कोरोना नियन्त्रणसम्बन्धी भिडियो कन्फरेन्स आयोजना : रोकथाममा तयारी हुन विज्ञको सुझाव
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन खानेपानी तथा सरसफाईको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रा.लि.ले सरोकारवालाहरुसंग भिडियो कन्फरेन्स सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समा सहभागी भएका विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नका साथै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए । उक्त भिडियो कन्फरेन्सका सहभागीहरुले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणसंगै नेपालले गर्मी याममा बर्षेनी फैलिने रोगहरुको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सहभागी पूर्व सचिव ई। सुमन शर्माले भने, ‘विश्वमा महमारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचार अहिलेको ठूलो चुनौती हो । त्यसका लागि युद्धस्तरमै लाग्नु पर्दछ । तर गर्मी याममा नेपालमा हरेक बर्ष विभिन्न संक्रामक रोगहरु देखिने गरेका छन् । तिनको रोकथाम,नियन्त्रण र उपचारको लागि पनि सरकारले उत्तिकै तयारी गर्न आवश्यक छ ।’ भिडियो कन्फरेन्समा काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्र्ने बताए । उनले कोरोना भाइरसबाट बच्न सफा पानी र सावुन वा स्यानेटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भएपनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिदै भने, टोलटोलमा ट्रयाड।की राखिएको छ तर ती रित्ता छन् । सरकारले बनाएका क्वारेन्टाइनमा न पर्याप्त संख्यामा ट्वाइटेल देखिन्छ, न पानीको लागि ट्रयाड।की छन् न त साबुनको नै राम्रो व्यवस्था छ । तिनको अनुगमन गर्नुपर्ने खाँचो छ । प्राध्यापक शर्माले भने, ‘अल्कोहल भएको सानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइल बिचको फरक नै थाहा रहेनछ । कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसंक्रमित गर्न सक्छ । त्यसमा आइसोप्रोपाइल मिसाउदा अझ प्रभावकारी हुन्छ । तर बजारमा फरक किसिमका स्यानिटाइजर आए । त्यसमा हामीले निगरानी गर्न सकेनौं ।’ कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई सावुन वा स्यानिटाइजर पानीले हात धोएर निस्क्रिय पार्न सकिने भएकोले यसको नियन्त्रणमा खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए । आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिहरुको महत्वपूर्ण भूमिका रहेको बताए। आम नागरिकलाई स्वच्छ,सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउन नगर तथा गाँउपालिकाहरुलाई सक्षम बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले गर्मीको समयमा नेपालमा धेरै संक्रामक रोगहरु फैलिने उल्लेख गर्दै तिनीहरुको रोकथामको पूर्वतयारीमा पनि ध्यान दिन आग्रह गरे । भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले स्वास्थ्य र सरसफाईको लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताए। उनले कोरोना संक्रमणबाट बच्न पटकपटक साबुन वा स्यानिटार पानीले हात धुन पनि पर्याप्त सुरक्षित पानी चाहिने बताए । उनले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिदै भने, ‘पर्याप्त सुरक्षित पानीको आपूर्तिको लागि वित्तीय व्यवस्था गर्न अर्थमन्त्रालयसंग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्दछ ।’ कार्यक्रमका अर्का सहभागी वाटर एडका अनिल थमनले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले आफूहरुले कन्ट्याक्टलेस ह्याण्ड वासिड सेन्टर (स्वचालित हात धुने केन्द्र) सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकता अनुसार विस्तार गरिने पनि बताए। कार्यक्रमका अर्का सहभागी पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाहरुको बीचमा सार्वजनिक बहस गर्ने मञ्चहरुको अभाव खड्किएको बताए । पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ईञ्जिनियर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता,सञ्चारकर्मी,सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मोबाइलको सीआरबीटीमा विविधता ल्याउन सुझाव कोरोना रोग निणन्त्रणमा खानेपानी तथा सरसफाई क्षेत्रको भूमिकाका सम्बन्धमा छलफल गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा वाटर एडका अनिल थमनले कोरोना संक्रमण सुरुभए यता नेपाल टेलिकमले आफना ग्राहकको मोबाइलमा बजाउने गरेको सीआबीटी एकैखालको सन्देश निरन्तर आउदा सुन्नेलाई पट्टयार लागेको बताए । उनले भने, ‘जसरी कुनै पनि औषधीको कम वा बढीमात्रा दुवै उचित मान्न सकिदैन, रोगको सन्दर्भमा दिइने सन्देश पनि त्यस्तै हो । यो सन्देश सबैकहा पुगीसक्यो । सन्देश छोटो होस् । विविधता होस् ।’ पूर्वसचिव सुमन शर्माले छोटा सन्देशहरु अनियमित तवरले बज्ने व्यवस्था पनि गर्न सकिने बताए । पूर्व प्राज्ञ दीपक ज्ञवालीले सीआरबीटीबाट जनउपयोगी सन्देशहरु दिने संबन्धित निकायको ध्यानाकृष्ट गराउन आग्रह गरे। कार्यक्रमको सञ्चालन गरेका पूर्वमन्त्री ई.गणेश साहले आफूले यो विषय नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका महाप्रबन्धक कहा पुर्याउने बचन दिए ।
इन्टरनेट सेवा गुणस्तरहिन, उजुरी गरेर क्षतिपूर्ति लिन विज्ञको सुझाव
काठमाडौं । सूचना प्रविधिको विकास र प्रयोगको कारण पछिल्लो समय इन्टरनेट मानिसको अभिन्न अंग जस्तै भएको छ । इन्टरनेटविना दैनिकी चलाउन पनि गाह्रो पर्ने अवस्था आइसकेको छ । तर, चाहिएको बेलामा इन्टरनेट हुदैन । कहिले इन्टरनेटको संकेत नै गएको हुन्छ, कहिले असाध्यै कम गतिमा चलेको हुन्छ । इन्टरनेट सेवामा चरम समस्या छ । इन्टरनेट सेवा अत्यावश्यक वस्तु जस्तै भएपनि यसको गुणस्तरमा भने गम्भीर प्रश्न छ । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग गरेको सम्झौता अनुसार गुणस्तरीय इन्टरनेट दिनुपर्ने बताउँछ । तर, प्राधिकरणमै इन्टरनेट प्रभावकारी नभएको भन्दै उजुरीको चाङ लाग्ने गरेको छ । इन्टरनेटको गुणस्तरलाई कसरी नियमन गरेर सेवा प्रभावकारी बनाउने भन्ने सन्दर्भमा आफूहरुले काम गरिरहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल वताउँछन् । सेवा प्रदायकसँग गरिएको सम्झौता अनुसार आफूले सेवा उपभोग गर्न नपाए सम्बन्धित सेवा प्रदायकसँग गुनासो गर्ने र त्यसो गर्दा पनि समस्याको सम्वोधन नभए प्राधिकरणमा उजुरी गर्न सकिने अर्यालले वताए । ‘इन्टरनेट सेवा गुणस्तरीय नभएको भन्ने गुनासो आउने गरेको छ, सेवा प्रभावकारी बनाउन हामीले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन पनि दिइरहेका छौं, सेवा प्रदायकसँग जति क्षमताको इन्टरनेट जति समयको लागि किनिएको छ, त्योअनुसार प्राप्त भएन भने सम्बन्धित सेवा प्रदायककोमा गुनासो गरिहाल्नुपर्छ, त्यसो गर्दा पनि समस्याको समाधान भएन भने नेपाल दूरसंचार प्राधिकरणमा उजुरी गर्न सकिन्छ, हामी यस्ता गुनासो र उजुरीको तत्काल सम्बोधन गर्छाैं,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने । नेपाल प्रहरीको साइबर व्यूरोले पनि तिरेको मूल्यअनुसार इन्टरनेट सेवा उपभोग गर्न नपाएर आफू ठगिएको भन्दै उजुरी गर्न आएमा त्यस्तो उजुरीको सम्बोधन गरिने वताएको छ । ‘कसैले यति पैसामा यो समयसम्मका लागि यति क्षमताको इन्टरनेट दिन्छु भनेर ग्राहकसँग सम्झौता गरेको छ, तर सम्झौता अनुसार इन्टरनेट नदिएर ठगी गरेको छ भने त्यस्तो उजुरी साइबर व्यूरोमा गर्न सकिन्छ, तर अहिलेसम्म यस्तो उजुरी आएको छैन, उजुरी आएको अवस्थामा हामी त्यस्ता उजुरीको तुरुन्तै सम्बोधन गर्छाैं,’ साइबर व्यूरोका एसएसपी नविन अर्यालले भने । साइबर कानुनका जानकार तथा नेपाल इन्टरनेट सोसाइटीका पूर्वअध्यक्ष अधिवक्ता बाबुराम अर्याल पनि उपभोक्ता जागरुकता कम भएको कारण इन्टरनेट सेवा प्रदायकहरु गम्भीर नबनेको बताउँछन् । ‘नेपालमा इन्टरनेटका पूर्वाधारहरु कमजोर छन्, त्यसैकारण पनि इन्टरनेट सेवाको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ, तर सेवा प्रदायकले गरेको सम्झौताअनुसार आफूले इन्टरनेट सेवा प्राप्त गरे नगरेको जानकारी लिने र सम्झौताअनुसार सेवा पाउन नसकेको अवस्थामा सम्बन्धित निकायमा उजुरी गर्ने परिपाटी कम भएको कारणले पनि सेवा प्रदायकहरु व्यवसायिक बन्न नसकिरहेको अवस्था छ,’ अधिवक्ता अर्यालले भने । इन्टरनेट सेवा प्रदायकले दिन्छु भनेअनुसारको इन्टरनेट नदिएको अवस्थामा क्षतिपूर्तिको दाबीसहित नेपाल दूरसंचार प्राधिकरणमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको अधिवक्ता अर्यालले जानकारी दिए । तर, यस्ता उजुरी परेको बारेमा आफूलाई जानकारी नभएको उनको अनुभव छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुका प्रबन्ध निर्देशक सुधिर पराजुली सेवा प्रदायकले गुणस्तरीय सेवा दिन हरसम्भव पहल गरिरहेको वताउँछन् । तर, कतिपय अवस्थामा आफूहरुको काबु बाहिरको परिस्थितिका कारण पनि इन्टरनेट सेवा प्रभावित भएको उनको अनुभव छ । ‘सेवा प्रदायकहरु आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गरेर सन्तुष्ट बनाउन नै चाहन्छन्, ग्राहकले तिरेको शुल्कभन्दा बढी सेवा दिन नसकेपनि सो मूल्य बराबरको दिने उनीहरुको पहिलो प्रयास र दायित्व हुन्छ, तर विदेशी सर्भरबाट चल्ने सामग्री हाम्रो नियन्त्रण बाहिर हुने भएकोले कहिले काँही समस्या अर्काेतिर भएको पनि देखिन्छ,’ पराजुलीले भने । इन्टरनेट पूर्वाधार कमजोर भएको कारण पनि समस्या आउने गरेको पराजुलीको भनाइ छ । यस्तै कतिपय अवस्थामा प्राविधिक कारणले पनि समस्या आउने गरेको र त्यस्तो अवस्थामा ग्राहकसँग समन्वय गरेर समस्या समाधानको पहल गर्ने गरिएको पराजुलीले वताए ।
रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव
काठमाडौं। नेपालीको महानपर्व बडादशैँमा आवश्यकता भन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउँछन्। अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनको भनाइ छ । मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ । रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उनले सुझाव दिए। धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ । त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलग/अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन् । सोही अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउनुहुन्छ । चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनको सुझाव छ । विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन् । अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताउँछन्। राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने उनको भनाइ छ । पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उहाँ यस्ता खानेकुरा नखान सुझाव दिन्छन्। पशुजन्य स्रोतबाट प्राप्त बोसोले मानिसलाई मोटोपन बढाएर स्तन र पेटको क्यान्सर बनाउन सक्ने प्रमुख शिवाकोटी बताउँछन्। खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ । पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भाबना देखिएको छ । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ । चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ । मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । भरतपुर अस्पतालका डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउँछन् । हामीले मासु खानैपर्दा ताजा नै खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुबै तरिका हानिकारक हुने उनको भनाइ छ । फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै उनी भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउँछन्। डा. अधिकारी भन्छन्, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।” अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उनको भनाइ छ । बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उनको सुझाव छ ।