अटो क्षेत्रलाई उकास्न नाडाको १७ बुँदे सुझाव, जाँचपासमा कडाइ गर्नेदेखि क्याप बढाउनेसम्म

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको अटोमोबाइल व्यवसायलाई उकास्न विभिन्न १७ बुँदे सुझाव दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी विभिन्न नीतिगत सुझावहरु दिएको हो । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गरे । छलफलमा अर्थमन्त्री डा. महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावहरुप्रति जिज्ञासा राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए । यस्ता छन् सुझावहरु १. नेपालमा माल बाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न दिनाले नेपाली गाडी व्यवसायको व्यापार घट्दै गएकोले २४ घण्टाको समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था हुनु पर्ने । २. खुल्ला सीमानाको कारणले गर्दा अनधिकृत रुपमा नेपालतर्फ टायर तथा अटोमोबाइल स्पेयर पार्टसको आयातको कारण नेपालमा त्यसको व्यवसाय घट्दै गएकोले सिमानाको जाँचपासमा कडाइ गरिनु पर्ने । ३. कारोबार तथा व्यवसाय घट्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मापदण्डले झन् अप्ठ्यारो स्थिति सृजना भएकोले तत्काल चालु पुँजी कर्जा मापदण्ड स्थगित गरिनु पर्ने । ४. त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ, जसले गर्दा अटोमोबाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टु भ्यालु रेसियो ५० प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने । ५. बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनु पर्ने । ६. व्यापार व्यवसाय गर्दा भन्सार मूल्याङ्कन एउटा पेचिलो विषय बन्दै आएको छ । भन्सार विभागले वास्तविकता भन्दा तीन गुणा बढीसम्म हुने गरी आफनो सन्दर्भ मूल्यसूची संशोधन गरेको छ । विभागको यस्तो निर्णयले हाम्रा सबै अटोमोबाइल स्पेयरपार्टस पैठारीकर्ताहरु थप समस्यामा परिरहेका छन् । भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन प्रणालीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाइनु पर्छ भन्ने हाम्रो दृढ मान्यता छ । सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्ने र भन्सार नाकाहरुमा चोरी पैठारी व्यापक रुपमा बढीरहेकोले यसलाई नियन्त्रण गर्न आवश्यक सयन्त्र स्थापना गर्ने व्यवस्था हुनु पर्ने । यसले अनधिकृत रुपमा आयात भईरहेको स्पेयर पार्टसलाई रोकथामगरी राजश्व वृद्धिमा सहयोग पुग्ने, आधिकारिक डिलर भएर व्यवसाय गर्नेलाई संरक्षण हुने र चोरी पैठारी रोक्न सहयोग पुग्ने । ७. कर प्रणाली अस्पष्ट तथा झन्झिटिलो हुनाले व्यवसायीहरु अडिटरबाटै सबै काम गराउँदै आएका छन् यसका लागि सरकारले कर प्रणाली स्पष्ट तथा चुस्त दुरुस्त राख्नु पर्ने र हरेक कर कार्यालयमा ब्यावसायिक हेल्प डेस्क को स्थापना गरिनु पर्ने । ८. कालोसूचीमा रहेको व्यक्ति फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाईनु पर्दछ यसका लागि बैंकले कालोसुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने तथा अनुसूची १३ मा देखाइएको बक्यौदालाई आधिकारीक मानी कानुनी प्रक्रीयामा जान मिल्नेगरी कार्यविधि तयार गर्नुपर्ने । ९. सामाजिक उत्तरदायित्व बहन गरेको खर्चलाई वार्षिक आय विवरणमा समावेश गर्न नपाइने व्यवस्था भएको सन्दर्भमा समाजिक उत्तरदायित्वको रकमलाई खर्चमा समाबेश गर्न पाउने व्यवस्था गरिनु पर्ने । १०. अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भईरहेकोले महशुल दरहरुमा स्थिरता कायम गरिनु पर्ने देखिन्छ । खाशगरी मेक इन नेपालको अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने सीकेडी प्लान्ट स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालिन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था कम्तिमा १५ वर्षसम्मको लागि कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुनेछ । ११. एउटै ब्रान्डको पार्टस् मुख्य उत्पादनकर्ताको अनुमति बिना तेस्रो पक्षबाट निर्बाध रुपमा पैठारी हुँदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनु पर्ने । १२. एउटै प्रकृतिका पाट्र्सहरुमा पनि भन्सार महसुल फरक फरक भएकोले भन्सार दरमा स्थिरता कायम गरिनु पर्ने र भन्सार दरमा समेत केहि सहुलियत हुनु पर्ने । १३. देशको व्यापार प्रवर्द्धनका लागि राजधानीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिनु पर्ने । १४. स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोबाइल सम्बन्धी एसेमब्लिङ्ग उद्योग, अटोमोबाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनु पर्ने जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोबाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्नेछ । १५. नेपाल र भारतबीचको द्धिपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा भारतीय उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न नेपालमा इन्डियन इकोनोकिम जोन स्थापना गरिनु पर्ने । १६. नेपाल मै लुब्रिकेन्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुब्रिकेन्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने । १७. नेपाल मै उत्पादन हुने सवै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, व्याट्री, लुब्रिकेन्टस् तथा टायरहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित व्याट्री तथा टायरहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्था हुनु पर्ने । नेपाल मै उत्पादन गर्ने उद्योगलाई एनएस प्रदान गर्दा घरेलु उद्योगहरुलाई प्रोत्साहन पुग्ने ।

अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने बताए । बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरे । यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रस्तुतिकरणमार्फत विस्तृत रुपमा जानकारी प्रदान गरे । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’

  काठमाडौं । नेपाली अटोमोबाइल्स क्षेत्रमा अधिकांशले चिन्ने नाम हो राजनबाबु श्रेष्ठ । देशको सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठले अटोमोबाइल क्षेत्रमा काम गरेको तीन दशक भयो । तीन दशकको अवधिमा उनले धेरै उतार चढाव, आरोह अवरोह तथा सफलता र अफलताका फेहरिस्तहरूको अनुभव गरे । सिप्रदीलाई देशकै सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी बनाउनु र त्यसको सीईओ बन्नु आफैंमा ठूलो चुनौतीको विषय हो । त्यसका लागि एउटा अब्बलता र नेतृत्व क्षमताको आवश्यकता त पर्छ नै । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीमा उनले काम सुरु गरेको साढे दुई दशक भयो । यो अवधिमा कम्पनीको देशभर सञ्जाल विस्तार गर्न, ग्राहकलाई कम्पनीप्रति आकर्षण बढाउन, टीमलाई मोबिलाइज गर्न र कम्पनीलाई आर्थिक रूपमा पनि सबल बनाउनका लागि उनले चालेका रणनीतिक योजना र खेलेको भूमिकाभित्र ठूलो संघर्ष लुकेको छ । त्यो अथाह परिश्रमपछि मात्रै उनी प्रशंसाका पात्र बनेका हुन् । उनले कम्पनीमा काम सुरु गरेर सिप्रदीको विगतको साख मात्रै जोगाएनन्, कम्पनीलाई थप विस्तार गर्न ठूलो भूमिका समेत खेलेका छन् । एउटा असल व्यवस्थापकको कुशलता राजनबाबुले प्रमाणित गरिसकेका छन् । अहिले कम्पनीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । त्यसैले पनि राजनबाबु बजारमा पनि सधैं अपेडट र अभ्यस्त भइरहेका हुन्छन् । त्यसका लागि उनलाई उनको टीमको साथ र सहयोग पनि अथाह छ । उनी भन्छन्, ‘नेतृत्व सफल हुनका लागि टीमको भूमिका महत्वपूर्ण हुन्छ, जसले समग्र संस्थालाई एउटा उचाइमा पुर्याउन मद्दत पुग्छ ।’ यो किसिमको सफलता कसरी प्राप्त गर्न सकिन्छ ? हामीले उनै सीईओ राजनबाबुलाई प्रश्न गर्यौं । उनले जवाफमा भने, ‘आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोविलाइज गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन ।’ यो सफलताको पछाडि राजनबाबुको ठूलो मिहिनेत लुकेको छ । काठमाडौंको रैथाने राजनबाबुको जन्म भने गोरखामा भयो । सरकारी जागिरे बुबा गोरखामा काम गर्ने भएकोले उनको जन्म पनि सन् १९७० मा गोरखामै भयो । विद्यार्थी जीवन उनको गोरखामै बित्यो । बिहान तीन बजेर पढ्न बसेका विद्यार्थी जीवनका ती दिनहरू राजनबाबुको दिमाखमा अहिले पनि ताजै छन् । उनी आफैंलाई प्रश्न गछर्न्- ‘यदि मेरो बुबाले बिहानै उठाएर तीन बजेदेखि नपढाएको भए, पढेर ठूलो मान्छे बन्नुपर्छ बाबु भनेर झकझक्याएको नभए,’ उनी रोकिन्छन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार नेपालको बजारमा कमर्सियल तथा प्यासेन्जर दुबै सेगमेन्टमा सबैभन्दा ठूलो हिस्सा टाटा ब्राण्डले लिएको छ । सिप्रदी ट्रेडिङ र यसका प्रवर्द्धक सिद्धार्थ शमशेर राणालाई नेपाल सरकारले सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । हुनत हरेक आमाबुबाको चाहना मेरो छोराछोरी ठूलो मान्छे बनुन्, राम्रो पढाइ गरून्, धेरै कमाउन्, परिवारलाई खुसीका साथ राखुन् भन्ने नै हुन्छ । राजनबाबुका आमाबुबा पनि त्यही सोच्थे । सोही कारण पनि उनी प्लसटु पढ्नका लागि गोरखाबाट काठमाडौं आए । ललितपुरको पाटन क्याम्पसनमा विज्ञान विषय पढाइ सुरु गरे । उसो त विज्ञान विषय लिएपछि कि डाक्टर कि इन्जिनियरिङ पेसा रोज्नु पर्थ्यो । राजनबाबुले इन्जिनियरिङ रोजे र पढाइका लागि भारततर्फ लागे । उनले भारतको पञ्जावमा रहेको पञ्जाव इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङ पढे । सन् १९९३ मा इन्जिनियरिङ पास गरेर नेपाल फर्किए । हुन त त्यतिखेर इन्जिनियरहरूको माग विश्व बजारमा प्रयाप्त थियो । राजनबाबुसँगै पढेका साथीहरू कति विदेशतिर लागे । कतिपय भारतमै बसे । तर, उनी स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किए । ‘त्यतिखेर पनि विद्यार्थी विदेसिने अभ्यास बढी थियो, अझै इन्जिनियर पढेको मान्छे त नेपालमा किन बस्ने भन्ने प्रश्न गरिन्थ्यो । तर, मैले आफ्नै देशमा केही काम गर्नुपर्छ भनेर भारतबाट इन्जिनियरिङ पास गरेपछि नेपालमै फर्किएँ,’ उनी भन्छन्, ‘अहिले जे छु, जस्तो छु, जे काम गरिरहेको छु, धेरै खुसी छु ।’ साढे दुई दशकदेखि एउटै संस्थामा राजनबाबु सन् १९९३ मा भारतबाट फर्केपछि टोयटाको डिलर युनाइटेड ट्रेडर्स सिन्डिकेटमा काम सुरु गरे । त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएको उनको भनाई छ । त्यहाँ काम गरेको केही समयपछि उनी मारूती सुजुकीको अरुण इन्टरकन्टिनेन्टलमा आवद्ध भए । उनले त्यहाँ पनि केही समय काम गरेपछि सन् १९९९ मा सिप्रदीसँग जोडिए । सिप्रदीमा उनले टेक्निकल म्यानेजरको रूपमा काम सुरु गरे । सिप्रदी नै उनको सफलताको उत्तम केन्द्र बन्यो । यो साढे दुई दशकमा उनले आफूलाई अटो बजारमा अभ्यस्त बनाइसकेका छन् । राजनबाबुको करिअर ग्रोथका लागि सिप्रदी एउटा गतिलो प्लेटफर्म बन्यो । देश तथा विदेशका तालिम, सेमिनार, अटोमोबाइल्स सम्बन्धी विभिन्न कोर्षहरू लगायत क्षमता अभिवृद्धिका कार्यक्रममा भाग लिने अवसर उनले पाए । उनले फिलिपिन्सको एसियन इन्स्टिच्यूट अफ म्यानेज्मेन्ट र अमेरिकाको हार्वर्ड बिजनेस स्कूल लगायत शैक्षिक संस्थामा पनि अटोबजार सम्बन्धी विभिन्न कोर्षहरू पढेका छन् । परिणामस्वरूप उनी एउटा अब्बल व्यवस्थापकको रूपमा नेपाली अटो मोबाइल्स क्षेत्रमा परिचित छन् । एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुनैपर्छ । भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ । बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने क्षमता नेतृत्वमा चाहिन्छ । सिप्रदीमा टेक्निकल म्यानेजरमा प्रवेश गरेका राजनबाबुले छिटोछिटो प्रमोशनको अवसर पाए । मिडिल म्यानेजर, म्यानेजर, कम्पनीको प्रमुख सञ्चालन अधिकृत, महाप्रबन्धक र भाइस प्रेसिडेन्ट हुँदै अहिले उनी सिप्रदीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा काम गरिरहेका छन् । उनी सीईओ भएको ७ वर्ष भईसकेको छ । ‘म काम गर्न रुचाउँछु, म सधैं टीमलाई अगाडि बढाउँछु, एउटा कम्पनीको सम्पत्ति भनेको ग्राहक र कर्मचारी हो, यसमा हामीले ठूलो लगानी गरिरहेका छौं, त्यसको नतिजा पनि प्राप्त गरेका छौं, समयअनुसार सीप सिकाइरहेका हुन्छौं,’ उनी भन्छन्, ‘म रणनीतिक हिसाबमा काम गर्न रूचाउँछु ।’ नेतृत्व बजारसँग अपडेट हुन सक्नु पर्ने उनको भनाइ छ । हुन त नेपालमा अटो मार्केट सानो छ । यो सानो मार्केटमा धेरै कम्पनीहरूले प्रतिस्पर्धा गर्नु आफैंमा ठूलो चुनौती थियो र छ पनि । त्यो प्रतिस्पर्धाको परिवेशबाट अटो क्षेत्रमा होमिएका राजनबाबुलाई लाग्थ्यो, ‘म यो कम्पनीलाई पाँच हजार करोड रुपैयाँको बनाउँछु ।’ सरकारको नीति, विश्व महामारीका रूपमा फैलिएको कोरोना र त्यसअघिको विनासकारी भूकम्प उनको व्यवसायिक लक्ष्य प्राप्तिका लागि बाधक बने । उनको ५ हजार करोडको कम्पनी बनाउने योजना पुरा नभएपनि उनी त्यसमा अझैं लागिरहेका छन् । भन्छन्- ‘आफ्नो लक्ष्यप्रति म अहिले पनि दृढ छु । त्यो प्राप्त गर्न सकिन्छ । मलाई ग्राहक र कर्मचारीहरूको साथ चाहिएको छ ।’ ‘हामी ग्राहकप्रति धेरै जिम्मेवार छौं, ग्राहककै कारण हामी यहाँसम्म आइपुगेका हौं, ग्राहककै सन्तुष्टिका लागि हामी काम गरिरहेका छौं, ग्राहकको सेवामा कुनै कम्प्रमाइज गर्दैनौं,’ उनी खुसीका साथ भन्छन्, ‘त्यसैले त सिप्रदी अहिले देशको नम्बर वान अटो मोबाइल्स कम्पनी बनेको छ ।’ आफूले दिने सेवाप्रति ग्राहकलाई सन्तुष्ट बनाउन जे पर्छ, त्यो गर्न कम्पनीको सबै टिम परिचालित भएको उनले बताए । नेपालमा टाटाका ट्रक, बस, ट्रिपर र बिजुलीको गाडीलाई धेरै विश्वास गरिन्छ । त्यसको मुख्य कारण भनेको ग्राहकको चाहनाअनुसारको सेवा र कम सञ्चालन खर्च । सिप्रदी कमर्सियल भेहिकलतर्फ धेरै वर्ष अघिदेखि पनि नम्बर वान कम्पनीका रूपमा स्थापित छ भने इलेक्ट्रिक भइकल्सतर्फ पनि नम्वर वान कम्पनीको रुपमा उदाएको छ । अब्बल व्यवस्थापक राजनबाबु श्रेष्ठले सिप्रदीमा एउटा अब्बल व्यवस्थापकको छवि बनाएका छन् । जसरी उनी विद्यार्थी जीवनमा क्लासमा सधैं दोस्रो र तेस्रो हुन्थे त्यसरी नै अटो क्षेत्रमा पनि नम्बर वान सीईओको रूपमा काम गरिरहेका छन् । त्यो कम्पनीको संरचना होस्, कर्मचारीको अब्बलता र उत्पादकत्व होस् वा पाउने पारिश्रमिक नै किन नहोस् राजनबाबु अटोबजार क्षेत्रका एक आशलाग्दा र चाखलाग्दा सीईओ हुन् । नेपालका ठूला वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतकहरुले मासिक तलब १५/१८ लाख रुपैयाँ तलब सुविधा लिन्छन् । भनिन्छ वाणिज्य बैंकहरुको भन्दा बढी तलब सुविधा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृतले पाउँछन् । तर यस विषयमा राजनबाबुले बोल्न इच्छाएनन् । उनले भने- सिप्रदीका कर्मचारीलाई राम्रो सेवा सुविधा छ । त्यो हामीले भनिराख्नु पर्दैन । साथै, सिप्रदी सरकारी नीति नियमको पूर्ण परिपालना गर्ने कम्पनी हो । यो कम्पनीले धेरै पटक उत्कृष्ट कर बुझाउने कम्पनीको रुपमा सरकारबाट सम्मान पाएका छ ।’ आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोबिलाइज्ड गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन । यस कम्पनीका प्रवर्द्धक एवं सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा पनि व्यक्तिगततर्फ अहिलेसम्म सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सरकारबाट सम्मानित भएका छन् । नियमअनुसार लाग्ने सबै प्रकारका कर तिर्नुपर्छ भन्ने संस्कार कम्पनीमा पूर्णतः लागू भएको छ । अध्यक्ष राणाले कम्पनीलाई एउटा लय र राणनीतिका साथ अगाडि बढाइरहेका छन्, त्यसमा हस्तेमा हैसे उनै राजनबाबुले गरिरहेका छन् । राणाले बनाउने नीतिलाई सफल कार्यान्वयन गराउन शतप्रतिशत भूमिका उनै राजनबाबुले खेलिरहेका छन् । ‘सिद्धार्थ सरले नीति, योजना तथा रणनीति बनाउनुहुन्छ, हामीले उहाँको भिजनलाई पुरा गर्नका लागि काम गर्ने हो, उहाँको भिजनले सकारात्मक नतिजा पनि आइरहेको छ, बोर्डको शतप्रतिशत साथ र सहयोग भएकै कारण हामी सफल पनि भइरहेका छौं,’ राजनबाबुले अनुभव सुनाए । अटो मोबाइल्स क्षेत्रसँग हरेक क्षेत्र जोडिएको छ । भेन्डर, सरकारी निकाय र ग्राहकको प्रतिक्रियाका आधारमा नै कम्पनीले आफूलाई परिस्कृत गर्दै गएको छ । ‘हामी कम्प्लायन्समा चुकेका छैनौं, सबैसँग हाम्रो समान व्यवहार हुन्छ, हाम्रोमा बोर्डको कुनै हस्तक्षेप हुँदैन, कम्पनी चलाउने भनेको कर्मचारीले भन्ने मानसिकता कम्पनीका सबैलाई छ,’ उनी भन्छन्,‘ एउटा व्यवस्थापकले सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्नुपर्छ ।’ राजनबाबु सिप्रदीको प्रमुख कार्यकारी अधिकृत भएको सात वर्ष भयो । कम्पनीलाई समयसँगै कसरी स्मार्ट बनाउने, टीमलाई कसरी डेभलप गर्ने र बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा उनी सजक र जानकार छन् । सिप्रदीको चार दशकको इतिहासलाई थप एउटा उचाइमा पुर्याउने लक्ष्य राजनबाबुको छ । एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुन आवश्यक रहेको उनी बताउँछन् । ‘भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ, बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने अब्बलता नेतृत्वमा चाहिन्छ,’ उनी भन्छन् । उनी सिप्रदीको नेतृत्व गर्न पाउनुलाई अवसर ठान्छन् । यो अवसरसँगै बजारमा आफ्नो उपस्थिति र हिस्सा बढाउँदै लैजानु पर्ने चुनौती पनि रहेको उनको भनाइ छ । उनका अनुसार हाल नेपाली अटो बजारमा सिप्रदीको विद्युतीय गाडीको हिस्सा ४३ प्रतिशत छ भने विद्युतीय र आइस गाडीसहित ३५ प्रतिशत हिस्सा छ । उनी नेतृत्वको नियत सफा हुनुपर्ने बताउँछन् । ‘संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषय नेतृत्वको नियतमा भरपर्छ । उसले कुन नियतले र कसरी काम गरिरहेको छ भन्ने विषय महत्वपूर्ण हुन्छ, जसले स्रोतसाधनको व्यवस्थापन तथा सही ढंगले प्रयोग गरेर अगाडि बढ्छ, ऊ नै सफल बन्छ,’ उनी भन्छन्, ‘जसले नियत सफा राख्दैन, त्यो असफल हुन्छ ।’ कर्मचारीलाई ‘पूर्ण अधिकार’ सिप्रदी ट्रेडिङ सिस्टममा चलेको कम्पनी हो । कम्पनीलाई प्रोफेसनलरूपमा अगाडि बढाउनका लागि बोर्ड र व्यवस्थापक लागिरहेका छन् । सिस्टम स्ट्रोङ बनाउनु नै सिप्रदीको प्रमुख प्राथमिकता हो । योसँगै कम्पनीले आफ्नो टीमलाई काम गर्नका लागि पूर्ण अधिकार प्रदान गरेको छ । ‘सिप्रदीलाई एउटा सिस्टमले गाइड गरेको छ, हामी सबै सिस्टममा बाँधिइरहेका हुन्छौं, प्रत्येक कर्मचारीलाई काम गर्नका लागि पूर्ण अथोरिटी हुन्छ, मैले के आधारमा निर्णय गरेको हुँ भन्ने आधार हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसले उक्त व्यक्तिलाई जिम्मेवार महसुस गराउँछ, विश्वसनियता पनि हुन्छ ।’ सिप्रदीमा ‘टप टु डाउन’ डिसिजन हुँदैन । निर्णय गर्दा पनि सबैको सहभागिता हुन्छ । सबैको सहभागितामा गरेको निर्णयले कार्यान्वयन गर्दा पनि सबैलाई आत्मबोध तथा अनरसिप हुने राजनबाबु बताउँछन् । पञ्जाव इन्जिनियरिङ कलेजबाट ब्याचलर्स इन इन्जिनियरिङ (बीई), साथै हार्डवर्ड बिजनेश स्कूल, आईआईएम अम्दावादबाट सीपमूलक एक्जियूटिम तालिम प्राप्त राजनबाबुसँग लिडरसिप कलासँगै प्राविधिक ज्ञान पनि राम्रो छ । उनी सीटीईभिटीको बोर्ड मेम्बर, राष्ट्रिय सीप परीक्षा बोर्डको बोर्ड मेम्बर समेत रहेका छन् । अर्को, महत्वपूर्ण विषय भनेको सिप्रदीले नेतृत्व वा महत्वपूर्ण पदका लागि बाहिरबाट मान्छे हायर गर्दैन । बरु त्यसका लागि कम्पनीभित्रकै कर्मचारीलाई तयार पार्छ । ‘सबैले ग्रोथको अवसर देखुन् भन्ने हो, हामीले प्रत्येक वर्ष कर्मचारीको मूल्यांकन गर्छौं, कसको कहाँ ग्याप छ, त्यहीअनुसार तालिम दिइरहेका हुन्छौं, सक्सेसरको प्लानिङ हुन्छ,’ राजनबाबुले भने । उनले कम्पनीले ब्राण्ड, प्रडक्ट र सर्भिसमा प्राथमिकता दिइरहेको बताए । ‘ग्राहकको प्रतिक्रियालाई हामीले सधैं सर्वोपरी ठानिरहेका छौं, त्यसले हामीलाई ग्रोथको अवसर पनि देखायो,’ उनले भने । हाल सिप्रदीमा १२ सय कर्मचारी छन् । पञ्जावमा प्रेम, काठमाडौंमा बिहे राजनबाबु भारतमा इन्जिनियर पढ्दै गर्दा काठमाडौंकी हिमा कर्माचार्यसँग भेट भयो । राजनबाबु इलेक्ट्रिक इन्जियिरिङ पढ्दै थिए भने हिमा स्ट्रक्चलर इन्जिनियरिङ । एउटै कलेज भएकोले पनि उनीहरूबीच भेटघाट भइरहन्थ्यो । उनीहरूको पञ्जावमै प्रेम बस्यो । पछि नेपाल फर्किएपछि विवाह भयो । अहिले उनको दुई छोरी छन् । जेठी छोरी एमबीबीएस सकेर एमडीको तयारीमा छिन् भने कान्छो छोरी एसईईको तयारीमा । राजनबाबुलाई कहिलेकाहीँ छोरीहरू विदेश जाने निर्णय गर्छन् कि भन्ने चिन्ता पनि छ । उनलाई अहिले युवाहरूको विदेशतिरको आकर्षणले चिन्तित पनि बनाउँछ । सरकारले युवालाई रोजगारीको सिर्जना गर्न नसक्दा उनीहरू विदेसिन बाध्य भएको उनी बताउँछन् । ‘नेपालमा राम्रो जागिरको अवसर सिर्जना गर्न नसकेको पनि हो, व्यवसायिक वातावरण राम्रो भएको छैन, आम्दानीलाई महँगीले धान्न सक्ने अवस्था छैन, घर र गाडी जोड्न पनि ठूलो चुनौती भयो, त्यसका लागि वर्षौं वर्ष समय लाग्ने देखियो, त्यही चिजका लागि विदेश गयो भने दुई/चार वर्षमा पुरा भइरहेको छ, त्यसैले पनि युवाहरू विदेशतिर आकर्षित भइरहेका छन्, यो एउटा चुनौतीको विषय हो,’ उनले भने । अहिले आफ्नो कम्पनीमा कर्मचारी टिकाउन गाह्रो भएको अनुभव राजनबाबुसँग छ । ‘सीपयुक्त कर्मचारी विदेश गइरहेका छन्, उनीहरूले विदेशमा अवसर देखिरहेका छन्,’ उनी भन्छन्, ‘यसले कुनै दिन ठूलो समस्या सिर्जना हुन सक्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’

मलमपट्टी लगाएर भए पनि अटो व्यवसायीहरूमा आशा जगाउँछु : करण चौधरी

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत रूपमा चुनिएदै छन् । यसै साता हुने साधारण सभापछि चौधरीले नाडाको जिम्मेवारी समाल्दै छन् । लामो समयदेखि अटो व्यवसायमा सक्रिय चौधरी सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक पनि हुन् । उनै चौधरीसँग नाडा नेतृत्वका योजना, अटो क्षेत्रमा देखिएका समस्या, सरकारले अटो व्यवसायमा गर्नुपर्ने काम लगायतका सन्दर्भमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :- प्रायः चुनावी प्रतिस्पर्धा नै हुने गरेको नाडामा यसपटक सर्वसहमतिमा नेतृत्व चयन भयो । यो कसरी सम्भव भयो ? नाडाले विगतमा भएका गल्तीहरूलाई सच्याउँदै र सुधार्दै अघिबढी रहेको छ । अटो क्षेत्रमा आएका मन्दी, समस्या लगायतका सबै सिनारियोलाई हेर्दा अहिलेको समयमा हामी सर्वसहमतिमा नै अगाडि बढ्दा उपयुक्त हुने ठम्यायौं । र, सर्वसम्मतरूपमा अगाडि बढ्दा राम्रो हुन्छ भनेर सर्वसम्मत तरिकाबाट कार्यसमितिको चयन गर्ने निर्णय गर्यौं । नाडा नेतृत्वका लागि यसअघि पनि निर्वाचन भएको थियो । जसमा पनि उम्मेदवार थिए । त्यो चुनावले गर्दा नाडाका सदस्यहरूलाई बिचमा फाटो ल्याउन सक्ने स्थिति थियो । चुनाव गरेर नेतृत्व बनाउनु अहिलेको लागि उपयुक्त थिएन । त्यसैले चुनाव हुँदा खर्च गर्नु नगर्नुको ठूलो औचित्य थियो । त्यसैले खर्च नगरी सबैलाई समेटेर कसरी अगाडि लिएर जान सकिन्छ भनेर निर्वाचनलाई रूपान्तरण गरी सर्वसम्मत गरेका हौं । सबैको साथ समर्थनले हामी सर्वसम्मतरूपमा कार्यसमितिको चयन गर्नमा सफल भयौं । अटोमोबाइल्स बजार सुधारका लागि तपाईंको नेतृत्वमा नाडाले के-के काम गर्ने योजना बनाएको छ ? मलाई अध्यक्ष बन्नका लागि छाडिदिनुभएको साथीले होस् या कार्यसमितिमा आउनुभएका साथी, सबैको प्रयास अटो क्षेत्र सुधारमा काम गर्ने योजना हुन्छ । तर, मेरो एजेण्डा के भन्दा पनि सहमतिमा गएपछि त्यो एजेण्डा टिमको हुन्छ । त्यसैले ति एजेण्डा अहिले बनाउन बाँकी छ । हामीले सहमति गरेर चुनाव नहोस् भन्ने वातावरण बनायौं । आउने दिनमा पुनः मिटिङ बसेर कसरी आजका दिनमा एजेण्डालाई प्रस्तुतीकरण गर्न सकिन्छ भनेर छलफल हुन बाँकी छ । ठूला साना सबै व्यवसायी मन्दीको मार खेपिरहेका छन् । बजारलाई मन्दीबाट उकास्ने वा व्यवसायीलाई राहत दिनेतर्फ नाडाले केही गर्न सक्छ ? यो क्षेत्र ठूलो मन्दीको चपेटामा छ । अहिले यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढीले गिरावट आउनु भनेको मान्छेको जीवनशैलीमा असर पुग्न सुरु भइसक्नु हो । ठूला/ठूला कर्पोरेट हाउस जसमा धेरै मान्छे कार्यरत छन् । जे जसो गरे पनि वित्तीय विवरण प्लस र माइनसको गेम हुन्छ । साना र मझौला व्यापारीहरूलाई अहिले धेरै कठिन छ । आम्दानी नहुँदा र घाटामा हुँदा आफ्नो खल्तीबाट पैसा जान्छ । व्यवसायीलाई आजको दिनमा कसरी उकास्ने भन्ने विषय एउटा प्रश्न बनेको छ । यसका लागि सबैसँग सल्लाह तथा सरोकारवालाहरूसँग छलफल गरी कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयलाई मान्यता दिनुपर्ने छ । अटो क्षेत्रमा राम्रा काम गरी एउटा सफल श्रेणीमा पुगेका जनशक्तिलाई विदेशबाट अफर आएर उतै बस्ने सिस्टमको विकास भएको पाइन्छ । यसलाई रोक्नका लागि तपाईंले कस्तो पहल गर्नु हुनेछ ? यो सबैभन्दा बढी सेमी स्किल लेभरतिर हुने गर्छ । विशेष गरी यहाँ मासिक ५० देखि ६० हजारभन्दा कम आम्दानी जसले गर्छ, ऊ सो प्रलोभनमा परेको हामीले नोटिस गरेका छौं । उहाँहरूलाई बाहिर बस्यो भने राम्रो काम र छिटो कमाइ हुन्छ भन्ने झुटो आश्वासन दिएर यहाँबाट मान्छेहरू उनीहरूले लिएर जान खोज्छन् । तर, त्यो उहाँहरूको बाध्यता हो । किनभने अहिलेको परिस्थितिमा यहाँको बिजनेस र कमाइ दुवै राम्रो छैन । उहाँहरूले आफ्नो आम्दानी पनि वृद्धि गर्न सक्नुभएको छैन । त्यसैले यहाँभन्दा विदेशमा दोब्बर कमाइ हुन्छ भन्ने आशामा हुनुहुन्छ । मान्छेमा एउटा लालच पनि हुन्छ । त्यसैले यसलाई रोक्नेका लागि विदेशमा भन्दा यही अवसर छ र सम्भावनाका पाटाहरू देखाउन जरुरी छ । नेपालमा पछिल्लो समय ईभी गाडीको आयात बढिरहेको छ भने बिस्तारै हाइड्रोजन सवारी विकास हुँदैछ । यसले फसिल फ्यूलमा आधारित गाडी बिक्रीमा कस्तो असर पुर्याएको छ ? यी दुवैलाई समान स्तरको मैदानमा राख्ने हो भने ईभीलाई अहिले पनि प्रोत्साहन गर्न सक्ने स्तर बनिसकेको छैन । किनभने यसका लागि चाहिने आवश्यक पूर्वाधारहरू नै निर्माण हुन सकेको छैन । सरकारले पनि यसका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास गर्न नसकिरहेको अवस्था छ । भ्यालु प्रपोजिसन देखाउन नसक्दा ईभीका आयातकर्ता कम्पनीहरूले पनि पूर्वाधारका काम गर्न सकिरहेका छैनन् । निजी क्षेत्रले पनि बाध्यात्मक परिस्थितिबाट ईभीका चार्जिङ स्टेसनहरू खडा गरिरहेका छन् । वर्तमान अवस्थामा फसिल फ्यूलका गाडीहरू पनि आयात भइरहेका छन् । गाडीको आयात बढ्दा विदेशी मुद्रा बाहिरिएको भन्ने सरकारको भनाइ छ । त्यसमा अटो मोबाइलले कति योगदान दिइरहेको छ भन्ने विषयको छुट्टै अध्ययन खाँचाे पर्नेछ । जुन मात्रमा डिजेल उद्योगमा उपभोग हुन्छ त्यो मात्रामा डिजेल गाडीमा उपभोग हुँदैन । पछिल्लो समय फसिल फ्यूलमा आधारित गाडी बिक्री हुन छाडेपछि स्थानीय डिलरहरूले लिडरसिप छाड्दै गएको र शोरुमहरू बन्द हुँदै गएको खबर आएका छन् । वास्तविक अवस्था के हो ? सरकारले अटोमोबाइल क्षेत्रलाई निरुत्साहित गरेर राखेको छ । यसलाई उत्साहजनक कसरी बनाउन सकिन्छ भनेरमात्र पहल गर्न सकिन्छ । किनभने आजको दिनमा ईभीका गाडीमा भन्सार छुटदेखि सहज फाइनान्सको व्यवस्था आदि सेवा सुविधाहरू दिइको छ । तर, ति सुविधाहरू इन्धनबाट चल्ने गाडीमा दिइएको छैन । त्यसैले यसमा एउटा मात्र अप्सन छ । व्यवसायीहरूलाई उत्साहजनक बनायो भनेमात्र यो उद्योगलाई रिभाइभ गर्न सकिन्छ । ईभी गाडीको प्रयोगकर्ताहरू बढ्दै गएका छन् । सरकार तथा व्यवसायीले यसको पूर्वाधार विकासका लागि कस्ता कस्ता काम भइरहेका छन् ? यसतर्फ तपाईंको नयाँ सोच के छ ? यसमा दुइटा विषय छन् । एउटा सरकारले र अर्को प्राइभेट कम्पनीले नीतिमा काम गर्नुपर्ने छ । सरकारले जति पूर्वाधारको विकास गर्न सक्छ त्यो काम गर्यो भने त्यही नै ठूलो उपलब्धि हुन्छ । सरकारले चाहेको खण्डमा यहाँ ठूला/ठूला चार्जिङ स्टेशनको पनि निर्माण हुन्छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ । हामीले जुन बिजुली किन्छौं र जुन बिजुली ग्राहकलाई बेच्छौं, त्यो स्प्रेड बढाउनु पर्छ । त्यो नबनाएको खण्डमा चार्जिङ स्टेशन पोसाउने वाला छैन । जबसम्म केही चिज पोसाउँदैन त्यो क्षेत्रमा नीजि क्षेत्रले हात हालेपछि कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा हेर्न थाल्छन् । त्यो कति समयसम्म गर्ने भन्ने विषय पनि उठ्छ । सुजुकीको हकमा कुरा गर्दा सुजुकीको ईभी गाडीहरू पनि नेपाली बजारमा आउँदै छ । सुजुकीले पनि ईभीका गाडी आएपछि अवश्य चार्जिङ स्टेशनको निर्माण गर्ने नै छ । तर, चार्जिङ स्टेसनमा निजी क्षेत्रले कति लगानी गर्ने भन्ने विषय पनि आउँछ । त्यसो हुनाले सरकारको लगानी ईभीको पूर्वाधार विकासमा हुनु अपरिहार्य छ । तपाईंले अटो क्षेत्र धराशायीमा रहेका विषयको उल्लेख गर्नुभयो । तपाईंले नेपाली अटोमोबाइल्स क्षेत्रको भविष्यलाई कसरी निहाल्नु भएको छ ? सरकारले हामीप्रति राखेको सोचले गर्दा यो क्षेत्रमा समस्या चुलिएको हो । जब अटो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण बदलिन्छ त्यो दिने यो क्षेत्रलाई उकास्न सक्ने वातावरणको सिर्जना हुन्छ । दुई पांग्रे सवारीका एसेम्बल उद्योगहरू क्रमशः बढ्दै गएका छन् । तर, चार पांग्रे सावारिको एसेम्बल उद्योगहरू खुल्न सकेनन्, किन ? आजको दिनमा चार पांग्रे सवारीको एसेम्बल उद्योगहरू खोल्ने हो भने एउटा सस्टेनेबल भोलुमको जरुरी छ । नत्र भने एउटा सर्भिस सेन्टरमा गएर गाडी जोडेर बनाएर दिन मात्र पनि सकिन्छ । सरकारले देशमा रोजगारीका क्षेत्र विस्तार होस् स्वदेशी उत्पादन र उपभोग बढाेस् भन्ने चाहेको छ । सरकारले कसरी अटो मोबाइललाई प्रोत्साहन गर्ने, नीतिगत स्पष्टता गरेर १० वर्षे निति बनायो भने पहिलो एसेम्बल उद्योग सुजुकीले नै खोल्छ होला । नीतिगत विषय स्पष्ट र दूरदर्शी हुन जरुरी छ । करको दरमा मैले सुझाव दिन चाहन्नँ । किनभने मैले सुझाव दिँदा परिणाम निराशाजनक आउँछ । करका दरलाई यति वर्षसम्म निश्चित बनाएर नचलाइ राख्छु भनेर सरकारले पहल गर्यो भने सरकारलाई हामी सहयोग गर्न तयार छौं । सवारीका पार्टस् पुर्जा एवं सहायक पदार्थहरूको उत्पादनतर्फ के कति काम भइरहेको छ ? पार्टस् पुर्जा यहाँ धेरै उत्पादन भएको पाइँदैन । यहाँ टायर, ब्याट्री तथा लुब्रिकेन्टका उद्योगहरू सञ्चालनमा आइरहेका छन् । यिनै कुरा हेर्दै सोच्दै अगाडि बढ्दै जान सक्छ भन्ने मेरो आशा हो । अटो व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण छैन भन्छन् व्यवसायीहरू नै । विभिन्न ब्राण्डको लिडरसिप खोसाखोस भइराखेको हामीले नै देखिरहेका छौं । फेयर ट्रेडको वातावरण बनाउन नाडाले केही गर्न सक्दैन ? यसमा यहाँको आयातकर्ता र प्रिन्सिपल दुवैको बिचमा समझदारी हुन्छ । उहाँले त्यो समझदारी कतिको सुदृढ बनाउन सक्नुहुन्छ । जुनदिन सुदृढ हुन्छ त्यो दिन आफै यी समस्या समाधान हुँदै जानेवाला छ । जबसम्म आफ्नो समस्याको समाधान दिन गाह्रो छ तबसम्म यस्ता किसिमको खबर सुनिरहेकै हुन्छौं । तपाईं अटो व्यापारमा नै जन्मे हुर्केको मान्छे । विश्व परिवेश र नेपालको परिवेश पनि तपाईंलाई थाहा छ । नयाँ सवारी किन्दै गरेको उपभोक्तालाई तपाईंको सुझाव के छन् ? सामान्य उपभोक्ताले थोरै मूल्यमा तिरेर दीर्घकालीन लाभ कसरी लिन सक्छन् ? अहिलेको सरकारको नीति, समय र यो परिस्थितिमा त्यो असम्भव छ । किनभने सकारकाले जससम्म हाम्रो देशमा मुभिलिटी महत्वपूर्ण छ भनेर सोच्दैन तबसम्म हामीलाई यो समस्या सधैं रहने छ । उपभोक्ताले सहुलियतभन्दा पनि धेरै मूल्य तिरेर गाडी तथा बाइक लिनुपर्छ । कुनै एउटा सानो ढुवानी उद्योगमात्र सुरु गर्याे भने पनि ढुवानीका सवारीहरू सडकमा थन्किरहेका हुन्छन् । कारण हो, भारतीय गाडीले सामान ठाउँसम्म पुर्याउनु। त्यसमा सरकारले नीतिगत सुरु गर्याे भने यहीका मान्छेले रोजगारी पाउँछन् । सानासाना विषयलाई सुधार गर्न सकियो भने देशलाई ठूलो राहत हुन्छ । निजी सवारी साधनामा उपभोक्ताको रूचि र प्राथमिकतामा कस्तो परिवर्तन आइरहेको छ ? निजी सवारी साधनामा उपभोक्ताको रुचि र प्राथमिकतामा ठूलो मात्रमा परिवर्तन आउनुपर्ने हो । तर, त्यो आउन सकेको छैन । १० वर्षअघि र अहिले हेर्नुभयो भने केही न केही परिवर्तन आएको छ । किनभने मान्छेहरूको परिवार वृद्धि हुँदैछ । परिवार वृद्धि भएपछि बाइकभन्दा अरू अप्सन रोजिरहेको पाइन्छ । त्यसमा धेरै थोरै गरेर बिस्तारै बढ्दै छ । सरकारले जुन स्केलमा सोच्नुपर्ने हो त्यो स्केलमा चाहिँ भएको छैन । सार्वजनिक यातायात सेवा पनि गुणस्तरीय छैन । निजी सवारी पनि ज्यादै महँगो छ । ट्राफिक जामको समस्या त्यस्तै छ । यस्तो समस्याबाट मुक्ति दिलाउने उपाय के हुन सक्छन् ? ट्राफिक जामको कारण हामी नै हौं । गाडी चलाउँदा ट्राफिक नियम कतिको पालना गर्छौं भन्ने विषयको विश्लेषण आफैं गर्न सक्नुपर्छ । जुनदिन हामी त्यो गर्न थाल्छौं ट्राफिक जाम आफैं कम भएर जाने छ । ट्राफिक जाम न्यूनीकरणका लागि धेरैले पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्नुपर्छ भन्छन् । त्यसमा म पनि सहमत छु । तर, पब्लिक ट्रान्सपोटेसन भएपछि सफा, सुरक्षित हुनुपर्यो, समयमा पुग्ने हुनुपर्यो । तबमात्र कसैले त्यसको प्रयोग गर्छ । रोजगारीमा जो-जो लाग्नुभएको छ उहाँहरूलाई त अफिस समयमा पुग्नु छ । अनि पब्लिक ट्रान्सपोटेसनमै समस्या आयो भने त्यसप्रति मान्छेले गर्ने विश्वास गुम्छ । विकसित देशमा आज ठूलाठूला मान्छे पनि पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्छन् । किनभने त्यहाँको ट्रान्सपोटेसन एकदमै सुरक्षित छ । त्यसैले यहाँ पनि प्रविधिको प्रयोग गरी सोही किसिमको ट्रान्सपोटेसनको सुरुवात गर्न सक्छौं । अन्त्यमा, तपाईंले कार्यभार समालेर काम गर्दै गर्दा र कार्यभार सकिँदै गर्दासम्मको अवधिमा अटो क्षेत्रमा के सुधार आएको व्यवसायीले अनुभूति गर्न पाउने छन् ? अहिले व्यवसायीहरूमा जुन निराशा छ । त्यसमा थोर बहुत मलमपट्टी लगाएर भए पनि आशा जगाउने छु ।

सवारी साधनहरूलाई रिएक्सपोर्ट गर्ने व्यवस्था लागू गर्न अटो व्यवसायीको माग

काठमाडौं । अटोमोबाइल क्षेत्रका सवारी साधनहरुको रिएक्सपोर्टको व्यवस्था मिलाउन माग गरेका छन् । बिहीबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष डा. धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी उक्त माग गरेको हो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुहरुमा रहेका ती सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले पनि गरेको बताउँदै सोको कार्यान्वयन गर्न आग्रह गरेका हुन् । ती सवारी तथा ढुवानीका साधनहरु रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण समेत गरी दिन उनको माग छ । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल मै उत्पादन हुने सवै किसिमका व्याट्रीहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरेका छन् । त्यस्तै, नेपालमा उत्पादित व्याट्रीहरुलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाका लागि समेत उनले आग्रह गरे । त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले पनि नेपालमा उत्पादीत टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि अनुरोध गरेका छन् । अर्थमन्त्री महतसँगको भेटमा अध्यक्ष थापाले भन्सारमा रहेका सवै सामानहरु एकै प्रकृतिका नहुने र विशेषत सवारी तथा ढुवानीका साधनहरुका हकमा अझ यस्ता सवारी साधनहरुको आयु अवधि लामो हुने हुँदा यस्ता सवारी साधनहरुका हकमा अन्य सामानहरु सरह एकै प्रकारको व्यवहार नगर्न सुझाव दिएका छन् । हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट छृटाउने सम्बन्धमा सूचना प्रकाशित हुँदा सवारी तथा ढुवानीका साधनहरु समेत छृटाउने गरी भन्सार विभागले गत मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी समेत तोकेको सम्बन्धमा जानकारी गराउँदै उनले सो बताएका हुन् । अध्यक्ष थापाले हालको विषम परिस्थितीमा सवारी साधनको बजार माग अति न्युन हुँदा हुँदैं पनि सवारी साधन व्यवसायीहरुले क्रमिक रुपमा छुटाउँदै आएको र हालैको ६ महिना भित्रै पनि करीब १६०० सवारी तथा ढुवानीका साधनहरु भन्सार जाँचपास गराइ सकिएको जानकारी गराए । हाल परिस्थिति जटिल रहेको अवस्थामा समेत व्यवसायीहरुले पार्किङ्ग शूल्क बापत करोडौं रकम तिरी नै रहेको, उत्पादक कम्पनी र आधिकारिक विक्रेताको सम्झौता बमोजिम सवारी साधनहरु उत्पादन गर्न कयौं महिना पूर्व आदेश दिनु पर्ने, सम्झौता बमोजिम सम्झौता अवधिभित्र लिन कबुल गरेको सँख्यामा सवारी साधनहरु लिनै पर्नेे अवस्था रहेको अवगत गराए । सवारी साधनका आधिकारीक पैठारीकर्ताहरुले सवारी साधन आयात गर्नै पर्ने बाध्यतात्मक अवस्था रहेता पनि पैठारीकर्ताहरुले कार्य योजना वनाई क्रमिक रुपमा भन्सार जाँचपास गराउने कार्य गर्दै आइरहेका हुँदा कम्तीमा चालु आर्थिक वर्षको अन्त्य सम्मको लागि भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरुको हकमा भन्सार विन्दुबाट सामान छुटाउन मिल्ने गरी समयावधि थप्न अध्यक्ष थापाले आग्रह गरे ।

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता, बीवाईडीको गाडी किन्नेलाई ‘अटो लोन’ दिने

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित ईनलाइटन मोटर्सबीच सम्झौता भएको छ । बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंक र कम्पनीबिचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्षसम्मका लागि सवारी कर्जा (अटो लोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा सर्तहरू लागु हुनेछन् । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

अटोचालक महिला भन्छिन् : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका- ६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छिन्,’जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कन्छिन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ । महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ । ‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु’, उनले भनिन्,’महिला भएर पनि अटो चलाउन सक्छौँ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’ अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर-घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्,’मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’ महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताइन् । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भनिन्,’महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’ महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् । रासस

व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले तिर्‍यो सबैभन्दा बढी कर

काठमाडौं । व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले सबैभन्दा बढी कर तिरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस आय वर्ष २०७८र७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ । यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान-पत्र प्रदान गरेको छ ।

अल्फा अटोमोटिभद्वारा‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवद्र्धन गर्न तथा युवापुस्तालाई सोसल मिडियालाई आकर्षित गर्न असोज ६ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार वितरण गरेको छ । असोज १९ गते टिकटक र फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद पुरस्कार वितरण गरिएको हो । नियमअनुसार तीन जना विजेताले पुरस्कार पाएका छन् । पोखराका पदम लामाले प्रथम पुरस्कारवापत १ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । पोखराकै स्मिता घिमिरेले द्वितीय पुरस्कारस्वरूप ६० हजार रुपयाँ नगद पुरस्कार प्राप्त गरिन् । त्यसैगरी तेस्रो भएका हेटौंडाका रजक शाहीले ४० हजार रुपैयाँ नगद जित्न सफल भए । सम्पूर्ण विजेताहरूलाई आज नक्शालस्थित रोयल इन्फिल्डको शोरुममा कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरेका थिए ।

नाडा अटोशोमा बुकिङ्ग भएका टाटाका टियागो इभी र पन्चको धमाधम डेलिभरी सुरु

काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले नाडा अटोशोमा बुकिङ्ग भएका टियागो इभी र टाटा पन्चको धमाधम डेलिभरी सुरु गर्न थालेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगले गत भदौमा सार्वजनिक गरेका टियागो इभी र टाटा पन्च गाडीहरुको डेलिभरी गर्न थालेको बताएको छ । नाडा अटोशोमा बुकिङ्ग गर्दा टाटा मोटर्स नेपालले प्रतिज्ञा गरे जस्तै दशैं अगाडी नै गाडी डेलिभरी गरेको सिप्रदी ट्रेडिंगले बताएको छ । टाटा मोटर्सका शोरुमबाट उक्त टाटा टियागो, टाटा पन्च र टाटा नेक्सन इभी एक्स जेट प्लसको डेलिभरी भइरहेको कम्पनीले जनाएको छ । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा क्रुज कन्ट्रोल सहितको अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषता रहेका छन् । उक्त गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ । टियागो इभीको मूल्य २१.९९ लाख रुपैयाँ तोकिएको छ । यस्तै, टियागो एमआर एक्सटीको २२ लाख ९९ हजार रुपैयाँ, टियागो एलआर एक्सटीको २५ लाख ४९ रुपैयाँ, एलआर एक्सजेड प्लसको २६ लाख ९९ हजार रुपैयाँ र एलआर एक्सजेड प्लस टेकको २७ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक देखिन्छ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख रुपैयाँ तोकिएको छ । टाटाको न्यु फरेभ रेञ्ज अन्तर्गतको टाटा पन्चको आकर्षक डिजाइन, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा छन् । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा परिचित छ ।

चीनको चांगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी

काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी स्न २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ । एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार डीपल एस७ इभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वास छ ।

गाडी व्यापारले हौसिए अटो व्यवसायी, बैंकरले बोलाएरै दिन थाले ऋण

काठमाडौं । विगतकेही वर्षदेखि प्रभावित बनेको अटो बजारले पछिल्लो समय लयमा फर्किएको छ । यसअघि गाडी व्यापार सुस्त बनेका व्यवसायीहरु चाडपर्व लागेसँगै भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरुमहरुमा नयाँ सवारी साधन खरिद गर्नेहरुको संख्या बढ्दा व्यवसायीहरु खुसी भएका हुन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापा पनि पछिल्लो समय गाडी व्यापार वृद्धि भएको बताउँछन् । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष गाडीको व्यापारमा सुधार भएको बताए । ‘यस वर्ष गाडी व्यापार सुधार भएको छ, अघिल्लो वर्ष व्यवसायीलाई धेरै समस्या थियो, नाडा अटो शोले पनि केही राहत मिल्यो, अहिले विद्युतीय गाडी खरिद गर्ने ग्राहकहरुको संख्या बढ्दै गएको छ, त्यसले व्यापारमा थप मद्दत पुगेको छ,’ उनले भने । उनका अनुसार अहिले गाडी बुकिङ पनि बढ्दै गएको छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि सहजै फाइनान्सिङ गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले सहजै ऋण उपलब्ध गराउँदा व्यवसायीलाई ठूलो राहत मिलेको उनको भनाइ छ । ‘अहिले बैंकमा तरलता सुधार हुँदै गएको छ, यसअघि बैंकहरु लगानी गर्न पनि मान्दैनथे, तर अहिले बैंकहरुले ऋण लिन आग्रह गरिरहेका छन्,’ उनले भने । अब विस्तारै गाडी व्यापारले पुरानै लय लिने उनको विश्वास छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पनि साउनमा १ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कर्जा गाडी व्यापारका लागि लगानी गरेका छन् । अटो व्यवसायी अनुप कुमार बराल पनि गाडी व्यापारमा उल्लेख्य वृद्धि भएको बताउँछन् । ‘हामीले इन्धनबाट चल्ने गाडी बिक्री गर्छौं, पहिले इन्धनबाट चल्ने गाडी खरिद गर्नेको संख्या कम हुन्थ्यो, महिनामा २/३ वटा मात्रै बिक्री हुन्थ्यो, अहिले औसतमा ६/७ वटासम्म बिक्री हुन्छ, यसले सुधारको संकेत देखाएको छ,’ नारायणी अटो बिजनेसका सञ्चालक समेत रहेका उनले भने । उनका अनुसार कम्पनीहरुले पनि गाडीका नयाँ–नयाँ भेरियन्ट तथा मोडल भित्र्याएकाले पनि ग्राहकहरु बढेका छन् । आइशरका नयाँ मोडलका गाडीहरू धेरैको रोजाइमा परेको बरालको भनाइ छ । यस्तै, टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ ईभीका गाडीको व्यापार बढ्दै गएको बताउँछन् । ‘नेपालमा ईभी गाडीको माग बढेको छ, ईभीप्रति मान्छेहरू सकारात्मक पनि छन्, त्यसले समग्र अटाे बजार चलायमान गरेको छ,’ उनले भने । यस्तै, यातायात व्यवस्था कार्यालय एकान्तकुनाले पनि पछिल्लो समय चारपाँग्रे गाडीको दर्ता बढेको बताएको छ । कार्यालयका अनुसार साउनमा पेट्रोलियम पदार्थबाट चल्ने कार ३९९ र इलेक्ट्रिक कार २२६ वटा दर्ता भएका छन् । यस्तै, भदौ पेट्रोलियम पदार्थबाट चल्ने कार ६०६ र ५ सय ४६ वटा विद्युतीय कार दर्ता भएका छन् । कार्यालयका प्रमुख हरिहर पोखरेल पनि कारको दर्ता संख्या बढेको बताउँछन् । ‘विगतका वर्षहरुको तुलनामा अहिलेकाे दर्ता केही कम हो, तर यो वर्ष भने मासिक रुपमा बढेको देखिन्छ, विद्युतीय गाडी धेरैको रोजाइमा परेको छ,’ उनले भने । चालू आर्थिक वर्षको २ महिनाको अवधिमा झन्डै ८९८ सय विद्युतीय गाडी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौमा मात्रै नेपाल भित्रिएको छ । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

एभरेष्ट बैंकले नेपाल अटोसँग आवद्ध चालकलाई दियो क्यूआर कोड

काठमाडौं । एभरेष्ट बैंकद्धारा नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायातका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे । तिलोत्तमा नगरपालिकाका उप–प्रमुख श्रीमती जागेश्वर देवि चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ–रिक्सा यातायात संग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबार बाट झन्झट मुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा श्री उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे । फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमाका सभापति शेषकान्त भुषल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारीको समेत उपस्थिति रहेको थियो ।  

अनलाइन अटो शो गर्दै नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा दुई संस्थाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त पत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडाडटहाम्रोबजारडटकमबाट दैनिक रुपमा प्रसारण गर्ने छ ।

एकल अंकको ब्याजदरमा पनि गएन अटो लोन

काठमाडौं । गत भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२३’ सम्पन्न भयो । नाडा अटो शोमा विभिन्न कम्पनीका विद्युतीय गाडी प्रदर्शनीमा थिए । नाडा अटो शोलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंकले भदौ २५ गते एउटा स्कीम सार्वजनिक गर्याे । ‘आरबीबीएल इभी लोन फेस्टिभ अफर’ नामक विशेष योजना सार्वजनिक गर्याे । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नाराका साथ भदौ २६ गतेदेखि लागू हुने गरी उक्त विशेष योजना सार्वजनिक गरेको थियो । बैंकले ९.९५ प्रतिशत ब्याजदरमै विद्युतीय सवारी खरिद गर्न कर्जा दिने बताएको छ । बैंकले तोकेको कर्जाको दर वाणिज्य बैंकहरुमध्ये सबैभन्दा न्यून रहेको दाबी गरेको छ । बैंकका उपकार्यकारी अधिकृत (डीईओ) विनय रमण पाैडेलका अनुसार विद्युतीय सवारी खरिद गर्न सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकमा छ । ‘हामीले विद्युतीय गाडीलाई जोड दिन खोजेको हौं, प्रकृतिलाई जोगाउनु पर्छ भन्ने हाम्राे उद्देश्य हो, सरकारले पनि विद्युतीय गाडीलाई जोड दिइरहेको छ,’ उनले भने, ‘सरकारले अहिले बिजुली खपत गरौं भनिरहको छ, राज्यको नीतिलाई पालना गर्न/गराउन यो प्रडक्ट ल्याएका हौं ।’ बैंकले ल्याएको उक्त प्रडक्ट ग्रीन बैंकिङ्ग अन्तर्गत रहेको डीईओ पौडेले बताउँछन् । विद्युतीय सवारी खरिद गर्दा पेट्रोलियम पदार्थको खपत कम हुने र विद्युत खपत बढ्ने उनको भनाइ छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा जलविद्युत क्षेत्रको योगदान बढ्दै गएकाले विद्युतीय गाडीलाई जोड दिएको उनले बताए । ‘वाणिज्य बैंकहरुमै सबैभन्दा सस्तो ब्याजदर, ग्रिन बैंकिङ्गलाई जोड दिनु, ८० प्रतिशत फाइनान्स गर्नु मुख्य विशेषता हो,’ डीईओ पौडेलले भने । डीईओ पौडेलका अनुसार एक करोड रुपैयाँको विद्युतीय सवारी खरिद गर्नु पर्याे भने ग्राहकले २० प्रतिशत रकम मात्रै नगद जम्मा गर्नु पर्ने हुन्छ । बाँकी ८० प्रतिशत रकम बैंकले फाइनान्स गर्ने उनले बताए । तर, राष्ट्रिय वाणिज्य बैंकले सवारी कर्जा प्रवाह गर्दा १ करोड रुपैयाँभन्दा बढी मूल्य भएका र दुई पाङ्ग्रे सवारीको फाइनान्स नगर्ने उनले बताए । ‘सर्वसाधारण तथा मध्यम वर्गलाई मध्यनजर गरी यो प्रडक्ट ल्याएको हो, अहिले नेपाली बजारमा एक करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारी साधन धेरै छैनन्, अधिकांश विद्युतीय सवारी साधन एक करोड रुपैयाँभन्दा कम मूल्यका छन्,’ उनले भने, ‘त्यसैले सवारी साधन खरिद गर्दा विद्युतीय सवारीमा ग्राहकको आकर्षण बढोस् भन्ने हाम्रो चाहना हो ।’ बैंकका अनुसार उक्त प्रडक्ट तीन महिना अवधिका लागि ल्याइएको हो । यदि आगामी दिनमा उच्च माग भयो भने समय थप गर्न सकिने उनको भनाइ छ । तीन महिनाको अवधिमा १ सय वटा विद्युतीय सवारीका लागि कर्जाको माग आउने अनुमान गरेको उनको भनाइ छ । ‘बैंकले ल्याएको प्रडक्टको माग राम्रो छ, सकारात्मक प्रतिक्रिया पनि आएका छन्, हालसम्म १५/२० वटा फाइल बैंकमा आएका छन्, कर्जाको माग आउने क्रम बढ्दै गएको छ, १५/२० वटा फाइलहरुमध्ये टाटा नेक्सन, एमजी लगायत मध्यम रेञ्ज भएका गाडीहरु खरिदका लागि छन्, कम मूल्य भएका किया लगायतका सवारी खरिद गर्न कर्जाको माग कम छ,’ उनले भने । अन्य बैंकको आधार दर ११ प्रतिशत हुँदा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.५ प्रतिशत रहेको छ । बैंकले आधार दरमा १.४५ प्रतिशत प्रिमियम मात्रै थप गरेको हो । अन्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा राष्ट्रिय वाणिज्य बैंकले घटाउँदै आएको उनले बताए । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्व रहेको बैंक भएकाले सरकारको नीतिअनुसार विद्युतीय सवारीमा प्रवद्र्धन गर्न सस्तो ब्याजमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।

५० करोडसम्मको एफडीआई अब अटोमेटिक रुटबाट, यी हुन् लगानीका क्षेत्र

काठमाडौं । विदेशी लगानी भित्र्याउन धेरै सरकारी निकायमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले विदेशी लगानीलाई अटोमेटिक रुटबाट भित्र्याउनका लागि तयारी अन्तिम चरणमा पुर्याएसँगै अब लगानी ल्याउनका लागि पनि विभिन्न निकायमा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई शंसोधन गर्दै राजपत्रमा सूचना प्रकाशन गर्नका लागि अन्तिम गृहकार्य गरिरहेको बुझिएको छ । राजपत्र प्रकाशन भएपछि अटोमेटिक रुटबाट विदेशी लगानी भित्र्याउने बाटो खुल्नेछ । हाल विदेशी लगानी ल्याउनका लागि ठूलो प्रक्रिया पुर्याउनु पर्ने बाध्यता छ । अब छिटो छरितो रुपमा लगानी भित्र्याउनका लागि सहजीकरण हुने उद्योग विभागले जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारी ५० करोड रुपैयाँसम्मको विदेशी लगानीलाई अटोमेटिक रुटबाट भित्र्याउने तयारी भएको बताउँछिन् । ‘अहिले विदेशी लगानी भित्र्याउन धेरै समस्या भयो भन्ने गुनासो छ, हामीले त्यसलाई मध्यनजर गर्दै अटोमेटिक रुटबाट लगानी भित्र्याउन लागेका हौँ’, उनले भनिन, ‘चालू आवको बजेटमा न्यूनतम १० करोड रुपैयाँसम्म तोकिएकोमा हामीले ५० करोड रुपैयाँ राख्दै अटोमेटिक रुट लागू गर्न लागेका हौं ।’ उनका अनुसार राजपत्रमा सूचना प्रकाशन भएपछि ५० करोड रुपैयाँ बराबरको विदेशी लगानी सहज रुपमा भित्रिनेछ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था उल्लेख गरिएको थियो । सोही व्यवस्थालाई टेकेर विभागले लगानीकर्तालाई सहुलियत दिनका लागि सीमा बढाएर ५० करोड रुपैयाँ पुर्याएको हो । वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि लगानीकर्ताले धेरै निकायमा धाउनु पर्ने बाध्यता हटाउन सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जनाएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्न यो प्रणाली सहयोगी हुने अपेक्षा समेत गरेको छ । उद्योग विभागका अनुसार अब अटोमेटिक रुट (स्वचालित मार्ग) मार्फत् शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न सकिनेछ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको भण्डारीले जानकारी दिईन । उक्त प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आइरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ । विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि अटोमेसन आफैमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो । भारत र बङ्गलादेश लगायतका मुलुकहरुमा समेत यो प्रणाली लागू भइसकेको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो । यी उद्योगमा ल्याउन सकिनेछ लगानी सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरेसँगै सबैभन्दा धेरै लगानी उत्पादन मूलक क्षेत्रका उद्योगले ल्याउन सक्छन् । उत्पादन मूलक क्षेत्रका उद्योगले पशुपन्छीदेखि दाना उत्पादनसम्मका गरी १९ वटा क्षेत्रमा लगानी ल्याउन सक्ने कार्यविधिमिा उल्लेख छ । यस्तै, उर्जा मूलक क्षेत्रमा, कृषि ५ वटा क्षेत्र, पूर्वाधार क्षेत्रमा सवारी पार्किङ, वेयरहाउस लगायत ५ क्षेत्रमा लगानी ल्याउन सकिनेछ । यस्तैगरी, पर्यटन क्षेत्रअन्तरगत होटल, रिसोट, रेष्टुरेन्ट, सभासम्मेलन तथा खेलकुल पर्यटन सम्बन्धी ३ क्षेत्र, सूचना प्रविधि अन्तरगत टेक्नोलोजी, आइटीपार्क लगायत ९ किसिमका क्षेत्रमा लगानी ल्याउन सकिनेछ । सेवामूलक क्षेत्रअन्तरगत अस्पताल, नर्सिङ होम, फोहोरमैला संकलन तथा व्यवस्थापनगरी ९ क्षेत्र र उत्पादनमूलक क्षेत्र अन्तरगत पशुपन्छीको दाना उत्पादन लगायतका १९ वटा क्षेत्रमा लगानी ल्याउन सकिनेछ । सरकारले सूचना प्रविधि क्षेत्रमा न्यूनतम सीमा हटाएर अन्य क्षेत्रमा भने बढाएको छ । उद्योग विभागले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै न्यूनतम सीमा हटाइएको जनाएको छ । कस्तो छ प्रक्रिया ? अहिले लगानी ल्याउनु पूर्व लगानीकर्ता नै विभागमा आएर अनुमति माग्नु पर्ने व्यवस्था छ । तर, अब भौतिक रुपमा विभागमा नआएरै त्यो काम गर्न सकिनेछ । विभागले लगानीकर्ताका लागि एउटा वेवसाइट बनाउँछ । त्यसमा विदेशी लगानीकर्ताले आफ्नो युजर आइडी बनाउन बनाएर लगानीको रकम र लगानी गर्न चाहेको क्षेत्र छनोट गर्नु पर्ने हुन्छ । त्योसँगै केही कागजातहरु प्नि राख्नु पर्ने हुन्छ । विभागले अनलाइनमार्फत् नै नोटिफिकेसन दिन्छ । त्यसपछि लगाकनीकर्ताले लगानीका लागि एप्रुभल पाउँछ ।

दुई महिनामा भित्रिए ९ सय ईभी, नाडा अटो शोकाे प्रभाव

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ९ सय विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांक अनुसार ८ सय ९८ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौ महिनामा मात्रै नेपाल भित्रिएको छ । गाडी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको अटोशो लक्षीत गर्दै उक्त संख्याका गाडीहरु नेपाल भित्रिएका हुन् । तीन वर्षपछि आयोजना भएको अटोशोमा उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको र पछिल्लो समय बढ्ने व्यवसायीहरुले बताएका छन् । तथ्यांक अनुसार दुई महिनाको अबधिमा ५१ देखि १ सय किलोवाटसम्मका गाडीहरु धेरै भित्रिएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत उक्त किलोवाटका गाडी आयातमा छुट दिएपछि आयात बढ्दै आएको हो । साउन र भदौमा ५० किलोवाटसम्मका २ सय ५५ वटा, ५१ देखि १०० किलोवाटसम्मका ६ सय ३१, १०१ देखि २०० किलोवाटसम्मका ९ र २०१ देखि ३ सय किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको तथ्यांकमा उल्लेख छ । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नाडा अटो शो २०२३ मा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ्ग

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषतः सुरुवाती मूल्य २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ्ग भएको कम्पनिले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउँछन्, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौ । नाडा अटो शो २०२३ मा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाई दिनु भएको सम्पूर्ण ग्राहकवर्ग, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौ । टाटाका गाडीहरु उत्कृष्ट बिशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।

७६ हजार बढीले अवलोकन गरे नाडा अटो शो

काठमाडौं । गत भदौ २६ गतेदेखि ३१ गतेसम्म भएको नाडा अटो शोमा ७६ हजार बढीले अवलोकन गरेका छन् । नाडा अटो शोका सभापति अनुपकुमार बरालले अन्तिम दिनसम्ममा ७६ हजार बढीले अवलोकन गरेका जानकारी दिएका हुन् । उनका अनुसार समग्रमा नाडा शो उत्साहपूर्ण रह्यो । उक्त शोमा ईभी गाडी सबैभन्दा बढी बुकिङ भएको अनुमान गर्दै बरारले अहिलेसम्म कति गाडी बुकिङ भए भनेर आधिकारिक जानकारी आई नसकेको समेत जानकारी दिए । उक्त शो मा जानको लागि प्रवेश शुल्क विद्यार्थीको लागि १५० रुपैयाँ र अन्यको लागि २०० रूपैयाँ तोकिएको थियो ।

नाडा अटो शोमा १००० बढी गाडी बुकिङ, ग्राहकको रोजाइमा ईभी

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको ‘अटो शो–२०२३’ मा एक हजार भन्दा बढी गाडी बुकिङ भएका छन् । भदौ २६ गतेदेखि जारी नाडा अटो शोको तेस्रो दिनसम्ममा सो संख्यामा गाडी बुकिङ भएको नाडाले जानकारी दिएको हो । नाडाका अध्यक्ष ध्रुब थापाले तेस्रो दिनसम्ममा करिब एक हजार बढी चार पाँग्रे गाडीको बुकिङ भएको जानकारी दिए । उनका अनुसार अझै बुकिङ हुने क्रम जारी छ । अटो शोमा विद्युतीय सवारी नै सबैभन्दा बढी बुकिङ भएको अनुमान नाडाको छ । उनका अनुसार नाडा अटोशोमा धेरै अवलोकनकर्ताको नजरमा पनि विद्युतीय सवारी नै परेको छ । दुई पाँग्रे सवारीको बुकिङ भने अहिले नै थाहा नहुने उनको भनाइ छ । ईभी सँगसँगै इन्धनबाट चल्ने विद्युतिय सवारीको बुकिङ पनि राम्रो रहेको थापाको भनाइ छ । ‘हामी सोचे भन्दा पनि राम्रो अटो शो राम्रो भयो, भिजिटर पाउँछ कि पाउँदैन, गाडी बुकिङ हुन्छ कि हुँदैन भन्ने डर थियो, तर अटो शो सोचे भन्दा पनि राम्रो भयो,’ उनले भने । देशको अर्थतन्त्रमा नयाँ भाइब्रेसन सिर्जना गर्ने गरी अटो शो भएको पनि थापाले बताए । उनका अनुसार दोस्रो दिनसम्म २१ हजार बढीले शोको अवलोकन गरेका छन् । यस्तै, अटो–शो तेस्रो दिनमा आज १५ हजार बढीले अवलोकन गरेका अनुमान नाडाको छ । अटो शोले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको पनि थापाले बताए । भदौ ३१ गतेसम्म नाडा अटो शो चल्नेछ ।