियोगिताको सेमिफाइनल पुगेको छ । त्यसअघि आफ्नो सम्पूर्ण इतिहासमा पनि इंग्ल्यान्डले यसरी नै चार पटक मात्र अन्तिम चारमा स्थान बनाएको थियो । अप्टा सुपरकम्प्युटरले इंग्ल्यान्डलाई विश्वकप जित्ने तेस्रो ठूलो दाबेदार मानेको छ । उपाधि जित्ने सम्भावना २१.९ प्रतिशत र सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना ५०.९ प्रतिशत रहेको अनुमान छ । अर्जेन्टिना अझै पनि खतरनाक सेमिफाइनलमा इंग्ल्यान्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुनेछ । यस विश्वकपमा पहिलो पटक लियोनेल मेसी गोल गर्न असफल भए । ३९ वर्षीय मेस्सीलाई गोल गर्न नदिने पहिलो टोली स्विट्जरल्यान्ड बन्यो । तर अर्जेन्टिनालाई त्यसले रोक्न सकेन । मेस्सीकै कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफमा डान एनडोयेले बराबरी गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ग्राफिक्स : अप्टा एनालाइसिस ब्रिल एम्बोलोलाई भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि डाइभ गरेको ठहर गर्दै दोस्रो पहेँलो कार्डसहित रातो कार्ड दिइएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि जुलियन अल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए । अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै जित सुनिश्चित गरे । यो अर्जेन्टिनाको विश्वकप इतिहासको १३औं अतिरिक्त समयसम्म पुगेको खेल थियो । तीमध्ये ११ खेलमा (पेनाल्टी सुटआउटसहित) अर्जेन्टिना विजयी भएको छ । यससँगै अर्जेन्टिना र इंग्ल्यान्डबीच सन् २००२ पछि पहिलो पटक विश्वकपमा भेट हुने भएको छ । यद्यपि साविक विजेता भए पनि अप्टा सुपरकम्प्युटरले अर्जेन्टिनालाई बाँकी चार टोलीमध्ये सबैभन्दा कम सम्भावना भएको टोली मानेको छ । उपाधि जित्ने सम्भावना २०.६ प्रतिशत छ । तर इंग्ल्यान्डविरुद्धको सेमिफाइनल भने लगभग बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २५ हजार सिमुलेसनमध्ये ४९.१ प्रतिशतमा अर्जेन्टिना फाइनल पुगेको देखिएको छ । अन्य सामग्रीहरू : इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
इङ्ग्ल्यान्डको नायक बेलिङ्घम
काठमाडौं । ह्यारी केन कि अर्लिङ हालान्ड ? अर्लिङ हालान्ड कि ह्यारी केन ? नर्वे र इङ्ग्ल्यान्डबीचको विश्वकप क्वार्टरफाइनलअघि फुटबल जगतमा सबैभन्दा बढी चर्चा यी दुई विश्वस्तरीय स्ट्राइकरको प्रतिस्पर्धाकै थियो । ह्यारी केन कि अर्लिङ हालान्ड ? अर्लिङ हालान्ड कि ह्यारी केन ? सेमिफाइनल पुग्ने दौडमा यीमध्ये एकले आफ्नो टोलीका लागि निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको थियो। म्यानचेस्टर सिटीका स्टार हालान्डले यस गर्मीयाममा देखाएको उत्कृष्ट प्रदर्शन र उत्तर अमेरिकाका समर्थकमाझ बनाएको लोकप्रियताले यो भिडन्तलाई झनै आकर्षक बनाएको थियो । तर मियामीको गर्मीमा केन र हालान्ड दुवैलाई विपक्षीले प्रभावहीन बनाइदिए । त्यसपछि भने अर्को खेलाडीले सबैको ध्यान खिचे । अतिरिक्त समयमा इङ्ग्ल्यान्डले नर्वेलाई २–१ ले हराउँदा नायक बने जुड बेलिङ्घम । पछिल्ला केही वर्षदेखि इङ्ग्ल्यान्डलाई नजिकबाट हेर्नेहरूले जान्दछन्—यो टोली केवल केनमा मात्र निर्भर छैन । टोलीले राम्रो प्रदर्शन नगरेका खेलहरूमा समेत बेलिङ्घमले संकटमोचकको भूमिका निर्वाह गर्दै आएका छन् । आज बिहान पनि रियल म्याड्रिडका यी मिडफिल्डरले इङ्ग्ल्यान्डलाई सेमिफाइनल पुर्याए । यस खेलमा दुई गोल गरेसँगै बेलिङ्घमले विश्वकपमा इङ्ग्ल्यान्डका लागि आफ्नो गोल संख्या ७ (२०२२ को विश्वकपमा एक गोल) पुर्याए । २३ वर्ष वा सोभन्दा कम उमेरमा विश्वकपमा यसभन्दा बढी गोल गर्ने खेलाडी केवल केलियन एम्बाप्पे (१२) मात्र छन् । यसअघि युरो २०२४ को फाइनलसम्म इङ्ग्ल्यान्डलाई र्पुयाउन पनि उनले महत्त्वपूर्ण योगदान दिएका थिए । यद्यपि इङ्ग्ल्यान्डको समग्र प्रदर्शन भने प्रभावशाली थिएन । मियामी स्टेडियममा अधिकांश समय नर्वे नै बढी खतरनाक देखिएको थियो । इङ्ग्ल्यान्ड लामो समयसम्म फिक्का र सिर्जनात्मकताविहीन देखियो । तर यो इङ्ग्ल्यान्ड विपक्षीलाई दबाबमा राखेर जित निकाल्नेभन्दा पनि सही समयमा निर्णायक क्षण सिर्जना गर्ने टोलीका रूपमा परिचित भइसकेको छ । अनि बेलिङ्घमजस्ता खेलाडी हुँदा कहिलेकाहीँ एउटा क्षण नै पर्याप्त हुन्छ । वास्तवमा नर्वेविरुद्ध बेलिङ्घम धेरै समय शान्त देखिएका थिए । तर टोलीलाई सबैभन्दा बढी आवश्यक परेको क्षणमा उनी नै चम्किए । पहिलो हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्ड पछि पर्ने अवस्थामा थियो । त्यही बेला एन्थोनी गोर्डनको पासमा अगाडि बढेका बेलिङ्घमले उत्कृष्ट पहिलो टचमार्फत बल नियन्त्रणमा लिए, डिफेन्डरलाई छक्याउँदै बक्सभित्र प्रवेश गरे र बायाँ खुट्टाले तल्लो दायाँ कुनामा सटिक प्रहार गर्दै गोल गरे । गोलपछि उनले आफ्नो चर्चित सेलिब्रेसन दोर्होयाए—छाती फुलाउँदै हात दुवैतर्फ फैलाए । कतिपयलाई यो घमण्ड लाग्न सक्छ, तर बेलिङ्घमका लागि त्यो आत्मविश्वासको प्रतीक हो । सम्भवतः उनले नर्वेका आन्द्रियास स्केल्डेरुपले सुरुआती गोलपछि गरेको उस्तै शैलीको उत्सव पनि सम्झिरहेका थिए। यो गोलसँगै बेलिङ्घमले विश्वकप २०२६ मा ६ गोल गरे । मिडफिल्डरका लागि यो निकै उल्लेखनीय उपलब्धि हो र यसले इङ्ग्ल्यान्डको यात्रामा उनको महत्त्व झन् टड्कारो रूपमा देखापर्छ । यस खेलले विश्वकपभर इङ्ग्ल्यान्डको यात्राको प्रतिबिम्ब पनि देखायो । उनीहरूले सुन्दर फुटबलभन्दा बढी संघर्ष, आत्मबल र जुझारुपनका भरमा सफलता हासिल गरेका छन् । कतिपय खेलाडीले आफ्नो स्वाभाविक पोजिसनभन्दा फरक स्थानमा खेल्नुपरेको थियो भने केही चोट र स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । धेरै क्षणमा इङ्ग्ल्यान्डको चौथो विश्वकप सेमिफाइनल यात्रा असम्भवजस्तै देखिएको थियो । तर गुणस्तरमा देखिएको कमीलाई उनीहरूले अदम्य आत्मविश्वास र संघर्षशीलताले पूर्ति गरेका छन् । यसको सबैभन्दा ठूलो उदाहरण अतिरिक्त समयमा बेलिङ्घमको विजयी गोल बन्यो । मोर्गन रोजर्सको टाढाबाट आएको शक्तिशाली प्रहार नर्वेका गोलरक्षक ओर्जान नाइलान्डले रोक्ने प्रयास गरे पनि बल खतरनाक क्षेत्रमा फर्कियो । त्यही अवसरमा बेलिङ्घम सही ठाउँमा उपस्थित भए र सहज रूपमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए । युरो २०२४ मा इङ्ग्ल्यान्डलाई संकटबाट जोगाएपछि बेलिङ्घमले चिच्याउँदै भनेका थिए, ‘हु इल्स (अरू को ?)’ यसपटक पनि उत्तर उही रह्यो—बेलिङ्घम नै । यस प्रतियोगितामा उनको गोल संख्या अब छ पुगेको छ, जसमा कुनै पनि पेनाल्टीबाट आएको छैन । यससँगै उनी एकै विश्वकपमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक गैर–पेनाल्टी गोल गर्ने खेलाडीको संयुक्त कीर्तिमानमा पुगेका छन् । यसअघि मेक्सिकोविरुद्ध पनि दुई गोल गरेका बेलिङ्घम विश्वकपका लगातार दुई नकआउट खेलमा दुई–दुई गोल गर्ने पहिलो खेलाडी बने । यसअघि यस्तो उपलब्धि सन् १९८६ मा डिएगो म्याराडोनाले हासिल गरेका थिए, जसले अन्ततः अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । बेलिङ्घम पनि त्यही उपलब्धि दोर्होयाउने आशामा छन् । अहिल्यै त्यो लक्ष्य धेरै टाढा भए पनि बेलिङ्घम इङ्ग्ल्यान्डका लागि प्रेरणादायी नेतृत्वकर्ता बनेका छन् । टोलीलाई निर्णायक क्षण चाहिएको बेला उनी फेरि उपस्थित भए । अग्रता लिएपछि इङ्ग्ल्यान्डसँग जोगाउनुपर्ने नतिजा थियो भने नर्वे आक्रमणमा जान बाध्य भयो । अतिरिक्त समयको बीचतिर सम्भावित चोटका कारण हालान्ड मैदानबाट बाहिरिनु पनि इङ्ग्ल्यान्डका लागि फाइदाजनक बन्यो । अन्तिम १५ मिनेटमा नर्वेको दबाब झेल्दै अग्रता जोगाउनु इङ्ग्ल्यान्डका लागि परिचित अवस्थाजस्तै बन्यो । यद्यपि इङ्ग्ल्यान्डबारे अझै धेरै प्रश्न बाँकी छन् । के प्रशिक्षक थोमस टुखेलले भने झैं यो टोली अझ राम्रो खेल्न सक्छ ? के उनीहरू यहाँसम्म पुग्नु केवल भाग्यको परिणाम हो ? वा यस्तै निर्णायक क्षणहरूले ६० वर्षदेखिको विश्वकप उपाधिको प्रतीक्षा अन्त्य गराउन सक्छ ? यी प्रश्नको उत्तर त भविष्यले नै दिनेछ । तर एउटा कुरा भने ढुक्कजस्तै छ, जबसम्म जुड बेलिङ्घम यस्तै लयमा छन्, इङ्ग्ल्यान्डका लागि कुनै पनि लक्ष्य असम्भव देखिँदैन । अन्य सान्दर्भिक सामग्रीहरू: सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका सबै खेल सकिएसँगै अर्जेन्टिना, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । अब उपाधि यात्राका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्ड तथा फ्रान्स र स्पेनबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । विश्व फुटबलका दुई ऐतिहासिक प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल सबैभन्दा बढी प्रतीक्षित खेलका रूपमा हेरिएको छ । सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको ‘गोल अफ द सेन्चुरी’का कारण यी दुई टोलीबीचको प्रतिस्पर्धाले विशेष ऐतिहासिक महत्त्व पाएको थियो । त्यसयता विश्वकपमा यी दुई टोलीबीच भएका प्रत्येक भेट फुटबल समर्थकमाझ विशेष आकर्षणको केन्द्र बन्दै आएका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । उता इङ्ग्ल्यान्डले नर्वेमाथि जित निकाल्दै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । युवा स्टार जुड बेलिङ्घम र कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शन इङ्ग्ल्यान्डका लागि निर्णायक बन्दै आएको छ । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । फ्रान्सले मोरक्कोलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा स्पेनले बेल्जियमलाई रोमाञ्चक खेलमा पराजित गर्दै उपाधिको आशा कायम राखेको हो । दुवै टोली आक्रामक शैलीको फुटबल खेल्ने भएकाले यो खेल पनि उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सेमिफाइनलमा पुगेका चारै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् । अर्जेन्टिना तीन पटक (१९७८, १९८६ र २०२२), फ्रान्स दुई पटक (१९९८ र २०१८), स्पेन एक पटक (२०१०) र इङ्ग्ल्यान्ड एक पटक (१९६६) विश्वकप च्याम्पियन बनिसकेका छन् । चारवटै टिम फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका छन् । पहिलो स्थानमा फ्रान्स, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रो स्थानमा स्पेन र चौंथो स्थानमा इंङ्ग्ल्यान्ड रहेको छ । अब विश्वकपमा दुई सेमिफाइनल, तेस्रो स्थानका लागि हुने एक खेल र फाइनल गरी चार खेल मात्र बाँकी छन् । सेमिफाइनलबाट विजयी हुने दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्य सान्दर्भिक सामग्रीहरू : यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे