टेस्ला माथि आपराधिक अनुसन्धान, ‘अटोपाइलट’ मा घातक र झुटाे विज्ञापन

काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी प्रयोगकर्ताहरुले गरेको दावीका आधारमा यस्तो अनुसन्धान शुरु गरिएको हो । गत वर्ष एक दर्जन भन्दा बढी टेस्लाका गाडीहरु दुर्घटनामा परेपछि अमेरिकी न्याय विभागले अनुसन्धान थालेको थियो । टेस्लाको ड्राइभर सहायता प्रणाली ‘अटोपाइलट’ मा केही घातक बस्तु प्रयोग गरिएको र गाडी दुर्घटनाका बेलामा ती बस्तु सक्रिय हुने गरेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत हप्ता मात्र मस्कले टेस्लामा चाँडै नै “फुल सेल्फ–ड्राइभिङ’’ सफ्टवेयरको अपग्रेड गरिने बताएका थिए । त्यसपछि कानुनको पालना गर्न मात्र गाडीको ड्राभिङ सिटमा मान्छे बस्नु पर्ने तर गाडी गुड्न ड्राइभरको कुनै भूमिका नहुने, कार आफै गुड्ने बताएका छन् । कम्पनीका मालिक तथा प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले टेस्लामा प्रयोग भएको ‘अटोपाइलट’ लाई मानव चालक भन्दा ‘सम्भवतः राम्रो’ भनेर बताएका छन् । सन् २०१६ मा आयोजित टेस्ला मार्केटिङ सम्मेलनमा मास्कले यस्तो व्याख्या गरेको थिए । एलाेन मस्क टेस्ला टेक्नोलोजी स्टेयरिङ, ब्रेकिङ, गति र लेन परिवर्तनहरूमा सहयोग गर्न डिजाइन गरिएको हो तर यसको सुविधाहरूले “गाडीलाई स्वायत्त बनाउन होइन’’ कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । तर टेस्लाले यो पनि भनेको छ कि चालकले आफ्नो हात सधैं स्टेरिङमा राख्नुपर्छ, ताकि सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । न्याय विभागले थालेको अनुसन्धानबारे एलोन मस्कले सञ्चार माध्यमहरुसँग बोल्न मानेका छैनन् । टेस्लाको सञ्चार विभागले सन् २०२० पछि सञ्चार माध्यमले सोधेका जिज्ञासामा जवाफ दिन छोडेको पनि समाचारमा उल्लेख छ । अगस्ट २०२१ मा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले दुर्घटनाहरूको शृङ्खलाको अनुसन्धान पनि खोलेको छ । त्यसमा पनि टेस्लाको अटोपाइलत सिस्टममाथि शंका गरिएको छ । यस वर्षको जुलाईमा क्यालिफोर्नियाको साधन विभागले पनि टेस्लामा अटोपाइलट र पूर्ण स्व–ड्राइभिङ क्षमता छ भनी झूटो विज्ञापन भैरहेको आरोप लगाएको थियो । टेस्लाले उक्त आरोपको विपक्षमा अदालत जाने र त्यसको लागि कागजी प्रमाण जुटाइरहेको बताएको छ ।

मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक बागमती गाउँपालिका–८ बस्ने वर्ष ५८ को रामबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि

काठमाडौंं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो । हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । उक्त स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालीकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त प्रविधीकाे सुरुवात गरे । कार्यक्रममा बोल्दै मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खाानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने भन्दै आग्रह गरेका छन् । ‘अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ, समिति देखि उपभोक्ताको सहजताका लाागि माात्र नभएर राज्यका लागि समेत यो महत्वपूर्ण हुने हुनाले यो प्रयोग गर्न म सबैमा अपिल समेत गर्दछु,’ उनले भने । करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।  

बागलुङको बरेङ गाउँपालिकाले रोजगारी गुमाएकालाई अनुदानमा दियो अटो रिक्सा

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन् । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन् । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उहाँसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन । गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलव्ध गराएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको थियो । शुक्रबार एक कार्यक्रममा धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीमा सञ्चालन हुने छन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पु¥याउने दुवै योजना हो,’ अध्यक्ष शर्माले भने, ‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’ पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादरसमेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताए । अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको चिकित्सकको कागज, १८ देखि ४० वर्षभित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उनीहरुलाई अनुदान उपलब्ध गराएको शर्माले बताए । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आफैँले गर्नेछन् । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो रिक्साका लागि व्यवसायीले एक लाख ४७ हजार चार सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ । रासस

नाडा इभी अटो सो सुरु, ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको गुनासो

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा नाडा इभी अटो सो सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ईभी अटो सो सुरु भएको हो । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रबकुमार थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे । अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेको र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको बताए । यस्तै, थापाले पछिल्लो ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको र हजारौंले रोजगारी गुमाएको धारणा राखे । थापाले सवारी साधनको आयात खुलाउन पनि अर्थमन्त्रीलाई आग्रह गरे । विद्युतीय गाडीहरुमा लाग्ने स्पेयर्स पार्ट्स र ब्याट्री नेपालमा नै उत्पादन गर्न सम्भव भएको बताउँदै थापाले त्यसका लागि १ प्रतिशत मात्रै भन्सार कर लगाउन उनले आग्रह गरे । नाडा अटोमोबाइल एशोसिएसनले प्रदर्शनमा ८ वटा चार पाङ्ग्रे इभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधनले सहभागी जनाएको छ । आगामी आइतबारसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ । आयोजककाअनुसार पहिलो ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिएका छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् ।

सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’

सुर्खेत । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सुर्खेतमा सार्वजनिक गरेको छ । महिन्द्रा समूहको एक हिस्सा रहेकाे यस कम्पनीले मंगलबार सुर्खेत उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे हाे । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएकाे छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । याे पहिलाेपल्ट २०१८ मा सार्वजनिक गरिएकाे थियाे । ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस अटाेमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुकाे साथै यस अटाेले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसकाे अटाेकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।      

अब पठाओ चितवनमा पनि, अटो र बाइकबाट राइड सेवा सुरु गरिने

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन्, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’ चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएकाे छ ।  

सिप्रदी अटोपार्ट्सहरु एउटा किन्दा अर्को नि:शुल्क

काठमाडाैं । सिप्रदी अटोपार्ट्सको इटहरीस्थित आधिकारिक विक्रेता सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ । दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो । टाटा कमर्सियल गाडीका धनीले अझ बढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने कम्पनी बताउँछ । यस अफर अन्तर्गत ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल नि:शुल्क पाउनेछन् । यसैगरी, क्लच प्लेट तथा प्रेसर प्लेटको सेट,  ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक बाेध प्रसाद तिमिल्सिनाले बताए ।

बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा, आत्मनिर्भर पनि भइने

काठमाडौं । अब बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा पाइने भएको छ । बजाजको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजनाअन्तर्गत उक्त अफर दिने भएको हो । ‘यसपालीको चाड, उपहारसंगै स्वरोजगार’ नामक यो योजना अन्तर्गत बजाजको म्याक्सिमा सी (सामान बोक्ने अटो) वा बजाज आरई बीएस६ (मान्छे बोक्ने अटो) किन्दा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ२२ स्मार्ट फोन पाइने छ । ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ, उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो, यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाजको म्याक्सिमा सी वा बजाज आरई बीएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।’ हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जानकारी गराएको छ ।

चंगान अटोको नेपालमा पहिलो वर्ष पुरा

काठमाडौं । चीनको नंबर एक प्यासेन्जर ब्राण्ड चंगान अटोले नेपालमा आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लुले एक वर्ष पहिले चंगानको उत्कृष्ट गाडिहरु नेपाली बजारमा भित्राएको हो । चंगान अटोले नेपाली बजारमा सेडान एल्सभिन मार्फत आगमन गरेको थियो । यससँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिक गरिएको थियो । एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो । हन्टर दुई संस्करण ४८२ र ४८२ मा उपलब्ध छ । सुरुवातमा सोल्टी होटेलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चंगान अटोले हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाईला काठमाडौंबाट सञ्चालन गरेको थियो । हन्टर सार्वजनिक भएसँगै कम्पनीले आफ्नो सोरुम नक्सालबाट सेवा सञ्चालन सुरु गरेको थियो । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअप लक्जरीमा छैठौ भएको थियो ।

बैंकहरूले अटो क्षेत्रलाई फाइनान्सिङको सुविधा रोके, बाइक बिक्री हुन छाडेपछि धमाधम स्कीम ल्याइँदै

काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल्स बजार नकारात्मक दिशातिर लागेको छ । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन आयातमा कडाइ गर्दा अटोमोबाइल्स क्षेत्र नकारात्मक दिशातर्फ लाग्न थालेको व्यवसायीहरु बताउँछन् । यसअघि गत बैशाख १३ गते सरकारले सूचना जारी गर्दै असार मसान्तसम्मका लागि २५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे तथा चार पाँग्रे कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । उक्त समयमा २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयातमा पूर्ण रुपमा रोक लगाइयो । साउन लागेसँगै सरकारले आयातमा सहजीकरण गर्ने आशमा रहेका अटो व्यवसायीहरुलाई सरकारले पुनः आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे सवारी आयातमा झनै कडाई गर्दै प्रतिबन्ध लम्ब्यायो । सरकारले १५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे सवारी आयातमा रोक लगाउँदा हाल बजारमा मोटरसाइकलको अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । लामो समयदेखि आयात नहुँदा र भएका साधन समेत पर्याप्त मात्रामा बिक्री नहुँदा अटोमोबाइल्स व्यवसायीहरु लगानी डुब्ने खतरा बढेको भन्दै आतिन थालेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल सरकारका कारण बजारमा मोटरसाइकल अभाव हुन थालेको बताउँछन् । हाल अधिकाशं उपभोक्ताको रोजाइमा पर्ने १५० सीसी क्षमताका मोटरसाइकल आयातमा रोक लगाउँदा समग्र अटो व्यवसाय नकारात्मक दिशातर्फ लागेको उनकोे भनाइ छ । उनले नयाँ आयातसँगै व्यवसायीसँग मौज्दातमा रहेका मोटरसाइकल समेत बैंकले फाइनान्सिङको सुविधा नदिँदा बिक्री नभएको बताए । ‘विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै आयातमा रोक लगाइएको छ, भएका साधन बिक्रीमा समेत बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङको सुविधा उपलब्ध नगराउँदा मोटरसाइकलको बिक्री लगभग ठप्प जस्तै भयो’, उनले भने । उनले मौज्दातमा रहेका साधन बिक्री गर्न केही कम्पनीले स्कीम सार्वजनिक गर्न थालेको बताए । आफ्नै फाइनान्स सुविधा भएका केही कम्पनीले मौज्दात बाइकको बिक्री बढाएर बजारलाई चलायमान बनाउन स्कीम ल्याएका हुन् । यसअघि पनि विभिन्न कम्पनीले स्कीम ल्याउने गरेको भन्दै निरन्तर मोटरसाइकल बिक्रीका लागि गरिने प्रमोसन मात्रै भएको उनको भनाइ छ । बिक्री बढाउन स्कीम १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्धसँगै बजारमा रहेका समेत बिक्री हुन छाडेसँगै केही कम्पनीहरुले स्कीम ल्याएका छन् । यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले फाइनान्ङिको स्कीम सार्वजनिक गरेका हुन् । उक्त दुई कम्पनीले हाल बिक्री गर्दै आएको विभिन्न मोडलका मोटरसाइकल बिक्रीका लागि ४० प्रतिशत डाउनपेमेन्टदेखि मासिक किस्ता भुक्तानीका लागि स्कीम सार्वजनिक गरेका हुन् । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले फजेड–एक्स रेट्रो, एमटी १५, जेड आर स्कुटर लगायतका मोडलका बाइक बिक्रीमा स्कीम सार्वजिनक गरेको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधिमध्ये उपयुक्त एउटा छनोट गरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने गरी स्कीम सार्वजनिक गरेको हो । एफजेट एक्स मोडलको बाइकमा ४० प्रतिशत डाउनपेमेन्टदेखि १८ महिनाका लागि मासिक रुपमा १५ हजार २२९, २४ महिनाका लागि मासिक किस्ता ११ हजार ८२८ र ३० महिनाका लागि मासिक किस्ता ९ हजार ८८८ रुपैयाँ तोकेको छ । यस्तै, एमटी १५ मोडलका बाइकमा ५० प्रतिशत डाउनपेमेन्ट, १८ महिनाका लागि मासिक रुपमा १४ हजार ३७९, २४ महिनाका लागि मासिक रुपमा ११ हजार १६८ र ३० महिनाका लागि िमासिक किस्ता ९ हजार ३३६ रुपैयाँ तोकिएको छ । जेडआर स्कुटरमा समेत कम्पनीले फाइनान्ङिको सुविधा दिएको छ । जेडआर मोडलका स्कुटर खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्टसँगै १८ महिनाका लागि मासिक ९ हजार १५०, २४ महिनाका लागि मासिक ७ हजार १०६ र ३० महिनाका लागि मासिक रुपमा ५ हजार ९४१ रुपैयाँमा फाइनान्स सुविधा दिने कम्पनीले जनाएको छ । यस्तै, हिरो मोटरसाइलको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले समेत मोटरसाइकल बिक्रीका लागि फाइनान्स स्कीम सार्वजनिक गरेको छ । कम्पनीले एक्सपल्स २०० फोर भी मोडलका बाइक ९ प्रतिशत व्याजदरमै खरिद गर्नसकिने गरी स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ४० प्रतिशत डाउनपेमेन्ट र ९ प्रतिशत ब्याजदरमा विभिन्न मोडलका मोटरसाइकल खरिद गर्न सकिने गरी स्कीम सार्वजनिक गरेको हो ।

नाडा अटो शो स्थगित

काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । सरकारले आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे तथा चार पाँग्रे सवारी साधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । देशमा विदेशी मुद्रा सचिञ्तीमा कमी आएको भन्दै सरकारले गत बैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाएको छ । यसअघि दुई वर्षसम्म कोभिड-१९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गरेको हो । याे पनि ः  धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

काठमाडौं । सरकारले सवारी साधनमा थप कडाइ गरेपछि नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो अनिश्चित बनेको छ । नाडाले भदौमा आयोजना गर्ने तयारी गरेको यस वर्षको ‘नाडा अटो शो’ अनिश्चित बनेको हो । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिनसम्म अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर, सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अटो शो अनिश्चित बनेको हो । यसअघि गभर्नर, प्रधानमन्त्रीदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि नाडाका पदाधिकारीहरुले अटो शो आयोजनाको तयारी थालेका थिए । तर, आइतबार उद्योग मन्त्रालयले यसअघिकै प्रतिबन्धलाई निरन्तरता दिँदै मोटरसाइकल तथा स्कुटर आयातमा झनै कडाइ गरेपछि अटो शो पोस्टपोन्ड वा स्थगितको तयारी थालिएको नाडाले जनाएको छ । नाडा अध्यक्ष धुब्र थापा अटो शोको तयारी थालिएकै समयमा सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएपछि अटो शो को विषयमा छलफल गर्ने तयारी थालिएको बताउँछन् । उनले सरकारले भदौ १४ गतेसम्मलाई आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसपछि समेत निरन्तरता हुने आशंका व्यक्त गरे । आइतबार राजपत्रमा प्रकाशित सूचना अनुसार छिट्टै नाडाका पदाधिकारीले छलफल गरेर अटो शो पोस्टपोन्ड वा स्थगितको विषयमा निर्णय गर्ने उनले बताए । उनले अतिआवश्यक वस्तुको सूचिमा सवारी साधनलाई नराख्दा अर्बौंको लगानी गरेको अटो व्यवसायीहरू समस्यामा पर्न थालेको बताए । ‘सरकारले सुनलाई अति आवश्यक वस्तुको सूचिमा राखेको छ, अतिआवश्यक सूचिमा राख्नुपर्ने भेकल क्षेत्रलाई विलासितामा राखिन्छ’, उनले भने । धरौटीमा गाडी ल्याउन सकिने अध्यक्ष थापाले नाडा अटोे शोमा धरौटीमा गाडी ल्याउन सकिने विकल्प रहेकोे बताए । ‘आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन, गाडी निर्माता कम्पनीबाट हामीले धरौटीमा (पछि फिर्ता गर्न) वा भन्सार शुल्क पछि भुक्तानी गर्ने शर्तमा नयाँ मोडलका गाडी आयात गर्न सक्छौँ तर, सरकारले आयातको प्रतिबन्ध कहिलेसम्म लगाउने निक्यौल नहुँदासम्म गाडी बिक्री रोकियो’, उनले भने, ‘गाडीको शो गरेर बुकिङ भएका गाडी ल्याउन समस्या हुने देखेर शो नै अन्यौलमा भयो, शो मा देखाउनैका लागि धरौटीमा गाडी ल्याउन सकिदैन ।’ उनले सरकारले लामो समयसम्म गाडी आयातमा प्रतिबन्ध लगाउँदा विदेशी कम्पनीले नेपाली कम्पनीलाई हेर्ने नजर नै नकारात्मक हुन थालेको बताए । ‘सवारी साधनको आयात रोकिँदा विदेशमा नराम्रो असर परेको छ, नेपाली व्यवसायीलाई विदेशी अटोमोबाइल्स कम्पनीले हेर्ने नजरमा नकारात्मक असर पर्दा दीर्घकालसम्म यसको असर पर्ने देखिन्छ’, उनले भने । धेरै बिक्री हुने सीसी मै प्रतिबन्ध उद्योेग मन्त्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्मका लागि १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाएको छ । गत बैशाख १३ गतेदेखि असारमसान्तसम्मका लागि २५० सीसी माथिका मोटरसाइलमा मात्र प्रतिबन्ध लगाएको सरकारले मोटरसाइकल आयातमा झनै कडाइ गरेको हो । हाल बजारमा चल्तीमा रहेका र सबैभन्दा धेरै माग भएकै सीसीमा कडाइ गर्दा बजारमा मोटरसाइकलको अभावसँगै आयात ठप्प हुने अध्यक्ष थापाको भनाइ छ । सरकारी प्रतिबन्धसँगै बजारमा सर्वाधिक चल्तीमा रहेका ४० भन्दा बढी मोडलका मोटरसाइकलको अभाव हुने व्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिबन्ध सँगै बजाज, यामाहा, टीभीएस, होन्डा, हिरो, सुजुकी, क्रसफायर, टेकन, सिएफ मोटो, केटीएम, हस्कभर्ना, बेनेली लगायात ब्राण्डले बिक्री गर्ने अधिकांश मोडलका मोटरसाइकल आयात प्रतिबन्धमा परेका छन् ।

१० प्रतिशत व्याजमा घर कर्जा, साढे १० प्रतिशत व्याजमा अटो लोन

काठमाडौं । व्याजदर वृद्धि गरेकोमा बैंकर्सहरु आलोचित छन् । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याज १५/१६ प्रतिशत पुर्याएकोमा ऋणिको आक्रोस छ । बचतकर्तालाई व्याज ११/१२ प्रतिशत व्याज दिएकोमा उद्योगी व्यवसायीहरुको आक्रोस छ । तर नागरिक लगानी कोषले व्याजदर बढाएर पनि ८ देखि १० प्रतिशतमा सीमित गरेको छ । कोषले अहिले पनि बढीमा १० प्रतिशत व्याजमा कर्जा प्रवाह गरिरहेको छ । २०७९ साउन १ देखि लागू हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत तोकेको छ । कोषले उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ । कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पु¥याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ । राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्र सेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

अटो क्षेत्रलाई चुरोट र रक्सीसँग दाँजियोः अध्यक्ष थापा

काठमाडाैं । नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुईदिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् । उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । अटोमोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको उनकाे गुनासो छ । अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटोमोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताए । अध्यक्ष थापाले सरकारलाई राजश्व चाहिएपनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गरे । उनले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको र अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे ।

अटो चलाएर स्वरोजगार बन्दै विरेन्द्ननगरका महिला, मासिक ६० हजारसम्म कमाइ

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोचेकी थिइनन् । चौध वर्षकै उमेरमा विवाह बन्धनमा बाधिएकी उनको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन समस्या थियो । विगतमा सिर्जनाका दुई छोरा र दुई छोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कयौँ रात भोकै बस्नुपरेको उनी सुनाउँछिन् । ‘काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थे तर सबैलाई पेटभर खान पुग्थेन’, विगत सुनाउँदै उनी भन्छन्, ‘कहिलेकाहीँ कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ।’ छोराछोरीलाई भोकै सुताउँनुपर्दा राति सिर्जनालाई निद्रा लाग्दैनथ्यो । श्रीमान्काे सहयोग नभएकाले चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उनको काँधमा थपिएको थियो । जीवनमा कहिले घाम त कहिले छाँया भनेझैँ सिर्जनाको जीवनले पनि अर्काे मोड लियो । त्यो हो ‘अटो रिक्सा’ । उनले अटो चलाउन थालेपछि आर्थिक अवस्था सुधार हुँदै आएको छ । ‘अहिले भोकै बस्नुपरेको छैन’, सिर्जना भन्छिन्, ‘अटो चलाएपछि पेटभर खान पाएका छौँ’, उनले दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल भएकी छिन् । अटो चलाएरै मासिक ३० हजार बढी आम्दानी हुने गरेको सिर्जना बताउँछिन् । सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरुलाई अहिले बोडिङ स्कुलमा पढाउने सोच उनले बनाएकी छिन् । उनकाे विद्यालय नगएर बसेकी ठूली छोरी पनि अब विद्यालय जान पाउने भएकी छिन् । वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमान्ले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बस्नुभएकी कल्पनालाई श्रीमान्ले सहयोग नगरेपछि समस्यामा परिन् । छोराछोरीसहित उनलाई भने बिहान बेलुकाको छाक टार्नै हम्मेहम्मे थियो । एकदिन उनले नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन लागेको छ भन्नेकुरा गाउँमा सुनिन् । वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्षित गरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । कल्पनाले पनि उक्त तालिम लिइन् र त्यसपछि नगरपालिकाबाट अटो किन्न दुई लाख पनि सहयोग पाइन् । दुई लाखमध्ये एक लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण । अटो चलाउनथालेपछि उनलाई श्रीमान्काे आश गर्नै परेन । ‘रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पाल्न सकेकी पालेकी छु,’ उनी भन्छिन् । अटो सिक्ने बेला कल्पनालाई समाजले के भन्ला भन्ने डर लागेको थियो तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिन थालेका छन् । ‘समाजमा मैले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने लागेको थियो’, उनी भन्छन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छाैँ, अझ मेहनत गर्दै जाउ भन्छन् ।’ कल्पनालाई एउटा समस्या भनेको सवारी चालक अनुमतिपत्र नहुँदा समस्या भएको छ । उनी अहिले अनुमतिपत्र निकाल्ने प्रक्रियामा छिन् । ‘ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ’, उनी भन्छिन् । कल्पना मात्र होइन, अहिले सुर्खेतका यस्ता अटो रिक्सा चालक महिला धेरै छन् । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् । वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावतले अहिले अटो चलाउँदै आएकी छिन् । पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन थियो । उनका श्रीमान्ले पनि मजदुरी काम गर्छन् । दुवैजनाले मजदुरी गरे पनि घरखर्च चलाएर छोराछोरी पढाउन समस्या परेको थियो तर अहिले अटो चलाउन थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ । घरखर्च चलाउन सजिलो भएपछि उनका श्रीमान् पनि खुुसी छन् । पहिला सामान्य घरायसी सामान किन्न पनि आँट नगर्ने पवित्रा अहिले जग्गा किन्ने सोचमा छन् । ‘आफू आत्मनिर्भर भएपछि मात्र आँट आउँदो रहेछ’, उनी भन्छन्, ‘अब घरको ऋण सबै तिरिसकेपछि जग्गा किन्ने सोच बनाएकी छु ।’ पवित्राले गाउँको सहकारी संस्थामा बचत पनि गर्न थालेकी छिन् । अटो चलाउँदा थरिथरिका व्यक्तिसँग कुराकानी गर्दै बाटो काट्नु पर्छ । ‘कोही कति पीडामा हुन्छन् अनि कोही खुसीमा रमाएका भेटिन्छन्’, उनी भन्छिन्, ‘उनीहरुसँग कुरा गर्दा आफ्ना पीडा पनि बिर्सन्छु ।’ कहिलेकाहीँ पीडित र समस्यामा परेका व्यक्ति भेटाएमा सहयोग पनि गर्ने गरेकी छु । वीरेन्द्रनगर–७ की मौसमी शाही पनि अटो रिक्सा चालक हुन् । साँझ बिहानको घरको कामबाहेक दिउँसोको समय सदुपयोग गर्न उहाँले अटो रिक्सा तालिम ल्याउनुभएको हो । सानोतिनो खर्च चाहिए पनि श्रीमान्कै हात थाप्नुपर्ने भएपछि आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले तालिम लिएको मौसमी बताउँछिन् । उनका श्रीमान् नेपाल प्रहरीमा छन् । अटोको आम्दानीबाट मौसमीका परिवार सन्तुष्ट छिन् । अटोबाट मासिक ४० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । अटो चलाउन थालेपछि घरखर्च चलाउन सहज भएको मौसमी बताउँछिन् । ‘पहिला श्रीमान्को कमाइले मात्र सम्पूर्ण घरखर्च चलाउन समस्या हुन्थ्यो’, मौसमी भन्छिन्, ‘अहिले दुवैजनाले कमाउन थालेपछि बचत पनि हुन थालेको छ ।’ अटो चलाउन थालेपछि बढेको आम्दानीले उनले एक तले घरमा तला थप्न लागेकी छिन् । ‘आफ्नो हातमा पैसा भएपछि आँट पनि आउँदो रहेछ’, मौसमी भन्छिन्, ‘मेरो कमाई देखेर श्रीमान् पनि खुसी छिन् र उनलाई भार पनि कम परेको छ ।’ नगरपालिकाले विपन्न महिलालाई अटो रिक्सा तालिम दिएपछि यहाँका महिलाको अटोतर्फ आर्कषण बढेको हो । अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिला पनि अटो चलाउन थालेको अटो चालक मौसमी शाही बताउँछिन् । ‘मैले अटो रिक्सा तालिम लिने बेलामा छोरी मान्छेले पनि अटो चलाउने भन्ने दिदीबहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ’, उनी भन्छन्, ‘कतिपयले त अटो किनेर चलाउन सुरु पनि गर्नुभएको छ ।’ पुरुषको तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने भएकाले दुर्घटना पनि कम हुने गरेको पाइएको ट्राफिक प्रहरी यज्ञबहादुर वली बताउँछन् । ‘महिला चालकले तीव्र गतिमा चलाउँदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ’, उनी भन्छन्, ‘प्राय महिला चालकले लापर्बाही गर्दैनन् ।’ महिलाले संवेदनशील भएर अटो चलाउने गरेको ट्राफिक प्रहरी वलीको भनाइ छ । वीरेन्द्रनगर–१० की यशोदा सापकोटाले पनि कक्षा १२ को परीक्षा दिएपछि खाली समय सदुपयोग गर्न नगरपालिकाको सहयोगमा अटो रिक्सा चलाउने तालिम लिइन् । त्यसपछि आफैँले अटो रिक्सा पनि किनेकी उनले कमाइ गर्दै मासिक १७ हजार ५०० किस्ता तिर्दै आएकी छिन् । ‘प्रायः पुरुषले मात्र गर्ने काम खाली बस्नुभन्दा मैले पनि सुरू गरेँ, अहिले परिवारका अरू सदस्यको आम्दानीमा मेरो पनि थप भएको छ’, यशोदा भन्छिन्, ‘घरखर्च चलाउन सजिलो भएको छ ।’ उनको परिवारमा नौ जना छन् । परिवारको खर्चमा आफ्नो आफ्नो आम्दानीले पनि सहज बनाएको उनी बताउँछन् । ‘कामलाई सानो वा ठूलो भनेर वर्गीकरण गरेर मात्र बस्ने पनि समाजमा छन्, मैले कामलाई समानरूपमा सोच्छु,’ यशोदा भन्छिन्, ‘म पनि त्यसै गरेर बसेको भए बेरोजगार युवामा पर्थें, अहिले त आत्मनिर्भर भएकी छु ।’ वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पनि महिला आफ्नै खुट्टामा उभिनका लागि यो पेसा रोज्न थालेको बताउँछन् । ‘सुरुसुरुमा त हामीले खोलेको जति सङ्ख्यामा पनि आवेदन पाएनौँ’, उनी भन्छिन्, ‘अटो चलाउने भनेपछि अर्कै सोचाइ हुन्थ्यो अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं तालिम कहिले खुल्छ भनेर सोध्नुहुन्छ ।’ नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष ०७५/७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो नगरपालिकाका ६५ जनालाई अटो रिक्सा चलाउने तालिम प्रदान गरेको नगरप्रमुख ढकाल बताउँछिन् । ‘सुरूमा तालिम पूरा गरेका १४ महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएको छ’, उनी भन्छन्, ‘त्यो देखेपछि अरू महिला दिदीबहिनीको पनि अटोमा आकर्षण बढ्दै गयो, यो विपन्न महिलालाई लक्षित कार्यक्रमलाई हामी निरन्तर सञ्चालन गर्छौं ।’ ‘जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान ग¥यौँ’, उनी भन्छिन्, ‘लाइसेन्सको प्रक्रियामा गइसकेपछि उनीहरूलाई अटो किन्न एक लाख अनुदान दियौँ, एक लाख बिनाब्याज एक वर्षभित्र तिर्ने गरी ऋण दियौँ ।’ तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्था गरेको छ । दुई लाख नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैँले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको नगरप्रमुख ढकाल बताउँछन् । रासस

चांगन अटोले रामेछापका विद्यार्थीलाई दियो ट्याबलेट

काठमाडौं । चांगन अटोले के फाउण्डेसनसँगको सहकार्यमा विद्यार्थीलाई ट्याबलेट प्रदान गरेको छ । विद्यार्थीलाई प्रविधीसँग जोड्न चांगनले रामेछापका पञ्चकन्या विद्यालय र सर्वसुधा विद्यालयका विद्यार्थीलाई पाँचपाँच वटा ट्याब्लेट प्रदान गरेको हो । यस्तै चांगनले फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको छ । चांगनले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको हो । यसअघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको एक विद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । कम्पनीले देविश्वर विद्यालयमा आवश्यक विद्यार्थी समाग्री लिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरेको थियो ।  

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई तालिम

बुटवल । लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुलाई नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशनले कर, भन्सार तथा भिसिटीएस बारे तालिम दिएको छ । शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको तालिम कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा रहेको थियो । तालिमको उद्घाटन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले सदस्यहरुको समस्या सँग जुध्न र उहाँहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताएका थिए । उनले सबै क्षेत्रको व्यवसायीको ब्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताए । भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा जानकारी दिएका थिए । त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन गरेको र यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए । यस्तै राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भि सि टी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए । कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नाडा अटो शो भदौ ७ देखि १२ गतेसम्म हुने, बिहीबारदेखि स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो यो वर्ष भदौ ७ गतेदेखि हुन लागेको हो । नाडाले भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५ औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने जनाईएको छ । सिमित स्थान भएको र प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकोले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् तथा ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरुमा कमर्शियल भेहिकल नराखिएको र धेरै अबलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्शियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

अटोमेसनमा उद्योग विभागको प्रशंसनीय काम, सकिँदैछ ‘कागजी घोडा दौडने युग’

काठमाडौं । उद्योग विभागको तेस्रो तला । विभागको सूचना अधिकारीको देब्रेपट्टीको कोठा बन्द छ । बाहिरबाट हेर्दा बन्द देखिएको मात्र हो । सबै ‘डकुमेन्ट खुला गर्ने’ गरी काम भइरहेको छ । कोठाभित्र १० जना कर्मचारीले सबै फाइललाई डिजिटल बनाउने काम गरिरहेका छन् । कोही खुम्चिएको र दोब्रिएको कागज मिलाइरहेका छन् । कोही स्क्यान गर्न व्यस्त छन् । कोही स्क्यान भएका डकुमेन्ट कम्प्युटराइज्ड गरिरहेका छन् । विभाग अन्तर्गतको ९ वटा शाखामा रहेका कर्मचारीहरू आवश्यकता अनुसार आफ्नो शाखाको फाइल खोज्ने काम गरिरहेका छन् । भएका फाइलहरू डिजिटाइजेशन गर्न त्यही कोठामा ओसार्दैछन् । डिजिटल कपी गरिसकिएका डकुमेन्ट फर्काउने काम पनि उनीहरूले नै गरिरहेका छन् । सरकारले उद्योग दर्ताका लागि सबै सेवा एकै स्थानबाट हुनेगरी २०७६ को जेठबाट एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । त्यससँगै विभागले डिजिटाइजेशनको काम थालनी गरेको थियो । विभागले उक्त कार्य चालू आर्थिक वर्षको पहिलो महिनाबाटै काम थालनी गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । उद्योग विभागमा अहिले सूचना अधिकारीको जिम्मेवारीमा रहेकी निर्देशक पूर्णिमा उपाध्यायले २०६९ माघमा सरकारी सेवामा प्रवेश गरिन् । उनले सेवा प्रवेश गर्दा सरकारी कार्यालयहरूमा खासै डिजिटल प्रविधि थिएन । त्यसबेला हाजिरसमेत डिजिटल थिएन । डिजिटल प्रविधिको नाममा पहिलो पटक उनले २०७१ असारमा इलेक्ट्रिक हाजिरी गर्न पाइन् । अहिले निर्देशक उपाध्यायकै संलग्नता र सक्रियतामा उद्योग विभागले अटोमेशनको आखिरी बिन्दुमा काम गरिरहेको छ । यस कार्यमा निर्देशक उपध्यायसँगै महानिर्देशक तिवारीदेखि सबै कर्मचारी लागिपरेका छन् । उद्योग विभागलाई फूल अटोमेशन सिस्टममा लैजान सबै कर्मचारीहरू लागिपरेका छन् । विभागले आफ्नै सफ्टवेयर निर्माण गरी काम थालनी गरेको हो । सफ्टवेयर निर्माणको काम एक करोड ६० लाखको लागतमा इन्फोटेक डेभलपरले पाएको निर्देशक उपाध्यायले बताइन् । १२ महिनाभित्र काम सकेर आगामी आर्थिक वर्षको पहिलो महिनादेखि पूर्ण रुपमा अटोमेशनमा जाने गरी काम भइरहेको महानिर्देशक तिवारीले जानकारी दिए । यो काम सम्पन्न हुने बित्तिकै घरमा नै बसेर उद्योग दर्ता गर्न सकिने भएको छ । साथै अपडेट, नवीकरणलगायत विभागबाट पाइने ४० प्रकारका सेवा अनलाइनबाटै लिन सकिन्छ । महानिर्देशक तिवारीका अनुसार कुनै काम भने कार्यालय आउनै पर्ने पनि छन् । तर, अटोमेशनको काम सम्पन्न भएपछि सेवाग्राहीको भौतिक उपस्थिति ६० प्रतिशत घट्ने उनको विश्वास छ । सामान्य कामका लागि पनि विभाग धाउनैपर्ने बाध्यताको अन्त्य हुनेमा उनी ढुक्क छन् । नेटवर्किङ र सफ्टवेयरको काम सबै ठेकदार कम्पनीले गरेरहेको छ भने फाइल व्यवस्था गर्ने र पुराना फाइल सुरक्षित तरिकाले खोज्ने काम कर्मचारीले गरिरहेका छन् । उद्योग विभागको स्थापना भएदेखिका फाइलहरू खोज्ने क्रममा कुनै कागजात धेरै कमजोर भइसकेका पनि पाइएको छ । अब यस अटोमेशनको कामले च्यातिने, कुहिने र मक्किने चिन्ताको समेत अन्त्य हुनेछ । एउटा उद्योग दर्ता गर्न स-साना कागजात नपुग्दा पटक-पटक विभाग धाउनुपर्ने र अनेकौं सास्ती झेल्नुपर्ने सेवाग्राहीको गुनासो समाधानका लागि अनलाइन प्रणालीको विकास भइरहेको हो । विभागका अनुसार कार्यालयमै आएर उद्योग दर्ता, नवीकरण तथा अद्यावधिक लगायत कामहरू घरबाटै हुन्छ भने प्रमाणपत्र लिन मात्रै विभागमा उपस्थित हुनुपर्ने महानिर्देशकको भनाई छ । आगामी आर्थिक वर्षदेखि सेवाग्राहीले उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रिया लगायत कामहरू अनलाइनबाटै पाउनेछन् । साथै सबै दर्ता भएका उद्योगहरूले अब छुट्टै ‘लगइन आइडी’ पाउने र त्यहीबाट काम गर्न पाउने गरी विभागले सफ्टवेयरको काम गरिरहेको हो । कुनै कागजात सच्याउने र नवीकरण गर्नेजस्ता कार्य उद्योगीहरूले घर वा आफ्नो कम्पनीबाटै गर्न पाउनेछन् । अब उद्योग दर्ताका लागि कुनै दर्ता कागजातको फोटकपी पनि बोक्नु नपर्ने भएको छ । विभागससँग प्रत्यक्ष सम्बन्ध भएका वन, कम्पनी रजिष्ट्रार र अर्थ मन्त्रालयजस्ता कार्यालयसँग समन्वयको काम भइरहेको छ भने प्रदेशसँग पनि अहिले कुरा भइरहेको महानिर्देशक तिवारीले बताए । उद्योग मन्त्रालय र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफआईसी) सँग पनि यस कार्यका लागि सहकार्य भएको छ । औद्योगिक व्यवसाय नियमावली अनुसार छुट, सुविधा र सहुलियत प्राप्त गर्नका लागि विद्युतीय पोर्टल सञ्चालनमा आएपश्चात सबै उद्योगले त्यस्तो पोर्टलमा आबद्ध भई विवरण समेत अद्यावधिक गराएको हुनु पर्ने उल्लेख छ । एकल विन्दु सेवा केन्द्रबाट सम्पन्न हुने कार्यहरुलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने सरकारको नीति अनुसार सफ्टवेयर विकास र अभिलेख डिजिटाइजेशन गर्ने कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । अटोमेसनले छिटो छरितो रुपमा कार्य सम्पादन हुने भएको भन्दै साउनदेखि पूर्ण कार्यान्वयनमा लैजाने गरी काम भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक तिवारीका अनुसार कुनै ठूलो समस्या आइपरेन भने साउनदेखि सेवाग्राहीहरूले उक्त सेवा लिन पाउने छन् । असार अन्तिमसम्म सक्ने गरी कामलाई तीव्र पारिएको उनको भनाइ छ ।